प्यान्क्रियाटाइटिसले निम्त्याउने समस्या



केहि महिना पहिलादेखि नै रामबहादुरको पेटको माथिल्लो भाग दुखिरहेको थियो। ४० वर्षे रामबहादुर जब आफ्नो नियमित मजदुरीबाट साँझ घर फर्कन्थे, सधैंजसो रक्सी पिउने उनको दैनिकी नै भइसकेको थियो। हालका दिनमा उनको पेट दुखाइ अत्यन्तै असह्य बन्दै गएको छ। उनले ग्यास्ट्रिकको औषधि भनी थुप्रै औषधि पनि नखाएका भने होइनन्, ती औषधिहरूले क्षणिक राहत दिलाएता पनि दुखाइ फेरि पनि उस्तै। तर, अहिले आएर भने ती औषधिहरूले समेत कुनै काम नगरेको रामबहादुर बताउँछन्।

बिहानैदेखि उनको पेट दुखाइ अत्यन्तै पीडादायी हुनथाल्यो, उनले औषधि खाए, कामै लागेन, उनी पीडाले कुप्रो परेझैं गर्न थाले। राम्ररी हिँड्न सकेनन्। उनले बारम्बार बान्ता पनि गर्न थाले। उनलाई नर्भिकको आकस्मिक कक्षमा पुर्याइयो। उनलाई एक्युट प्यान्क्रियाटाइटिस भनेर पत्ता लगाइयो।

४५ वर्षीय श्रीमती सरितादेवी अस्वाभाविकरूपमा मोटी छिन् र उनी पित्तथैलीको पत्थरी लिएर जीवनयापन गर्दै आएकी छिन्। पेट दुख्ने उनको समस्या कहिले बल्झिन्छ त कहिले केही कम हुन्छ। दुखाइ कम गर्न उनी कहिलेकाहीं ग्यास्ट्रिकको औषधि पनि खान्छिन्, तर नियमित भने होइन। विगत केही दिनयता भने उनको माथिल्लो पेट अत्यधिकरूपमा पोल्ने र कहिलेकाहीं बान्ता पनि हुने गरेको छ। उनले नियमितरूपमा औषधि खान थालेकी छन्, तर पनि उनलाई खासै फाइदा भएको छैन। केही सीप नलागे पछि उनलाई पनि नर्भिकको पेट तथा कलेजो रोग ओपीडीमा पुर्याइयो। उनलाई क्रोनिक प्यान्क्रियाटाइटिस भनेर पत्ता लगाइयो।

तर, २४ वर्षे हरिको कथा भने अलिक फरक नै छ। बाल्यकालदेखि नै कहिलेकाहीं अलि बढी त कहिलेकाहीं केही कम पेट दुख्ने उनको नियति नै हो। दुखाइको समयमा दाह्रा किट्ने गरी दुख्ने किसिमको उनको दुखाइ छ। ज्यादातररूपमा पेटको माथिल्लो भागमा दुख्छ र दुखाइ कम्मरतिर सर्दै जान्छ। यद्यपि उनी मद्यपान भने गर्दैनन्।

नर्भिकको ओपीडीमा उनलाई जाँच्ने क्रममा उनी एकदमै कमजोर र उनको जीवन असफलतातर्फ धकेलिएको पाइएको थियो। उनको दिसामा चिल्लो पदार्थ अत्यधिक पाइएको र उनले विगत २ वर्षदेखि नै सुईद्वारा इन्सुलिन लिइरहेको पाइयो। एमआरसीसी जाँच गर्दा उनको अग्न्याशयबाट आउने नलीमा जन्मजातै खराबी भएको अर्थात् उनलाई अग्न्याशयको जन्मजात रोग (प्यान्क्रियाटिक डिभिजम) भएको पाइयो।
यी त भए केही उदाहरण मात्रै। हामीकहाँ तीव्र गतिको प्यान्क्रियाटाइटिस, तत्कालै र तीव्र प्यान्क्रियाटाइटिसबाट अग्न्याशयको जीर्ण रोगतर्फ उन्मुख र जीर्ण प्यान्क्रियाटाइटिसका सयौं बिरामी आउने गरेका छन्।

