‘नगरपालिकाको प्राथमिकतामा योजना छनोट गर्छौं’



सुविधा सम्पन्न शहरको अपेक्षा आज हरेक नागरिकले गरिरहेका छन्। शहरलाई सुशासन कायम गराउनका लागि नगरपालिकाहरूले क्षमता वृद्धि गर्नुपर्छ। आर्थिकरूपमा सम्पन्न नहुँदा नगरपालिकाले जनताको चाहनाअनुसारको पूर्वाधार विकासको काम गर्न कठिन हुन्छ। नगरपालिकाहरूले आर्थिक वृद्धिदर हासिल गर्न र सेवा सुविधा प्रभावकारी बनाउनका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छ।

नगरपालिकाभित्र सडक, ढल, खानेपानी, स्वास्थ्य शिक्षालगायतका पूर्वाधार आवश्यक हुन्छ। यसअघि ६ वटा नगरपालिकामा विभिन्न योजना सम्पन्न भएको छ। ६ वटा नगरपालिकामा कार्यक्रम सम्पन्न भएलगत्तै विश्व बंैकले थप १६ वटा नगरपालिकामा उदीयमान शहर निर्माणका लागि ५० करोड आर्थिक सहयोग गरेको छ। सोहीअनुसार यसअघि कार्यक्रम सम्पन्न भएका नगरपालिका वरिपरिकै १६ वटा नगरपालिका योजना छनोट गर्नका लागि परामर्शदाता नियुक्त गरेर काम अगाडि बढाएका छौं।

साना तथा उदीयमान शहर विकास भइरहेका नगरपालिकामा योजना छनोटको कामलाई अगाडि बढाइरहेका छौं। सरकार र विश्व बैंकबीचमा धेरै परामर्शपछि मात्र अहिलेका १६ वटा नयाँ नगरपालिका छनोटको प्रक्रिया अगाडि बढेको हो। पहिलो चरणमा परामर्शदाताहरूले नगरपालिकाहरूमा शहर विस्तार हुने क्रम कस्तो छ ? त्यसको आर्थिक स्रोत कस्तो छ ? भौतिक पूर्वाधार निर्माणको अवस्था अध्ययन गरेर मात्र नगरपालिका छनोट गरिएको हो। आगामी दिनमा नगरपालिकाहरूमा सञ्चालन हुने योजना छरिएका स–सानाभन्दा पनि शहरबासीलाई परिवर्तको अनुभूति हुने योजना छनोट गर्ने क्रममा छौं।

नगरपालिकाको आवश्यकता के हो ? नगरपलिकाको विकासको आधार के–के हुन ? कसरी जानुपर्छ ? सबैको पहिचान गरेर अध्ययनको चरणमा रहेको छ। पहिलो चरणमा प्रारम्भिक अध्ययन र योजना तर्जुमाको काम अगाडि बढाएका छौं। १६ वटा नगरपालिकामा नै परामर्शदाता नियुक्ति गरेर अध्ययनको काम भइरहेको छ। हाल नगरपालिकाको वडास्तरदेखि नगरस्तरसम्म परामर्श गर्ने काम भइरहेको छ। एउटा नगरपालिकाबाट ५० वटाभन्दा बढी योजना आउन सक्छन्। त्यसलाई नगरपालिकाको आवश्यकताअनुसार छनोट गरेर काम अगाडि बढाउँछौं।

योजनाले नयाँ योजना मात्र नभई हाल नगरपालिकाहरूले निर्माण गर्न आर्थिक अभावको कारण रोकिएको योजनामा पनि लगानी गर्छौं। नगरपालिकाको प्राथमिकतामा नै योजना छनोट गर्छौं। योजना छनोट गर्न सहिले स्थानीय तहमा जनप्रतिनिधिहरू भएका कारण धेरै सहज पनि भएको छ। नगरपालिकाको आवश्यकतामा छनोट हुने योजना अगाडि बढाउँदा कार्यान्वयनको चरणमा स्थानीयले अपन्त्वको अनुभूति पनि गर्छन्।

विश्व बैंकले सम्भाव्यता अध्यायनका लागि आर्थिक सहयोग गरेको छ। यसबाट हामी नयाँ १६ र यसअघि कार्यक्रम सञ्चालन भएको ६ जिल्लामा आवश्यक योजनाहरू अध्यायन गछौं। ६ वटा नगरपालिकामा पनि परामर्शदाता नियुक्त गर्ने अन्तिम तयारीमा रहेका छौं।

योजनाको सम्भाव्यता अध्ययन गरेर राख्दा भोलि कुनै पनि दातृ निकाय इच्छुक भएको अवस्थामा ती योजना कार्यान्वयनका लागि दिन सकिन्छ। यसअघि कार्यक्रम सञ्चालन भएका ६ वटा नगरपालिकामा पनि थप योजना छनोट गरेर निरन्तरता दिनुपर्छ भन्नेमा विभागले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्