‘नेक्सस’ः लोकतन्त्रको महासुनामी

 

पेशल आचार्य

कवि मोहन कोइरालाले आफ्नो कुनै चर्चित कवितामा अभिशप्त वर्तमानको चित्रण गर्दै ‘लाटीले घुमाएको जाँतोजस्तो मेरो वर्तमान’ भनी काव्यिक प्रतीकको प्रयोग गरेका छन्। पञ्चायत कालमा ‘लाटी’ भनेर एउटा कविले आफ्नो कवितामा शब्द प्रयोग गर्दा कुनै आपत्ति आउँदैनथ्यो। तर अहिले समय निकै अघि बढिसकेको छ। हामीले लोकतन्त्र प्राप्तिपछि बोली र शब्द चयनमा पनि बद्लाव ल्याइसकेका छौं।

अभिधार्थमा लोकतन्त्र प्राप्तिपछि ‘बोली स्पष्ट नहुने’ वा ‘बोल्न नसक्नेहरू’ लाई पनि ‘लाटा–लाटी’ भन्न पाइँदैन। कि ‘फरक क्षमताका व्यक्ति’ भन्नुपर्छ कि ‘अपाङ्गता भएका व्यक्ति’ शब्दले सम्बोधन गर्नुपर्छ। एक हिसाबले भन्ने हो भने फरक क्षमताका व्यक्ति भनेर अपाङ्गता भएका व्यक्तिलाई हामीले बोलीमा सम्मान पनि गरेको हो। उहिलेको जमानामा भनिने शब्दहरूको खेती अहिले गरिरहनुको कुनै तुक छैन। पहिले–पहिलेका मानिसहरू महिलालाई ‘आइमाई’ भन्थे। अहिले भन्यो भने ‘आइमाई’ शब्द सुन्न मन नपराउने महिलाहरूले जिल्लातिर भए जिल्ला प्रशासन कार्यालय र केन्द्रमा भए राष्ट्रिय महिला आयोगमा उजुरी दिन बेर लगाउँदैनन्। जमाना बदलिएको छ, सोही अनुसार चल्नुपर्छ।

गूढ रहस्य पत्ता लगाउनका लागि अध्ययन गर्ने हो भने, ‘आइमाई’ शब्द नेपाली तत्भव शब्द हो। यो संस्कृतको ‘आर्यमाता’ शब्दबाट रुपान्तरित भई नेपालीमा प्रतिस्थापित हुँदा ‘आइमाई’ भएको हो। आर्यमाता शब्द त्यस बेला भएको हो जुन बेला संसारमा आमाको राज र हुकुम चल्थ्यो। त्यो बेला विवाह संस्कारको आरम्भ भएकै थिएन। आर्यमाताले योग्य पुरुषहरूसँग अकण्टक सम्भोग गर्न सक्ने हैसियत राख्थिन्। एक आर्यमाताका अधिनस्थ अनेक पुरुषहरू हुन्थे। त्यसैले आर्यमाता शब्दको पुलिङ्गी शब्द न संस्कृतमा छ, न नेपाली भाषामै। ‘आर्यपिता’ भनेर जबर्जस्ती पुगिङ्गी बनाउन खोजेमा त्रुटि हुन्छ। त्यसैले आइमाई शब्दको इतिहाससँग परिचित विद्वत्जनहरूले यदाकदा आइमाई शब्द प्रचलनमा ल्याएका बेला उत्ति सारो शाब्दिकरूपमा महिला हिंसा हुन्छ जस्तो यो पंक्तिकारलाई लाग्दैन। तर जुनसुकै बेला कुनै मानिसले पटक–पटकरूपमा आइमाई शब्दको प्रयोग गरिरह्यो भने त्यो कि त अपहेलना गरेको हुन्छ कि ‘वचनको हिंसा’ गरेको ठहर्छ।

लाटा र लाटीको अर्थमा पनि त्यही हो। माया गरेर कसैले कसैलाई ‘लाटा’ भन्यो भने त्यो एकरूपमा पच्छ। तर सोही लवज बारम्बार दोहोर्याइरह्यो भने कसैको व्यक्तित्वमाथि हिलो छ्याप्न खोजेजस्तो देखिन्छ। तसर्थ त्यो अवस्थामा पनि ‘लाटालाटी’ शब्द प्रयोग हिंसा हुन्छ। अहिले त विद्यालयस्तरमा लाटालाटीहरूलाई पढाउने व्यवस्थै गरिएकाले त्यहाँ फरक क्षमताका व्यक्तिसमेत नभनेर ‘बोल्न नसक्ने⁄बहिरा बालबालिका’ भनिन्छ।

विश्वप्रसिद्ध नाटककार तथा कवि सेक्सपियरले भनेझैँ ‘गुलाफलाई जे नाम दिए पनि त्यसको सुवासमा किंञ्चित बद्लाव आउँदैन।’ हो, हामीले पनि शब्दका हिंसामा अब ध्यान पुर्याउनै पर्दछ।

