रोनाल्डो पाँचौं पटक वर्ष खेलाडी



 

लन्डन, (एजेन्सी)
पोर्चुगल र रियल मेड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो पाँचौं पटक फिफा वर्ष खेलाडी घोषित भएका छन्।
यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएसँगै रोनाल्डोले उक्त अवार्ड पाँचौं पटक आफ्नो पोल्टामा पारेको हो।

सन् २०१० देखि संयुक्त रूपमा दिंदै आएको फिफा ब्यालन डे ओर अवार्डमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ’द बस्ट‘ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो वर्ष पनि रोनाल्डो नै उत्कृष्ट भएका हुन्।

यस वर्षको अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेनका नेयमारलाई पछि पारेका थिए। रियलले गत वर्ष च्याम्पियन लिग र ला लिगा उपाधि जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए। म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा आगामी वर्ष हुने फिफा विश्वकपमा पोर्चुगल छनोट भइसकेको छ।
यसै गरी रोनाल्डो र मेसीले एक अर्कालाई मत दिएका थिएनन्। रोनाल्डोले आफ्नै क्लब रियल मेड्रिडका खेलाडीहरुका लागि मतदान गरे। उनले शीर्ष तीनमा क्रमशः लुका मोडरिक, सर्जियो रामोस र मार्सेलोलाई छनोट गरेका थिए।

यस्तै मेसीले शीर्ष तीन खेलाडीलाई मतदान गर्नेक्रममा क्रमशः लुइस स्वारेज, आन्द्रेस इनिस्टा र नेयमारलाई छनोट गरेका थिए। स्वारेज र इनिस्टा बार्सिलोनाका खेलाडी हुन् भने नेयमार बार्सिलोना छाडेर यसै सिजनमा पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका छन्।

मार्टेन्स वर्ष महिला खेलाडी
बार्सिलोनाका मेसीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जित्न नसके पनि महिलातर्फ भने सोही क्लबकी लिइके मार्टेन्स फिफा वर्ष महिला खेलाडी घोषित भइन्। यस्तै रियल मेड्रिडका प्रशिक्षक जिनेदाइन जिदानले पुरुषतर्फ उत्कृष्ट प्रशिक्षक जित्न सफल भए। महिलातर्फ नेदरल्यान्डस्की सरिना विजम्यान उत्कृष्ट प्रशिक्षक भइन्।

यसै गरी आर्सेनलका ओलिभिर गिरोडले २०१७ को उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड हात पारे। उनले गरेको स्कोरपिन किक प्रहार गोलमा परिणत भएको थियो। उनले गत जनवरीमा क्रिस्टल प्यालेसविरुद्ध गरेको सो गोल वर्षकै उत्कृष्ट सावित हुन पुग्यो।

विराजका शीर्ष तीन खेलाडी
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले पनि फिफा वर्ष पुरुष खेलाडीका लागि मतदान गरेका थिए। विराजको शीर्ष तीन खेलाडी रोजाइमा विजेता रोनाल्डो तेस्रो नम्बरमा परेका थिए। उनको पहिलो मन पर्ने खेलाडीको मतदानमा म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोभिच रहेका थिए। इब्राहिमाभिच अघिल्ला ६ महिना चोटका कारण खेल्न सक्रिय भइरहेका छैनन्। उनले दोस्रो नम्बरमा फ्रेन्च स्ट्राइकर एन्टोनियो ग्रिजम्यानलाई रोजेका थिए। तर नेपाली राष्ट्रिय फुटबल टोलीका जापानी प्रशिक्षक ग्योटुकी कोजुले भने पहिलो रोजाइमा रोनाल्डोलाई मत दिएका थिए। उनले दोस्रो नम्बरमा मेसीलाई छनोट गर्दा तेस्रो नम्बरमा नेयमारलाई रोजेका थिए।

प्रतिक्रिया दिनुहोस्