देउवालाई प्रचण्डको प्रश्न, सरकारमा बस्दा अफ्ठेरो छ कि छैन ?



मधुसूदन रायमाझी, काठमाडौं ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध निकै चिसिएको छ।

एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सरकारमा सहभागी माओवादीका सबै मन्त्रीहरूलाई विना विभागीय बनाउनुभएको छ। तर पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राख्दै आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको छ।

विना विभागीयको हैसियतमा माओवादीका मन्त्रीहरू चुनावी अभियानमा जुटेका छन्। माओवादीले सरकारले निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको निकष्र्ष निकाल्दै एक साताअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगे पनि लगत्तै सरकारमै रहिरहने निर्णय गरेको थियो।
प्रधानमन्त्री देउवाले सरकारबाट माओवादीका मन्त्री फिर्ता बोलाउन प्रचण्डलाई आग्रह गरे पनि निर्वाचनको सुनिश्चिताका लागि भन्दै मन्त्री फिर्ता नबोलाउने अडान लिएपछि देउवाले माओवादीका सबै मन्त्रीहरूलाई विनाविभागीय बनाउनुभएको थियो।

माओवादीका मन्त्रीहरूले नै कात्तिक ५ गते उम्मेदवारी मनोनयन दर्तापछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए। तर माओवादीका मन्त्रीहरू निर्वाचनसम्म विना विभागीयकै हैसियतमा बस्ने कि फिर्ता बोलाउने भन्ने विषयमा पार्टीभित्र बहस शुरू भएको छ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। वामपन्थी गठबन्धन निर्माणसँगै प्रचण्ड र देउवाको सम्बन्ध पनि टाढिँदै गएको छ। भेटमा प्रचण्डले प्रधानमन्त्री देउवालाई आफ्ना पार्टीका मन्त्रीहरू सरकारमा बसिरहँदा कुनै समस्या छ कि छैन भन्ने जिज्ञासा राख्नुभएको बताइएको छ।

बालुवाटारले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्यो, ‘निर्वाचनमा सहज ढंगले सम्पन्न गराउन र सरकारलाई सहयोग गर्न मैले पार्टीका मन्त्रीहरूलाई फिर्ता नबोलाएको हुँ, माओवादीका मन्त्री सरकारमा बस्दा तपाईंलाई समस्या छ कि छैन ?’ जवाफमा प्रधानमन्त्री देउवाले निर्वाचनप्रति आफू प्रतिबद्ध रहेको बताउँदै माओवादीका मन्त्रीहरू सरकारमा रहिरहँदा कुनै पनि समस्या नरहेको बताउनुभएको थियो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच निर्वाचन, मन्त्री फिर्ता बोलाउनेलगायतको विषयमा कुराकानी भएको बताइएको छ।

नेकपामा ओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सरकारबाट मन्त्री फिर्ता बोलाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारबाट मन्त्रीफिर्ता बोलाउने बारेमा अहिले छलफल भएको छैन, उम्मेदवारी मनोनयन दर्ता गर्न मन्त्रीहरू पनि जिल्ला जिल्लामा जानुभएको छ।’

प्रतिक्रिया दिनुहोस्