यो प्रसङ्ग यहाँ किन पनि उठाउन खोजिएको हो भने, अहिले हामीले प्राप्त गरेको लोकतन्त्र प्राप्तिको यात्रा हामीले २०४६ सालमा नै तय गरेको हो। निर्दलीय पञ्चायती व्यवस्थाको समूल अन्त्यपछि जब हामीले प्रजातन्त्र प्राप्त गर्यौं तब यो क्रमशः शाब्दिकरूपमा लोकतन्त्र र गणतन्त्र शब्दमा रूपान्तरित भएर आएको हो। मिहीन रूपले हेरेका खण्डमा जुन–जुन अधिकार र कर्तव्यका लागि हामी हिजो संगठित भएर लडेका थियौं ती सम्पूर्ण कुरा अहिले हामीले पाएका छैनौं। देशको हालत र जनताको हविगत झन्–झन् रसातलतर्फ लाग्दै छ। अहिले हामी विश्वलाई हेरेर देशको शासन र शासकका बारेमा मनमा चित्र बनाउँछौं तर हामीलाई शासन गर्ने नेताहरू जनताका नजरमा जुनसुकै पार्टीका भए पनि तिनीहरूको नूर गिरेको छ। एक हिसाबले भन्दा पार्टी मात्र फरक छ। रक्सीको लेबल मात्र फरकजस्तो सबै रक्सी खाँदा लाग्ने भएझैँ नेपालमा क्रियाशील राजनीतिक पार्टीहरूको पनि झन्डा, नेताका मुखडा र बोली मात्र फरक देखिन्छन्। व्यवहारतः ती जनता र देशका सापेक्षमा उही लाग्छन् ।

आधुनिक नाटककार अशेष मल्लले एउटा दह्रो एकाङ्की नाटक लेखेका छन्, जसको नाम ‘म भनेको हामी’ भन्ने छ। त्यहाँ तीनवटा पात्रहरू छन्। पहिलो पात्र नेता हुन्छ। दोस्रो पात्र कर्मचारी हुन्छ र तेस्रो पात्र व्यापारी हुन्छ। ती तीनैजनाको एकापसमा भित्री ‘नेक्सस’ (कुसम्बन्ध) हुन्छ। तीनैजना भ्रष्ट आचरणका हुन्छन्। तीनैजनाको कमाउ धन्दामा सिन्डिकेट हुन्छ। जनता तिनीहरूको शासन, प्रशासन र व्यापारिक सेवाबाट वाक्कदिक्क हुन्छन्। प्रहरीले एउटालाई कार्यवाही गर्न खोज्यो अर्को त्यसको साथी भएर सहयोग गर्न आइपुग्छ। कहिलेकाहीँ त त्यही अपराधी नै तुरुन्त अर्को व्यक्तिमा रूपान्तरित भइदिन्छ। हुँदा–हुँदा अन्त्यमा बेपारी जसको नाम सेठ अनागरिक हुन्छ त्यसले सगौरव भन्छ– ‘तपाईं हामीमध्ये जसलाई पक्रन खोज्नुहुन्छ, हामी तीनैजना एकै हौं। हाम्रो रूप मात्र फरक हो, सार एकै हो।’ अपराध र अपराधीको जालो कसरी विकसित भएको हुन्छ, त्यो थाहा पाउन मल्लको सो एकाङ्की सारै कारगर सिद्ध नाट्य एकाङ्की लाग्छ।

अहिलेको नेपालमा पनि गोपाल खड्का र गोपाल खड्काहरू, चूडामणि शर्मा र चूडामणि शर्माहरूको (यी नामहरू समाजमा प्रतिनिधि कुपात्र (?) भनेर चिनिएकाले लिइएको मात्र हो। अन्य यस्ता नामहरू थुप्रै राख्दा यो लेखको आयतन बढ्न जाने हुँदा नाम उल्लेख गर्न नपाएकामा क्षमाप्रार्थी छु) नेक्सस, राजनीति गर्ने भुरे–टाकुरे नेता–कार्यकर्तादेखि पार्टी हाइ कमान्डका नेताहरूसँग पनि जोडिएकैले तिनीहरूले ससम्मान यो समाजमा डुक्रिएर हिँड्न पाएका हुन्। बीपीको लिगेसी बोकेको पार्टी कांग्रेसमा खुमबहादुर खड्का टिकट दिने अनि गगन थापाहरूले टिकट थाप्नुपर्ने, एमालेमा दीपक मनाङ्गे र पर्शुराम अधिकारीजस्ता अपराध कर्ममा दीक्षित भएकाहरूलाई पार्टीले रातो कार्पेट ओच्छ्याएर टिकट दिएपछि यहाँको लोकतन्त्रमा कस–कसको नेक्सस कहाँ–कहाँ जोडिएको छ, त्यो बुझ्न कुनै देशको इतिहास पढिरहनुपर्दैन। हाम्रै देशको वर्तमान काफी छ।

