नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने प्रमुख जातिमा वालुङ जाति पनि एक हो। यो जातिको प्राचीन थलो विशेष गरी पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको ओलाङ्चुङ्गोला, याङ्मा, घुन्सा, लुङ्थुङ, लेलेप आदि हिमाली भूभाग नै हो। हाल विविध कारणले बसाइँ सर्दै फुङ्लिङ, तेह्रथुम, धनकुटा, काठमाडौं आदि क्षेत्र हुँदै छिमेकी देश भारत, युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलियामा समेत यो जाति छरिएको छ। यिनीहरूको आफ्नै इतिहास, जीवनशैली, भाषा, धर्म, संस्कृति तथा परम्परा रहेको छ। जो निकै चाखलाग्दा र अनौठा लाग्छन्।

यिनीहरूमा भएको विशेष सांस्कृतिक संस्कारले गर्दा नै धेरै लेखकहरू यो जातिसँग आकर्षित भएका छन्। विभिन्न स्वदेशी तथा विदेशी विद्वान्हरूले पुस्तक तथा विभिन्न लेखमा यस जातिका बारेमा धेरथोर जानकारी बाहिर ल्याइसकेका छन्। वालुङहरू विवाहपछि बच्चा जन्मनै पर्छ भन्ने मान्यता राख्छन्। त्यसो त छोराछोरी १७⁄१८ वर्ष पुगेपछि बाबुआमाले विवाहका लागि वरवधु खोज्ने कार्य गर्दछन्। यो समाजमा पनि छोराछोरीमा केही विभेद पाउन सकिन्छ। त्यसैले छोरीको तुलनामा छोरा जन्मदा बढी नै खुशी देखिन्छन्। तर पनि अन्य समुदायमा जस्तो सन्तान नजन्मेका कारणले अर्को विवाह गरिहाल्ने चलन भने छैन।

यो समाजमा सन्तानको जन्म हुँदा दिन तथा बारको निकै ख्याल गरिन्छ। सोमबार, बुधबार र शनिबार जन्मेको बच्चालाई निकै राम्रो मानिन्छ। अन्य समाजमा जस्तो गर्भिणी अवस्थामा गर्भको पूजा गर्ने चलन छैन र खोलानाला काट्नुहुँदैन, मठमन्दिर, पवित्र स्थलमा जानुहुँदैन भन्ने मान्यता पनि पाइँदैन। महिलाहरू रजश्वला भई शरीरमा अप्ठ्यारो परेमा आफैं पूजा स्थान तथा गुम्बा आदिमा जान त्यति रुचाउँदैनन्। गर्भिणी महिला विशेष परिस्थितिले माइत तथा अन्य स्थानमा बसे पनि बच्चा जन्मने बेलामा भने वैवाहिक घरमै जानुपर्ने नियम छ।

यिनीहरूको बसोवासस्थलमा अस्पताल, स्वास्थ्य चौकी, यातायात आदिको त्यति सुविधा नभएकाले बच्चा प्रायः घरमै जन्माउने गर्दछन्। अझै पनि रुढिवादी, अन्धविश्वासले गाँजिरहेको यो समाजमा गर्भावस्थामा अरूले देखेमा नजर लाग्छ भन्ने मान्यता पाइन्छ। त्यसैले गर्भवतीलाई घरभित्रै लुकाएर राखिन्छ। सासू, नन्द, आमाजू, जेठानी आदिबाट विशेष निगरानी राखिन्छ। घरमै पारम्पारिक विधिअनुसार सुत्केरी गराउने कारणले धेरै महिलाको मृत्यु सुत्केरी अवस्थामै हुने गरेको पनि पाइन्छ। बच्चा जन्मिइसकेपछि नजिक रहेको कुनै आफन्तले सानो बाँसको धारले बच्चाको नाल काटिदिन्छन्। साललाई नजिकको माटो अथवा बालुवामा लगेर गाडिदिन्छन्।

सुत्केरी आमालाई घामको किरण र चिसो हावाबाट बचाउन अँध्यारो कोठामा लगेर राख्ने चलन छ। सुत्केरी आमालाई कुखुरा, चौँरी आदिका मासुका परिकार, घिउ, ज्वानो, जाँड, उवाको पीठोको ढिँडो आदि खुवाउँछन्। सुत्केरीलाई अशुद्ध मान्ने चलन यो समाजमा छैन। महिना दिनसम्म सुत्केरीलाई विशेष स्याहारसुसार गरिन्छ। बच्चा जन्मेको एक वा दुई दिनपछि नै उवाको पीठो र चौंरीको घिउ मुछी विधिअनुसार बच्चाको मुखमा ख्वाइदिन्छन्। यसरी पहिलोपल्ट बच्चालाई खानेकुरा खुवाउने विधिलाई उनीहरू ‘छेमा’ अर्थात् स्वागत गरेको भन्दछन्।
छेमापछि उनीहरूको मुख्य कार्य भनेको न्वारन अर्थात् ‘ठूसाल’ हो। जुनसुकै संस्कार सम्पन्न गर्दा यो समाजमा पनि आफ्नो कुल पुरोहित लामाले नै गर्ने गर्दछन्। यो संस्कार सम्पन्न गर्दा पनि उनीहरूको स्थानीय पुरोहित लामालाई बोलाउने चलन छ। ठुसाल गर्दा यिनीहरू बच्चा जन्मेको सात दिनमा गर्दछन्। ठुसालमा एकजना सदस्यले सबेरै घरनजिकको मुहान, कुवा आदिबाट पानी ल्याएर विभिन्न धार्मिक विधिअनुसार पवित्र पारिन्छ। लामाले विभिन्न मन्त्रोच्चारण गरेर कलशको पवित्र जलले आमा र बच्चा दुवैलाई तितेपातीले छर्कने चलन छ। र, यसै जलयुक्त पानीले आमा र बच्चा दुवैलाई नुहाइदिइन्छ। यसरी नुहाउँदा विभिन्न अशुभ तत्व हटाउँछ र आमा तथा शिशुको रक्षासमेत हुन्छ भन्ने सामान्य मान्यता पाइन्छ।

