मधेसमा चुनावी चर्चा



बीपी साह, जनकपुरधाम ।
‘मधेसी जनताको विरोधका बाबजुद नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी हुनपुग्यो। सोही संविधान अहिले कांग्रेसकै नेतृत्वमा कार्यान्वयन हुँदै छ। संविधानको विरोध गर्ने आन्दोलनकारीहरू कांग्रेससँग गठबन्धन गर्दै छन्। मधेसी जनताका लागि योभन्दा दुर्भाग्यको कुरा के होला?’ –रामस्वरूप रामसागर क्याम्पस जनकपुरधामका प्राध्यापक डा. भोगेन्द्र झा बताउनुहुन्छ।

हिमाली तथा पहाडी जिल्लामा उम्मेदवारी दर्ता भएसँगै मधेसको जिल्लाहरूमा चुनावी चर्चा बढ्दै छ। र, मधेसवादी दललाई निकै महत्वका साथ हेरिँदै छ। जसमा नेपाली कांग्रेससँगको गठबन्धन प्रमुख चर्चाको विषयमा बनेको छ। डा. झाले राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालबीचको तालमेल सकारात्मक रहेको बताउँदै कांग्रेससँगको गठबन्धन घातक हुने बताउनुभयो।

राजपा र फोरमले मात्रै मधेसमा बहुमत ल्याउन सक्ने अवस्था रहेको विश्लेषण सुनाउँदै डा. झाले मधेसवादी दलले आफूबारे प्रचारप्रसार गर्नु आवश्यक रहेको बताउनुभयो। वरिष्ठ पत्रकार राजेश्वर नेपालीले सत्तामा भएका दलले सत्ता टिकाउन गठबन्धन गर्ने गरेको बताउँदै उहाँले पनि मधेसवादी दलसँग कांग्रेसको गठबन्धन फलदायी हुन नसक्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘कांग्रेस अहिले सत्तामा छ। उसलाई सत्ता टिकाउनु छ। यस्तो अवस्थामा मधेसको समस्या समाधान गर्नु पहिलो प्राथमिकतामा पर्दैन। त्यसैले गठबन्धन गर्दा मुद्दालाई ध्यानमा राख्नु जरुरी छ।’

नेपालीले गठबन्धन आफैंमा नकारात्मक नभएको टिप्पणी गर्दै मधेसको समस्या समाधान उन्मुख गठबन्धन हुनुपर्ने बताउनुभयो। उहाँले मधेसको समस्या समाधान गर्नुभन्दा पनि गठबन्धन समस्या दबाउनतिर लाग्न सक्ने बताउँदै वामपन्थी गठबन्धनको आगामी निर्णयले पनि मधेसमा धेरै असर पार्ने बताउनुभयो। उहाँले मधेसी जनताले मधेसमा मधेसप्रेमी शक्तिलाई जिताउन खोजेको बताउनुभयो।

यता राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले कांग्रेससँग गठबन्धन हुनु सकारात्मक रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘राजपा र फोरमबीचको तालमेलको कुरा अगाडि बढेको छ। यता कांग्रेससँगको तालमेलको कुरा पनि सकारात्मक रूपमा अगाडि बढेको छ।’

मधेसका अधिकांश जिल्लामा राजपा र फोरमको गठबन्धनलाई सकारात्मक रूपमा लिइएको छ। वाम गठवन्धन निर्माण भए पनि मधेसको दुई नम्बर प्रदेशका खासै असर नपर्ने देखिन्छ। कांग्रेससँग भागवण्डा गरेको खण्डमा मधेसवादी शक्तिलाई घाटा लाग्ने विश्लेषण गरिँदै छ।

मधेसमा बलियो हुँदै फोरम

स्थानीय निकायको निर्वाचनमा सन्तोषजनक नतिजा ल्याएको संघीय समाजवादी फोरम नेपाल दुई नम्बर प्रदेशमा थप बलियो हुँदै गएको छ। विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय भएपछि लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरू फोरम नेपालमै फर्केका छन्।

त्यस गरी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्थानीय निकायको निर्वाचन सम्पन्न भएलगत्तै मधेस दौडाहामा छन्। यादवले दुई नम्बर प्रदेशको अधिकांश जिल्लामा प्रभावशाली नेताहरूलाई पार्टीमा भित्र्याएको फोरम धनुषाका अध्यक्ष शेषनारायण यादवले बताउनुभयो।

राजपाका नेताहरू टिकट बाँडफाँडदेखि छलफलका लागि काठमाडौंमै व्यस्त रहेको अवस्थामा फोरम नेपालका अध्यक्ष यादवले नेता तथा कार्यकर्तालाई पार्टी प्रवेशमा लगाएका छन्। मंगलबार मात्रै यादवले धनुषाको सबैलामा कांग्रेससहितका विभिन्न पार्टीका उम्मेदवारका दाबेदारहरूलाई पार्टीमा भित्याउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्