आन्तरिक पर्यटकको रोजाइ कुपिण्डे ताल



सरिता चलाउने, सल्यान
सल्यानमा विभिन्न स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ। विशेष गरेर चाडपर्वको समयमा परिवारसँग जिल्लाका विभिन्न पर्यटकीय स्थलमा घुमेर रमाउने बढ्दै गएका छन्।

जिल्लाका कुपिण्डे ताल, खैरावाङ मन्दिर, छेत्रश्वरी शक्तिपिठलगायतका पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका हुन्। विशेष गरी कुपिन्डे तालमा पर्यटकको घुइँचो लाग्न थालेको छ। तिहारको टीका लगाएर घुम्न जानेको लर्को लाग्न थालेको छ। कोही गाडी रिर्जभ गरेर त कोही मोटरसाइकलमा कुपिण्डेतालमा पुग्ने गरेका छन्।

यस बेला सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, कलेज बन्द हुने भएकाले घुम्न आउनेको संख्या बढेको कुपिण्डे ताल संरक्षण समितिका सचिव तिलकराम यरीले बताउनुभयो। चाडवाड आउनुभन्दा पहिले दैनिक ५० देखि ६० जनासम्म आउने गरेको भए पनि आजभोलि दैनिक २ सयदेखि ३ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको यरीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘वर्षात्को समयमा यातायातका साधन नचल्ने तथा आवतजावत गर्न अप्ठेरो हुने भएकाले दैनिक ५० देखि ६० जनासम्म आउने गर्छन् तर वर्षा सकिएर चाडपर्व पनि आएकाले आजभोलि २ सयदेखि ३ सयभन्दा बढी पर्यटक आउने गर्दछन्।

पर्यटक घुम्न आउनेको सख्ंया बढेसँगै होटलहरू पनि अग्रिम बुकिङ हुन थालिसकेको एक होटल सञ्चालक धनबहादुर पुनले बताउनुभयो। २३ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको कुपिण्डे ताल देख्नेबित्तिकै जो कोही पनि मन्त्रमुग्ध हुने गर्दछ। वर्षमा ३ पटक रङ फेर्ने ( वर्षा, हिउँद र सुख्खा) र तालमा भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण पर्यटकहरू बढी आउने गर्दछन्। ८ सय ३४ लम्बाई र ५ सय ३८ रहेको कुपिण्डे तालमा वनभोज तथा डुंगा सयर गर्नेहरू बढेकाले पनि आवश्यक पूर्वाधार विकासका लागि माग गरेको गिरीको भनाइ रहेको छ। तालको मध्यभागबाट उत्तरतिरका हिमशृखंला देख्न सकिन्छ।

अहिले दिनमा १० वटा डुंगा चल्दै आइरहेका छन्। डुंगामा पूरै फन्को लगाउन २ घन्टाको समय लाग्छ। कुपिण्डे तालमा आन्तरिक पर्यटकका साथै सुर्खेत, जाजरकोट, बाँके, बर्दिया, दाङ, रोल्पा र रुकुमबाट पर्यटक आउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्