जाजरकोटमा एकैपटक ६ जनाले लिए उम्मेदवारी फिर्ता



दिपेन्द्र शर्मा, जाजरकोट ।
जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार गोविन्दविक्रम शाहसमेत छन । यससँगै वाम गठबन्धनबाट उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवम् माओवादी नेता शक्ति बस्नतलाई केही सहज भएको छ । केन्द्रको निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको एमालेबाट स्वतन्त्र उम्मेद्धार वनेका गोविन्द विक्रम शाहले बताए । पार्टीले माओवादी उम्मेदवार शक्ति बस्नेतलाई सघाउने गरी तालमेल गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट उम्मेदवारी दिएका माओवादीका नरबहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश (क) बाट एमालेका निरज आचार्यले बिहानै उम्मेदवारी फिर्ता लिइसकेका छन । यससँगै वाम गठबन्धनबाट अब प्रतिनिधिसभामा माओवादीका शक्ति बस्नेत, प्रदेश (क) मा माओवादीकै गणेशप्रसाद सिंह र प्रदेश (ख) मा एमालेका करवीर शाही आधिकारिक उम्मेदवार बनेका छन ।

तालमेलको सहमतिमा केन्द्रबाटै अन्तिम समयमा हेरफेर भएपछि जाजरकोटमा प्रदेशतर्फ दुवै पार्टीले दुवै क्षेत्रमा उम्मेदवारी दिएका थिए । अन्तत केन्द्रको निर्देशनअनुसार (क) बाट एमाले र (ख) बाट माओवादी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन ।

यसैगरी राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वीरबहादुर मल्ल, प्रदेश (क) का कृष्णविक्रम शाह र (ख) का लालबहादुर राउतले पनि उम्मेदवारी फिर्ता लिएका छन । उनीहरुले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने भएका छन ।

जाजरकोटमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट पूर्वगृहमन्त्री बस्नेत तथा कांग्रेसबाट राजिव विक्रम शाह प्रतिस्पर्धामा छन ।

प्रतिक्रिया दिनुहोस्