भट्टराई र श्रेष्ठको चुनावी क्षेत्र अति संवेदनशील



सन्तोष अधिकारी, गोरखा ।
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाको ६८ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो। आउँदो चुनावलाई लक्षित गरी बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखालाई अति संवेदनशीलको सूचीमा राखिएको छ।

६८ वटा अति संवेदनशील मतदानस्थलमध्ये धेरै २ नम्बर क्षेत्रमा नै रहेका छन्। जिल्ला सुरक्षा समितिले १ सय ३३ मतदानस्थललाई संवेदनशील र बाँकी १२ वटालाई सामान्य मतदानस्थलको रूपमा वर्गीकरण गरेको छ। ‘नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठको निर्वाचन क्षेत्रका मतदानस्थलहरू अति संवेदनशीलमा धेरै परेका छन्’, प्रजिअ बस्नेतले भन्नुभयो– ‘अतिसंवेदनशील मानिएको क्षेत्रमा त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइनेछ।

यसअघिका निर्वाचनमा भएगरेका घटना, भौगोलिक बनावट, चुनाव प्रचारका क्रममा हुन सक्ने झडप, संविधान संघीयता र चुनाव विरोधी समूहको गतिविधिलगायतका आधारमा मतदानस्थलको सुरक्षा विश्लेषण गरिएको छ।’

सशस्त्रको अस्थायी बेसक्याम्प राख्ने तयारी

दुवै शीर्ष नेताको चुनावी सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि चुनाव अवधिभर २ नम्बर क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प राख्न जिल्ला प्रशासनमार्फत केन्द्रमा माग गरिसकेको प्रजिअ बस्नेतले बताउनुभयो। त्यस्तै बाहिरी जिल्लाबाट जिल्ला प्रवेश गर्ने नाकामा पनि कडाइ गर्ने प्रहरी प्रशासनले योजना बनाएको छ। यसअघि सम्पन्न स्थानीय तहको चुनावमा पनि गोरखाका ती क्षेत्रहरू अति संवेदनशील क्षेत्रमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्