नेपाली मिलमा भारतीयको भीड



 

नेपाल समाचारपत्र
बाँके
भारत मनोरियाका बाबादिन यादव ३ किलोमिटर टाढाबाट गहुँ मिसाउन हिरमिनियाको कालाबन्जारस्थित राधेश्याम मौर्यको मिलमा आए। भारतले दशगजामा बनाएको सडकजस्तो बाँध भएर साइकलमा आएका यादव गहुँ पिसाएर फर्किए।

मौर्यको मिल दशगजाछेउमै रहेको छ। मिलमा भारतीय किसानमात्रै सेवा लिन आउँछन्। यसले मौर्यको व्यवसाय पनि राम्रो चलेको छ। मौर्यको घरदेखि एक किलोमिटर टाढा नेपालीबस्ती भंघोट्ना गाउँ रहेको छ। भंघोट्नामा दुई वटा मिल छन्। ‘एउटा मिल हुँदासम्म यताका मान्छे पनि आउँथे, अहिले त गाउँमै दुई वटा मिल छ। उनीहरू आउँदैनन्’, मौर्यले भन्नुभयो– ‘मेरो मिल त भारतीय किसानले चलाइदिएका छन्।’

भारतले सीमानामा सडकजस्तो बाँध निर्माण गर्दाको शुरुआत २ वर्षसम्म घर, मिल डुबानमा परेर मौर्य पीडित बनेका थिए। तर, पनि मौर्यले व्यवसाय छोडेनन्। न त घर नै अन्तै सारे। दशगजामा एक्लो रहेको मौर्यको मिलमा भारतीय किसानको चापले राम्रो आम्दानी दिएको छ।

मौर्यको मिलमा ५⁄६ किलोमिटर टाढा रहेको भारतीय चर्दागाउँबाट समेत किसानहरू गहुँ पिसाउन आउने गर्दछन्। भारतीय नरैनापुर, लक्ष्मणपुर, निमनगरा, बन्जेरियागाउँबाट किसान मौर्यको मिलमा आउँछन्। नेपाली मिलमा आउँदा भारतीय किसानलाई सस्तो पर्छ। प्रतिकिलो २ भारतीय रुपियाँमा उता गहुँ पिसाइन्छ भने यता प्रतिकिलो २ रुपियाँ नेपाली पर्छ। ‘एउटा त नेपालमा सस्तो पर्छ, अर्को उता बत्ती नभएर गहुँ पिसाउन मिलले गाह्रो मान्छन्’ –भारतीय किसान यादवले भन्नुभयो।

मौर्यको मिलमा दैनिक ५ क्विन्टलबढी गहुँ पिसानी हुन्छ। प्रतिक्विन्टल २ सय रुपियाँ लाग्छ। उक्त मिलमा भारतीय किसान धान कुटाउन भने कम आउँछन्। ‘गहुँ जति धान कुटाउन आइदिए त मेरो कमाइ धेरै राम्रो हुन्थ्यो’, मौर्यले भन्नुभयो– ‘गहुँमा त्यति फाइदा हुँदैन, तैपनि चलेकै छ।’

दशगजामा रहेको मौर्यको मिलले भारतीय किसानलाई सुविधा भएको छ भने उनको पनि व्यवसाय राम्ररी चलेको छ। उपचार र किनमेलका नाममा दैनिक लाखौं रुपियाँ भारतमा गइरहेका बेलामा मौर्यले थोरै भए पनि भारतीय पैसा नेपाल भित्त्याएका छन्। भारतीय किसानको चापले गर्दा मौर्यको मिलमा भारतीय रुपियाँ नै आउने गर्दछ। ‘भारु चाहिएमा तपाईंकहाँ आउनुपर्ला’, मौर्यले जवाफ दिनुभयो– ‘थोरै–थोरै हुन्छ, आउनुहोला।’

कालाबन्जार डुडुवा गाउँपालिकाको वडा नं. ६ हिरमिनियाअन्तर्गत पर्छ। भारतले कलकलवा तटबन्धलाई पश्चिमतिर सडकजस्तो बाँधको रूपमा बिस्तार गरेपछि हिरमिनिया डुबानको चपेटामा परेको छ।

दशगजामा एक्लो घर रहे पनि मौर्य परिवारलाई सुरक्षा चुनौती छैन। उनको घरअगाडि नै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोस्ट रहेको छ। ‘लुटपाट, चोरीजस्ता समस्या छैन, भारतले बनाएको सीमाजस्तो सडकले वर्षामा डुबानमा पार्छ कि भन्ने डरमात्रै छ’, मौर्यले भन्नुभयो– ‘घरनजिकै ३ वटा कल्भर्ट बनेपछि डर कम भएको छ।’

प्रतिक्रिया दिनुहोस्