के हो त अग्न्याशय ?
अग्न्याशय अर्थात् ‘प्याङ्क्रियाज’ ग्रिक शब्द हो, जसले ‘प्यान’ (सम्पूर्ण) र ‘क्रियाज’ (मांशपेशी) भन्ने बुझाउँछ। मतलब प्यान्क्रियाज एउटा मांशपेशीको अ· मात्रै हो। यो करिब १२–१५ सेमी लामो अंग्रेजी अक्षर जे आकारको अर्थात् हकीको छडी जस्तै, नरम, डल्लाडल्ली भएको र पेटको खाली भागको पछाडि पनि रहने एक अ· हो। यसको टाउको, मध्य भाग, टाउको तलको अर्को भाग (अनसिनेट) र पुच्छर हुन्छ। यसको टाउको अर्थात् माथिल्लो भाग हाम्रो पेटको अर्को महत्त्वपूर्ण अ· सी आकारको डयुडेनमसँग जोडिएको हुन्छ। यसको मुख्य र अर्को सहायक गरी दुईवटा अग्न्याशय नलीका रहेका हुन्छन्। ती दुवैले अग्न्याशय रस (पाचनरस) डयुडेनमको दोस्रो भागमा खसाल्छन्। तिनले हामीले खाएका खानामा रहने कार्बोहाइड्रेटस्, प्रोटिन र चिल्लो पदार्थ पचाउने काम गर्दछन्। यो प्रक्रियालाई पाचन रस उत्पादन गर्ने कार्य (८० प्रतिशत) भनिन्छ। त्यसरी नै अग्न्याशयले आफ्ना स–साना कोशिकाहरूबाट इन्सुलिन उत्पादन गर्ने एक विशेष काम पनि गर्दछ। उक्त इन्सुलिनले मानव रगतमा रक्त सुगरको मात्रा नियमित गर्ने काम गर्दछ। यसलाई इन्डोक्राइन प्यान्क्रियाज (२० प्रतिशत) भन्ने गरिन्छ।

अग्न्याशयको सुजन
अग्न्याशयमा, त्यसको सतहमा वा कुनै भागमा सुन्निने वा संक्रमण हुने प्रक्रियालाई नै प्यान्क्रियाटाइटिस (प्यान्क्रियाटाइटिस) भन्ने गरिन्छ। यो रोग या त तीव्र गतिको प्यान्क्रियाटाइटिस हुन्छ, जसमा उत्पन्न विकृतिले अग्न्याशयका कोषिका वा मांशपेशीलाई नै पचाउने काम गर्दछ। तर, अचम्मको कुरा के छ भने त्यसरी अग्न्याशय ग्रन्थी नै एकपटक पचिसकेपछि पनि त्यसको कार्य विधि र संरचनामै कुनै परिवर्तन नभई त्यो स्वतः आफैं ठीक पनि हुन्छ। जब त्यस्तो प्रक्रिया बारम्बार हुन थाल्छ वा त्यो दोहोरिएर हुने गर्छ त्यसले अग्न्याशय ग्रन्थीकै स्वरूप⁄संरचनामा दखल पुर्याउँछ, त्यसको कार्य क्षमता नष्ट पार्छ, त्यस अवस्थालाई नै अग्न्याशयको दीर्घ⁄जीर्ण रोग वा सुजन भएको भनिन्छ।

