बालुवाटारमा ६ दलको बैठक जारी, लोकतान्त्रिक गठबन्धमा जुट्ला त सहमति ?



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रदेश र प्रतिनीधिसभाको आगामी मंसिर २१ गते हुने निर्वाचनमा चुनावी तालमेल र सिटसंख्याबारे छलफल गर्न नेपाली कांग्रेस, राजपा, राप्रपा लगायतको बैठक बालुवाटारमा बसिरहेको छ ।

बैठकमा आगामी चुनावमा लोकतान्त्रिक गठवन्धन निर्माण गर्ने या चुनावी तालमेल मात्रै गर्ने भन्नेमा छलफल हुने बैठकमा सहभागि नेताहरुले बताएका छन् । त्यस्तै दलहरुबीच चुनावको रणनीति र सिटसंख्या बाँडफाँडबारे पनि छलफल हुने संघीय समाजबादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले कांग्रेससँगको गठबन्धन बन्ने नबन्ने भन्ने पनि आजकै बैठकले टुङगो लगाउने बताए ।

२ नम्वर प्रदेशमा राजपा र संघीय समाजबादी फोरमले वढी सिटसंख्या दावी गरेपछि यसअघि लोकतान्त्रिक गठबन्धनका लागि दलहरुका नेता सम्मिलित कार्यदलले सहमति नै जुटाउन सकेको थिएन ।

सहमति नहुँदा मंसिर १० को प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसले नयाँ शक्ति र राप्रपालाई केही सिट दिएर चुनावी तालमेलमात्र गरेको थियो ।
उता, ३२ निर्वाचन क्षेत्र रहेको २ नम्वर प्रदेशमा राजपा र फोरमले २० सिट र समग्रमा ५५ सिट सुनिश्चित भए गठबन्धनमा बस्ने नत्र एक्लाएक्लैचुनाव लड्ने बताउदै आएका छन् ।

स्थानीय तहन निर्वाचनको मत परिणामका आधारमा सिटसंख्या बाँडफाड हुने राजपाका नेता तथा कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।

कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने भनिएपनि दलहरुवीच सिटसंख्या र निर्वाचन क्षेत्रबारे सहमति नजुटे राजापा, संघीय समाजबादी फोरम,

राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँशक्ति पार्टीबीच चुनावी तालमेल मात्र हुने कांग्रेस नेताहरुले बताएका छन् ।

तर, गठबन्धन नबनेको खण्डमा राजपा र संघीय समाजबादीले कांग्रेससँग चुनावी तालमेल नगर्ने बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्