सल्यानमा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय



 

नेपाल समाचारपत्र
सल्यान
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचनका लागि सल्यानमा आज एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिृकतको कार्यालयको उद्घाटन गरिएको छ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिृकत मदनबहादुर धामीले शारदा नगरपालिका–२ स्थित घरेलु तथा साना उद्योगको कार्यालयमा उद्घाटन गर्नुभएको हो। कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरेको छ।

प्रकाशित कार्यक्रमअनुसार २०७४ मंसिर १६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता र उम्मेदवारको मनोनयनपत्र दता भएको सूची प्रकाशन, १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १८ गते मनोनयनपत्र र उजुरीउपर जाँजबुझ गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेका छन्।

मुख्य निर्वाचन अधिकृत धामीले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउन तयारी पूरा भएको बताउनुभयो।

सल्यानमा ३ नगरपालिका र ७ गाउँपालिका गरी १० स्थानीय तहका लागि १ सय ८० केन्द्र र १ सय ११ मतदान स्थल रहेका छन्। जिल्लामा १ लाख ३४ हजार २ सय १३ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्