तक्मेबुढा र रेखा सोल्टी–सोल्टिनी



 

लोकप्रिय हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ अभिनेतृ तथा मोडल रेखा फागोसँग देखिएका छन्। हालै सार्वजनिक भएको सोल्टीज्यू बोलको गीतको म्युजिक भिडियोमा विल्सन रेखाको सोल्टीका रूपमा देखिएका हुन्।

पछिल्लो समयमा ‘मायाले संसार चल्दैन हौ’ भन्ने थेगोलाई स्थापित गरेका विल्सन भिडियोमा भने रेखाको मायामा चुर्लुम्मै डुबेका छन्। गीतकार राम रेप्चुङ राईको शब्द रचना रहेको सोल्टीज्यू पूर्वेली लोकआधुनिक गीत हो। यो गीतलाई नेपाल आइडलकी टप–७ प्रमिला राई र नेपाली तारा सिजन–३ का फस्ट रनर्सअप देवेश राईले गाएका छन्। पूर्वी नेपालको रहनसहन र कला संस्कृति उजागर गर्ने सोल्टीज्यूको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा विल्सन र रेखालाई सोल्टी–सोल्टिनीका रूपमा प्रस्तुत गरिएको छ। सोल्टी–सोल्टिनी पूर्वमा तरुनी–तन्नेरीबीच चलनचल्तीको शब्दोचारण हो। गीतकार रेप्चुङलाई त्यही भाका र भावनालाई यस गीतका उतारेका छन्। एकदमै थारैमात्र म्युजिक भिडियोमा मोडलिङ गरेका विल्सनले भने– ‘जस्तोसुकै म्युजिक भिडियोमा म अभिनय गर्दिनँ। यो गीत मलाई मन परेकैले अभिनय गरेको हुँ।’ किराँत यायोख्खा जापानको प्रस्तुति रहेको यस गीतको संगीत तथा एरेन्ज देवेश राईले नै गरेका हुन्। भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्