कपिलवस्तुमा नक्कली महको कारोबार बढ्दो, सरसफाई अभियान टोलीद्वारा १५ सय लिटर नक्कली मह बरामद



सीताराम चौधरी, कपिलवस्तु ।

कपिलवस्तुको चन्द्रौटाबाट १५सय लिटर नक्कली मह बरामद गरिएको छ । शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटास्थित मेरी स्टोप्स नजिकैको बस्तीबाट नक्कली मह बरामद गरिएको हो ।

एकाविहानै सरसफाई अभियानका लागि चन्द्रौटा बजार आसपासको बस्तीमा पुगेको प्रशासन, प्रहरी, जनप्रतिनिधि र सरसफाई अभियान टोलीले सो परिमाणको नक्कली मह बरामद गरेको हो । अभियानका क्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका निमित्त प्रमुख एवं शाखा अधिकृत जगदीश अर्यालले पालमुनिको झुपडीमा चेकजाँच गर्दा प्लाष्टिक डब्बाभरि मह देखेपछि रहस्य बाहिर आएको बताइन्छ । झण्डै २५ वर्षदेखि त्यस बस्तीमा पाल टाँगेर गैर नेपाली नक्कली महको कारोबार गर्दै आएका छन् ।

चिनी, फिटकिरी, युरिया लगायतका अखाद्य बस्तुको मिश्रणबाट मह तयार पार्ने गरेको फेला परेको छ । टोलीले महका साथै मिसावट गरिने विभिन्न कच्चा पदार्थ समेत बरामद गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

अभियानमा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, कार्यकारी अधिकृत शेषकान्त पौडेल, शिवराज नगर सरसफाई अभियान कार्यदल संयोजक महादेव पोखरेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला सभापति विष्णुप्रसाद खतिवडा, शिवराजका जनप्रतिनिधिहरु, इलाका प्रशासन कार्यालय तथा वडा प्रहरी कार्यलयको टोली, समाजसेवी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

टोलीले छापा मारेपछि नक्कली मह बनाउने गैर नागरिक बस्ती छाडेर भागेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुई जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक भट्टराईले बताए । २५ वर्षदेखि त्यस ठाउँमा पाल टाँगेर नक्कली मह बनाउने भारतको फैजावादका हाजरा खातुन र साताअघि त्यहाँ आएकी गुडिया खातुनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताए । पक्राउ परेका दुवैलाई सार्वजनिक मुद्धा चलाइने भट्टराईले बताए ।

त्यस क्षेत्रमा रहेको खाली जग्गामा करीब ६० परिवार भारतीय नागरिक लामो समयदेखि पालमुनी बसेर नक्कली महको कारोबार गर्दै आएका छन् । उनीहरुले कपिलबस्तु, अर्घाखाँची, रुकुम, रोल्पा, प्यूठान, दाङ्ग, पाल्पा, स्याङजा लगायतका स्थानमा लगी प्रति लिटरको २सय देखि ५सय रुपैयाँमा विक्री गर्ने गर्दछन् ।

मानव स्वास्थ्यमाथि ठूलो हानी नोक्सानी पु¥याउने त्यस किसिमको महको उत्पादनमा रोक लगाउन स्थानीयले प्रहरीप्रशासनसँग माग गरेका छन् । नक्कली महको कारोबारलाई रोकथाम गर्न अहिले शिवराज नगरपालिकाका जनप्रतिनिधि तथा प्रहरी प्रशासनले सक्रियता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्