प्यान्क्रियाटाइटिसका कारणहरू
विश्वभर हुने प्यान्क्रियाटाइटिसका कारणहरूमध्ये अन्दाजी ४० प्रतिशतको कारकतत्त्व पित्तथैलीको पत्थरीलाई मान्ने गरिएको छ। यसको दोस्रो ठूलो कारकतत्त्वमा मद्यपानलाई लिइएको छ। ५ देखि १५ वर्षसम्म लगातार मद्यपान गर्ने लतमा परेका व्यक्तिमध्ये करिब ३५ प्रतिशतलाई यसको जटिलताले समाउने गरेको पाइएको छ। यद्यपि त्यत्तिकै मात्रा र समयसम्म मद्यपान गरिरहने त्यत्तिकै संख्याका अन्य व्यक्तिहरूको दाँजोमा केही प्रतिशतलाई मात्रै अग्न्याशयको विकराल समस्या निम्तिनुको पछाडिका कारणहरू के–के हुनसक्छन् भन्नेतर्फ सर्वस्वीकार्य व्याख्या भन्ने अझैसम्म प्राप्त हुन सकेको छैन।

रगतमा ट्राइग्लिसराइको मात्रा अत्यधिक हुने, रगतमा अत्यधिक क्याल्सियमको मात्रा हुने समस्या, ईआरसीपी प्रक्रिया अपनाउँदा आइपर्नसक्ने जटिलता, दुर्घटनाका कारण छातीमा लाग्नसक्ने गम्भीर चोटपटक, विविध औषधिहरूको अनधिकृत प्रयोग, अग्न्याशयको संक्रमण, अग्न्याशय रोगको अनुवंशीय इतिहास, ट्युमर, विविध विषादिसँगको सम्पर्क एवं प्रयोग तथा शरीरको प्रतिरक्षात्मक प्रणालीले अग्न्याशयका आफ्नै कोशिकाहरुलाई नष्ट गर्ने प्रक्रिया आदि तीव्र प्यान्क्रियाटाइटिसका थप कारकतत्त्वहरू हुन्।

दीर्घकालीनरूपमा नियमित मद्यपान गर्ने लत बसालेका बिरामीहरूमा भने जीर्ण⁄दीर्घकालीन प्यान्क्रियाटाइटिसका मुख्य कारण नै मद्यपान रहेको पाइएको छ। सूर्ती सेवन वा धुम्रपानलाई पनि प्यान्क्रियाटाइटिसको अर्को मुख्य कारकतत्त्वका रूपमा लिइएको छ। रगतमा बोसोको मात्रा बढ्ने, रगतमा क्याल्सियमको मात्रा बढी हुनु, पारा थाइराइड ग्रन्थीले उत्पादन गर्ने एक प्रकारको रस बढी हुनु (हाइपर प्याराथाइरोडिजम), अग्न्याशयमा संक्रमण हुनु, विविध औषधिहरूको अनधिकृत प्रयोग गर्नु र रोगको अनुवंशीय इतिहास हुनु आदि⁄इत्यादि जीर्ण⁄दीर्घकालीन प्यान्क्रियाटाइटिसका थप कारणहरू हुन्।

यसका जटिलताहरू
तीव्ररूपमा देखापर्ने प्यान्क्रियाटाइटिसका धेरैखाले जटिलताहरू हुनसक्छन्। तीमध्ये सामान्यतया स्थानीय अ·मा अत्यधिक क्षति पुग्ने, घाउ⁄खटिरा तथा ट्युमर हुनसक्ने सम्भावना रहन्छ भने कहिलेकाहीं शरीरका बहु अ·हरू जस्तै फोक्सो, मिर्गौला, आदि असफल हुने तथा पेट तथा आन्द्रामा रक्तस्राव हुने सम्भावना रहन्छ। कडा वा उग्र खालको तीव्र प्यान्क्रियाटाइटिस (संक्रमण) ज्यादातररूपमा प्राणघातक हुनसक्छ। अत्याधुनिक प्रविधि र सुविधासम्पन्न पेट तथा कलेजो रोग उपचार केन्द्रमा उपचार गराउँदासमेत त्यस्ता बिरामी बचाउन कठिन हुने गरेको तथ्य हामीसँग छ। त्यस प्रकारका बिरामीमध्ये करिब ४० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक प्राप्त छ।

