यौन, प्रेम र विवाहमा आएका परिवर्तनहरु



दामोदर पौडेल

शायद २०२८ सालतिरको कुरा हो, परिवार नियोजनको भर्खरै प्रचार भएको थियो। परिवार नियोजनका छोटा विज्ञापन दिइन्थे। त्यो विज्ञापन बाबुआमाको अगाडि सुन्नु अपराधजस्तै थियो। ५० वर्ष पनि भएको छैन, समाज धेरै बदलियो। बदलिन आवश्यक पनि थियो। त्यो समयमा यौनका कुरा अहिले जसरी हुँदैनथे। प्रेम गर्ने कार्य अपराधजस्तै थियो। विवाहपहिलेको यौनसम्बन्धले सामाजिक र कानुनी मान्यता पाएको थिएन। विवाहिता महिलाले पनि पतिबाहेक अरुसँग यौनसम्बन्ध राख्नु अपराध मानिन्थ्यो। त्यो व्यवस्था त २०५८ सालसम्म नै कायम थियो।

मुलुकी ऐनको लोग्ने स्वास्नीको २ नं.मा स्वास्नीले अर्कोसित करणी गराएको ठहरेमा वा पोइल गएमा लोग्ने–स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुन्छ भन्ने उल्लेख थियो। अहिले पनि समाजमा पति–पत्नीले अरुसँग यौनसम्बन्ध राख्नुहुँदैन भन्ने नै छ। सामाजिक परम्पराले पति–पत्नी हुँदाहुँदै अरुसँगको यौनसम्बन्धलाई मान्यता दिँदैन। यो परम्परा स्वाभाविक पनि हो। पति र पत्नी भनिने तर उनीहरुको यौनसम्बन्ध अरुसँग नै हुने हो भने र उनीहरुबीच यौनसम्बन्ध नहुने हो भने ती पति–पत्नीको नाताको कुनै अर्थ पनि रहँदैन।

अहिलेको संशोधित मुलुकी ऐनको लोग्ने स्वास्नीको दफा २ मा स्वास्नीले अर्कोसँग विवाह गरेमा त्यस्तो लोग्ने–स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुन्छ भन्ने उल्लेख छ। यसको अर्थ प्रस्ट छ कि पत्नी र पतिले अरु महिला वा पुरुषसँग यौनसम्बन्ध राखेको आधारमा पति–पत्नीको सम्बन्ध विच्छेद हुँदैन। यो यौनस्वच्छन्दताको प्रतिक हो। समाजले यसलाई स्वीकार पनि गरेको छैन। पत्नीले म तिम्री पत्नी हुँ तर तिमीसँग यौनसम्बन्ध राख्दिनँ भन्न पाउँछिन्। स्वास्नीको चाहना नहुँदा नहुँदै पतिले यौनसम्बन्ध राखेमा त्यो बलात्कार हुन्छ। मुलुकी ऐन जबर्जस्ती करणीको महलको दफा ३ को व्यवस्थाअनुसार लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा उनलाई ३ वर्षदेखि ५ वर्षसम्म कैद हुन्छ। तर महिलाले आफ्नो पतिबाहेक अन्य कुनै पुरुषसँग यौनसम्बन्ध राख्न ऐन उदार देखिन्छ।

मुलुकी ऐन विवाहवारीको महलमा महिला र पुरुषको लागि विवाहको लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ। तर मुलुकी ऐन जबर्जस्ती करणीको १ नं. मा १६ वर्ष उमेर पुगेका महिलासँग कुनै पुरुषले उनको मञ्जुरी लिएर यौनसम्बन्ध राख्ने अधिकार पाएका छन्। त्यो अधिकार महिलाको पनि हो। तपार्इं १६ वर्ष पुगेपछि खुलेर यौनसम्बन्ध राख्न सक्नुहुन्छ। तपाईंलाई कानुनले नै संरक्षण गर्दछ। तपाईंको खुशीले जति जनासँग पनि यौनसम्बन्ध हुन सक्छ तर विवाह भने २० वर्षपछि मात्र हुन सक्छ। पति–पत्नीबीचका अरु धेरै सम्बन्ध महत्वपूर्ण छन्। ती सम्बन्धले उनीहरुको र सन्तानको जीवनमा नै ठूलो भूमिका खेल्दछ। तर निर्णायक सम्बन्ध भनेको यौन नै हो। यौनसम्बन्ध पनि विवाहपहिला जोसँग जतिसँग पनि हुन सक्ने र विवाहपछि पनि पतिसँग यौनसम्बन्ध नराख्ने महिलाको अधिकार हुने र अरुसँग महिलाले यौनसम्बन्ध राख्दा कानुन उदार हुने व्यवस्था उचित मानिदैन र ती कानुनी ल्याप्सेज (कमजोरी)लाई समाजले केही रोकेर राखेको छ।