न्वारनमा लामाले उनीहरूको परम्परागत धार्मिक ग्रन्थ ‘नाम्ज्यो’ वा ‘मेन्जो’ पुस्तक पढेर बच्चाको नाम राखिदिन्छन्। लामा नभएमा शिशुको हजुरआमा⁄हजुरबा तथा पाको सदस्यले बच्चाको नाम राख्न सक्छन्। यिनीहरू जन्म, बार, नक्षत्र, मिति आदिबाट बच्चाको नाम जुराउँछन्। जस्तै, आइतबार जन्मेकोलाई ङिमा, निमा, सोमबारकोलाई दावा, मंगलबारकोलाई मिङ्मा, बुधबारकोलाई लाक्पा, बिहीबारकोलाई फुपू, शुक्रबारकोलाई पासाङ र शनिबारकोलाई पेम्बा भनिन्छ। यसरी दिन तथा बारको आधारमा नाम राख्दा नामको पछाडि छोरा भए छिरिङ, ग्याल्जेन, ठिले, तेञ्जिङ आदि र छोरी भए फुटी, छ्योकी, डोमी, डिकी उपनाम पनि दिइने चलन छ। कतिपयमा बारविनाको नाम पनि दिएको पाइन्छ।

न्वारनमा बोलाइएका सबै आफन्त, छिमेकी तथा इष्टमित्रले सुत्केरी आमालाई पोसिलो खानेकुरा, पैसा, लत्ताकपडा तथा अन्य उपहार दिने र खादा लगाइदिने चलन पनि छ। यस दिन सबै आगन्तुकलाई चौंरीको घिउको टीका लगाइदिन्छन्। साथै सबै मिलेर ‘धिन्ज्याङ’ अर्थात् सामूहिक नाचगान पनि गर्छन्। यो समाजमा कुनै उत्सव तथा पर्वमा धिन्ज्याङ गर्ने चलन नै छ। हिन्दू समाजमा जस्तो बच्चाको छैटी, पास्नी आदि गर्ने चलन छैन। छेवर, व्रतबन्ध, गुन्यूचोली दिनेजस्ता संस्कार यहाँ पाइँदैन।

ठुसालपछिको सबैभन्दा महत्वपूर्ण संस्कार भनेको विवाह नै हो। यो समाजमा विशेष चार प्रकारका विवाह प्रक्रिया पाइन्छ– मागी विवाह, चोरी विवाह, प्रेम विवाह, र जबर्जस्ती विवाह आदि। विवाहको प्रक्रियाका आधारमा यसका विधि तथा रीतहरू पनि केही फरक पाइन्छन्। सबै समाजमा रीतअनुसार गरिने विवाह भनेको मागी विवाह नै हो। यो समुदायमा केही मात्रामा बहुपति विवाहको प्रचलन पनि विगतमा थियो। तर हिजोआज भने यो चलन त्यति देखिँदैन। यो प्रचलनलाई वालुङहरू आफ्नो मौलिक चलन नमानी तिब्बततिरबाट आयातीत संस्कार मान्छन्। यिनीहरूको विवाहमा सातदेखि एघार पुस्तासम्म साइनो केलाएर विवाह गरिन्छ। यो समाजमा पनि वर्गीय अवधारणा पाइन्छ, त्यसैले विवाहलाई वर्गले पनि प्रभाव पारेको यदाकदा भेटिन्छ। साधारणतया यो समाजमा छोराछोरीहरू १७⁄१८ वर्ष भएपछि विवाहको सुरसार गर्ने चलन छ। हुन त हिजोआज शिक्षा तथा अन्य बन्द व्यापार आदि कार्यले गर्दा यही उमेरमै विवाह गर्नुपर्छ भन्ने बलियो अवधारणा पाइँदैन। तर पनि सामान्य अवस्थामा केटाकेटीको वैवाहिक उमेर भनेको प्रायः यही नै हो। धेरैचोटि खेर गएर पुनः जन्मिएमा नराम्रो जीवजन्तु, पशु प्राणी आदिको पनि नाम राख्ने चलन छ। यस्तो नाम राखेमा बच्चा बाँच्छ भन्ने विश्वास पाइन्छ।
– तिला न्यौपाने केसी, दोलखा

LEAVE A REPLY