दीर्घकालीन⁄जीर्ण प्यान्क्रियाटाइटिसले भने बिरामीमा कूपोषण, मधुमेह र अग्न्याशयको अर्बुदरोग (क्यान्सर) समेत गराउने गर्दछ।

प्यान्क्रियाटाइटिसको निदान
तीव्र प्यान्क्रियाटाइटिसको निदान त्यति धेरै कठिन छैन। बिरामीको रोगको इतिहास र निदानात्मक सुविधाको प्रयोग गर्दै रगतमा अमाइलेज र लाइपेजजस्ता पाचन रसका मात्रा अत्यन्तै बढी हुनु, जाँचका साथ पेटको भिडियो एक्स–रे गर्दा पनि रोगको प्रारम्भिक अनुमान गर्न सकिन्छ। तीव्र प्यान्क्रियाटाइटिसको थप जटिलताबारे थाहा पाउन सीटी स्क्यान ले पनि ठूलै मद्दत गर्ने गर्दछ।

नर्भिकमा २ वर्षपूर्व भित्त्याइएको राष्ट्रकै पहिलो पेट रोग निदानात्मक प्रविधि इन्डोस्कोपिक अल्ट्रासाउन्ड भने यी रोगहरू पत्ता लगाउन वरदान सावित भएको छ। हामीले उक्त प्रविधिको प्रयोग गर्न थालेको छोटै समयमा २ सय जनाजति बिरामीको परीक्षण गर्दा २० प्रतिशतभन्दा बढीमा दीर्घकालीन वा जीर्ण प्यान्क्रियाटाइटिस भएको पत्ता लगाइसकेका छौं। यो प्रविधि तीव्र प्यान्क्रियाटाइटिस (संक्रमण), अग्न्याशयमा भएको ठूलो क्षति र पिप जम्ने आदिको निदान गर्न पनि ज्यादै उपयोगी भइरहेको छ। अग्न्याशयमा भएको पानीका फोकाहरुबाट पानी निकाल्नसमेत यसले ठूलो मद्दत गरेको छ।

प्यान्क्रियाटाइटिसको उपचार
यस रोगको उपचार मुख्यतया रोगीको पीडामुक्तिमा सहयोगी औषधोपचार नै हो। अति कडा र गम्भीर अवस्थाका प्यान्क्रियाटाइटिसबाहेकका अन्य अवस्थामा धेरैजसो रोगीहरू औषधोपचारबाटै ठीक हुन सक्छन्। यस रोगका अधिकांश बिरामीहरूले पेट दुखिहाल्यो भन्दैमा औषधि पसलबाट दुखाइ कम गर्ने औषधि जथाभावी किनेर खाइहाल्नु भने गलत हुनेछ। त्यसको सट्टा यथाशीघ्र पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श गर्नु बुद्धिमानी हुनेछ। किनकि कुनै बेला बिरामीको रोग हामीले सोचेभन्दा बढी नै खतरनाक र प्राणघाती पनि हुन सक्छ। समयमै सचेत बनौं।

यस प्राणघातक रोगको जटिलतालाई मध्यनजर गर्दै बिरामीलाई विशेषज्ञको प्रत्यक्ष रेखदेखमा हस्पिटलको सघन उपचार कक्ष (आईसीयू) मै राखी उपचार गर्नुपर्ने अपरिहार्यता नै हुन्छ।

निष्कर्ष
हामीमध्ये धेरैले सोचेझैं पेटको माथिल्लो भागको दुखाइ केवल ग्यास्ट्रिककै कारणले मात्रै हुने गर्दैन। दुखाइ जब असामान्य हुन्छ, त्यसबखत तीव्र वा दीर्घकालीन (जीर्ण) प्यान्क्रियाटाइटिस हो कि भनी सम्बन्धित बिरामीका परिवारले मात्रै नभएर हामी पेट तथा कलेजो रोग विशेषज्ञहरूले समेत एकपटक सोच्नै पर्ने हुन्छ। र, समयमै त्यसको उचित तथा सही निदानतर्फ लाग्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्