आजको मितिमा महिलाले आफ्नो पतिसँग यौनसम्बन्ध राख्दिन र अरुसँग यौनसम्बन्ध राख्छु भन्छे भने पतिले उनीसँग सम्बन्ध विच्छेद नगरी अर्को विवाह गर्न सक्दैनन्। अरु महिलासँग खुशीराजीले यौनसम्बन्ध राख्न नसक्ने पुरुषले महिलासँग सम्बन्ध विच्छेद नगरी विवाह गर्न नपाउने भएपछि उनीको यौनअधिकार नै कुण्ठित हुन्छ। उनले सम्बन्ध विच्छेद गर्न पत्नीले नमानेमा ५ वर्षसम्म कुर्नुपर्ने हुन्छ। पत्नीले अर्को पुरुषसँग विवाह नगरी यौनसम्बन्ध मात्र राख्न चाहेमा उनले सम्बन्ध विच्छेद भएमा पनि पतिसँग अंश लिएर मजासँग अरु पुरुषहरुसँग यौनसम्बन्ध राख्न सक्छिन्। यो कानुनी व्यवस्था न्यायपूर्ण छैन भन्ने धेरै महिलाहरुको पनि मत रहेको छ।

पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न सजिलो छैन। उनले पहिला स्थानीय निकायमा मुद्दा दिनुपर्दछ। एक वर्षसम्म त्यो निकायले मिलाउन प्रयास गर्दछ। सकेसम्म महिलाले पति हुँदाहुँदै अरुसँग करणी गराउने गरेको भए पनि म अब त्यस्तो गर्दिनँ भनेमा उनलाई माफ हुने सम्भावना रहन्छ।

मुलुकी ऐन लोग्ने स्वस्नीको महलको १ नं. मा पत्नीले अरुसँग करणी गराएमा पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने आंशिक अधिकार छ। तर त्यसको लागि स्थानीय निकायमा मुद्दा दिनुपर्ने हुन्छ। स्थानीय निकायले त्यस्तो अवस्थामा पनि सकेसम्म मिलाएर पठाउनुपर्ने व्यवस्था उक्त महलको दफा १ (क) ले गरेको छ। पत्नीले मबाट गल्ती भयो अब त्यो गल्ती दोहोरिँदैन भनेमा पतिले अरुसँग यौनसम्बन्ध राख्ने गरेकी पत्नीलाई पनि राख्नुपर्ने हुनसक्छ। छिमेकीहरुसँग यौनसम्बन्ध राख्ने गरेकी महिलाले माफ मागेको भरमा पतिले राख्नुपर्ने भए पतिको मानसिक अवस्था के होला, अनुमान गर्न कठिन छैन। तर धन्य हो, समाजले बहु यौनक्रियाकलापलाई स्वीकार गरेको छैन।

रेप सम्बन्धमा पनि त्यही अवस्था छ। एउटा भनाइ आयो कि कोठाको चुकुल महिलाले लगाए प्रेम हुन्छ र पुरुषले लगाए रेप हुन्छ। मलाई करिब २० वर्षपहिलेको घटना याद छ। एउटी महिलालाई एक गाडीका साहु र चालक भएर केही पैसा दिने सल्लाहमा यौनसम्पर्क राखेछन्। पछि उनीहरुले पैसा दिएनछन्। महिला आफ्नो पेन्टी लिएर प्रहरी कार्यालयमा मलाई रेप भयो भन्दै पुगिन्। केटाहरुले खुशीले भएको यौनसम्पर्कमा पैसा नदिएकोले केही वर्ष जेलमा बस्नुपरेको थियो। यी त प्रतिनिधि उदारण मात्र हुन्। महिलाले खुशीले पुरुषसँग सहवास गरे त्यो अपराध नहुने तर त्यसको लक्ष्मण रेखा र मापदण्ड नहुनु भनेको मैले त्यही सम्बन्ध आफूले चाहे खुशीराजीले सम्भोग गराएको नचाहे रेप भयो भन्ने अधिकार हुन पुगेको छ। यसमा सुधार हुनुपर्ने हो। अन्यथा हरेक यौनसम्बन्ध महिलाले चाहेमा रेप हुने भयो, पतिसँग भएकोमा
पनि।