हाम्रो संसद्मा सहकारीका मतियारदेखि निजी स्कुल चलाउने साहूहरू सांसद भएर गएका देखिए। म्याच फिक्सिङमा सामेलदेखि अपराधका ठूला ‘भाइ’ समेत सांसद बनाइए। मेडिकल माफियादेखि हप्ता असुली गर्ने ठिनेमिने डनहरूले समेत पार्टीको टिकट लिने कसरत गरे। कुख्यात बेपारी र ठेकेदारहरू त एमाले, कांग्रेस र माओवादी पार्टीबाट दर्जनौंको संख्यामा टिकट लिएर अहिले प्रदेशसभा र केन्द्रीय संसद्मा उठेकै छन्। ३ करोड नेपालीको स्वास्थ्यको चिन्ता गर्ने सामाजिक अभियन्ता डा. गोविन्द केसी, नेपाललाई आफ्नै जीवनकालमा समृद्ध बनाउँछु भनेर लागेका वैज्ञानिक महावीर पुन, नागरिक समाजका अगुवा कृष्ण पहाडीजस्ताको आवाज अहिले मलिन भएर जानु हरेक पार्टीमा धन र डनवादीहरूको बोलवाला असनको साँढे डुक्रिएझैँ डुक्रिएर बढ्दै जानु यी चित्रहरूले हामीले ल्याएको गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता र मानवअधिकारका कुराहरूले पनि दशक–दशकमै खोलाले बाटो फेरेझैँ गर्छ भन्ने भान अहिले जनतामा पर्न थालिसक्या छ।

अपराधको पार्टीमा लिगलाइजेसन, राजनीतिको भ्रष्टीकरण, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई आफ्ना भरौटे र मुठ्ठीका माखाहरूको राइँदाइँ गर्ने थलो बनाएर अभ्यास गरिएको, राजनीतिक नियुक्तिमा भान्जाभान्जी, सालाजेठान र स्थानीय तहकै चुनावमा पोलिटिकल ब्ल्याक मेलिङ गरेर सन्तानसम्मलाई मेयर बनाएको जनताले देखे। लोकतन्त्रलाई दुरुपयोग गर्दै हाम्रा नेताहरू मिलिजुली भ्रष्टाचार गर्ने, एकले अर्कोलाई सत्तामा जान भर्याङ भई मद्दत गर्ने, दण्डहीनताको संस्कारले बोलवाला पाउने र आफ्नो पार्टीमा रहेका खराबै मानिसलाई पनि राम्रो भनेर पुज्ने जुन कुपरिपाटीको उदय नजानिँदोरूपले नेपालमा हुँदै छ त्यसबाट विदेशीहरूले चिनिसकेका छन्। अझ एक कदम अघि बढेर भनेका खण्डमा यहाँ ‘राजनीतिको मास्क’ लगाएर विदेशीका हितमा काम गर्ने धेरै नेतालाई अहिलेसम्म पनि हामी भने ‘लाटासीधा’ भई आदर गरिरहेका छौं। यो थाहा पाएर विदेशीले भने हामीलाई निरन्तर हेप्ने काम बढाउँदै लगेका छन्। त्यसले नेपाली गणतन्त्र उत्तर वा दक्षिणतिरबाट ढिलोचाँडो छिमेकीहरूकै पोल्टामा नजाला भन्न सकिन्न। राज्य कब्जाको नाटकीय खेलमा कतिपय रूपले विदेशीहरू नै नायक र खलनायक बनेका छन्।

राज्य कब्जाका लागि हरेक पार्टीहरू लागेकै छन्। बीस–बीस वर्षदेखि एउटै मानिस चुनावमा उठ्नु, त्यसैलाई विचार र दर्शनका आधारमा जनताले निरन्तर भोट दिइरहनु र तिनीहरूको प्रदेश र केन्द्रमा अपराध, भ्रष्टाचार, कार्टेलिङ, नेक्सस तथा मिलिभगत गर्नेसँग कुम जोडिएको देखिनुले अहिले हामीले जतिसुकै घाँटी सुकाएर ल्याएको भनिए पनि यो लोकतन्त्रले जबसम्म भुइँमान्छेको हित गर्ने पूर्ण लोकतन्त्रका नम्र्सहरूको प्रत्याभूति गर्दैन तबसम्म नाममा मात्रै लोकतन्त्र हुनेछ। व्यवहारमा भने यो ठालुहरूको मिलिभगतमा चल्ने लोकतन्त्र भई जनता निरन्तर शोषित भैरहने पक्का छ।

अबको नयाँ बाटो भनेको नेता फेर्नु मात्र होइन, मतदानमा मतदाताले नयाँ पार्टीका नयाँ–नयाँ नेताहरूलाई भोट पनि दिनुपर्यो। मानिस हरेक क्षण परिवर्तन चाहन्छ। त्यो परिवर्तन नेता र पार्टीका छनोटमा पनि व्यवहारतः आउनुपर्यो। अनि मात्र देशले विकासमा छलाङ मार्छ, नत्र जति लोकतन्त्रको रटान लगाए पनि हामी फेरि दश वर्षपछि पनि ‘घुमिफिरी रुम्जाटार’ भनेझैँ उही बाटोमा हिँडिरहेका हुनेछौं। आजको खाँचो भनेको अपराधको जालो चुँडालेर ‘नेक्सस पोलिटिक्स’ गर्नेहरूलाई जति सक्दो चाँडो नङ्ग्याउनु नै हो।

LEAVE A REPLY