ज्यापू संग्रहालय महोत्सव शुरू



 

ललितपुर, (नेस)
ज्यापू समाज यलद्वारा आयोजित ज्यापू संग्रहालय महोत्सव मंगलबारदेखि शु्रू भएको छ। ललितपुर घुम्न आन्तरिक र बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले ज्यापू म्युजिम फेस्ता २०१७ नाम दिएर सो महोत्सव आयोजना गरिएको हो।

सो महोत्सवको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण गर्नुपर्ने खाँचो औंल्याउनुभयो। उहाँले ललितपुरको ऐतिहासिक कला संस्कृति, सम्पदा र जीवनशैली देशविदेशका पर्यटकहरुको निम्ति मुख्य आकर्षकको विषय रहेको उल्लेख गर्दै त्यसलाई जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुर नगर किराँतीकाल, लिच्छिवीकाल र मल्लकालको सभ्यता रहेको उल्लेख गर्दै यसको संरक्षण गरेर पर्यटक उद्योग प्रवद्र्धन गर्न सकिने बताउनुभयो। उहाँले ललितपुर जिल्लालाई सांस्कृतिक, हस्तकला र पर्यटकीय नगरी घोषणा गरेर त्यसको संरक्षण गर्ने दिशामा महोत्सवले सबैलाई घच्घच्याउने विश्वास व्यक्त गर्नुभयो।

ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले ललितपुरमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई समाजमा अवस्थित जातीय संग्रहालय अवलोकन गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरेको बताउनुभयो।

संयुक्त राष्ट्रको संघको स्थापना दिवसको सन्दर्भ पारेर आयोजित महोत्सवमा नेवार समुदायको कला, संस्कृति, संस्कार र पर्वबारे जानकारी दिने, परम्परागत बाजागाजा, लाखे नाचको प्रदर्शनी गरिएको छ। त्यस्तै मौलिक जीवनशैलीका विविध पक्ष, परम्परागत सीप लगायत विषयमा पनि प्रदर्शनी गरिएको छ।

महोत्सव जातीय संग्रहालय रहेको ज्यापू प्रज्ञा भवनलाई केन्द्रविन्दु बनाई पाटन दरबार क्षेत्र मंगलबजार, वल्खु, चोछें, भेलाछें, भिन्द्योलाछी, क्वय्लाछीं, च्यासः, खपिन्छें ,च्यासः, च्वबु गाहिटी, गछें र लोल टोलमा सञ्चालन गरिएको छ। सो महोत्सव भोलि बिहीबारसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्