त्यसैले कानुनमा सुधार आवश्यक छ। रजश्वला नभएकी केटीसँग यौनसम्बन्ध कसैले राखेमा त्यस्तालाई मृत्युदण्डसरहको सजाय हुन आवश्यक छ। रजश्वला भएर करिब १६ वर्ष भएकी महिलासँग यौनसम्बन्ध कसैले राखेमा त्यस्तालाई समेत अहिलेको भन्दा पनि कडा कानुन राखे हुन्छ। तर १६ वर्ष कटेकी महिलासँग कसैले यौनसम्बन्ध राखेमा उनीहरुबीचको सम्बन्ध जबर्जस्ती भएको हो भने महिलाको अंगमा भएको चोटसमेतबाट देखिएमा सोको गाम्भीर्यताको आधारमा सजाय हुनुपर्ने देखिन्छ। रेपपछि गरिने हत्यालाई सामान्य हत्याभन्दा पनि ठूलो अपराधमा राखिनु अवश्यक छ। तर महिलाले चाहेमा करिब सबै यौनसम्बन्धमा रेपको आरोप लाग्न सक्ने अवस्थाको अन्त्य आवश्यक छ।

महिलाले पतिलाई यौन हैरानी गर्ने, दुःख दिएर नै अंश लिई सम्बन्ध विच्छेद गर्ने, महिलाले जे गरे पनि यौनअपराध नहुने र पुरुष गल्ती नगरे पनि शंकाको घेरामा पर्ने अवस्थाको अन्त्य आवश्यक छ। अन्यथा समाजिक नैतिकतामा नै ह्रास आउँछ।

महिला र पुरुषले स्वेच्छाले यौनसम्बन्ध १६ वर्षदेखि नै गर्न सक्ने, बच्चा पनि पाउन सक्ने तर विवाह भने २० वर्षभन्दा पहिला गरेमा सजाय हुने देखिएको छ। त्यसैले मैले बारम्बार उल्लेख गर्ने गरेको तथ्यमा सबैको ध्यान जान आवश्यक छ कि १६ वर्ष पुगेपछि यौनसम्बन्ध राख्न सकिन्छ, बच्चा पनि हुन सक्छ र विवाह गर्नको लागि भने २० वर्ष नै पुग्नुपर्दछ, सो नभए सजाय हुन्छ भन्ने व्यवस्था न्यायपूर्ण छैन। कि विवाह भनेको सिन्दुर थाप्ने र लगाउने काम मात्र हो, पहिला पनि यौनसम्बन्ध राख्न सक्छौ, बच्चा पनि पाउन सक्छौ र सिन्दुर हाल्ने कामसम्म २० वर्ष पुगेपछि गर्न पाइन्छ भन्न खोजिएको हो ?

पति–पत्नी भनेको जीवनभर साथको लागि, सन्तानहरुको सुखको लागि र संवेदनाहरु बुझ्नको लागि हो कि सिन्दुर र औंठीको भूमिका महत्वपूर्ण हो भन्ने अहं सवाल सबैबीच खडा छ।

अन्त्यमा, करिब–करिब फ्री सेक्सको अवधारणा कानुनले ल्याइसकेपछि पनि मुलुकी ऐनको आशय करणीको ५ नं. मा गैरकानुनी करणी गर्न स्वास्नी मानिसलाई फकाउने र बेस्या गमनको लागि सम्पर्क र व्यवस्था गर्नेलाई सजायको व्यवस्था छ। सेक्स फ्रीको जस्तो अवस्थामा अब पनि बेस्या भन्ने शब्द प्रयोग गर्न पाइन्छ र ? किनभने बेस्या भनेको पनि अधिक पुरुषहरुसँग यौनसम्बन्ध राख्नु थियो। महिलाले चाहे जति पुरुषसँग पनि यौनसम्बन्ध राख्न पाउने भएपछि पैसा लिएर त्यसो गर्न भने नपाउने पनि कतै उल्लेख छैन। अब मुलुकी ऐनमा बेस्या शब्द राखेकोले संसद्माथि गाली बेइजती मुद्दा पनि दिन मिल्ने कि ?
(लेखक पौडेल अधिवक्ता हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्