मकवानपुर १ मा थापालाई गार्हो छ



 

रोशन पराजुली, हेटौंडा
राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि ५ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ।

मकवानपुर–१ मा पार्टी अध्यक्ष कमल थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने उक्त पार्टीले जनाएको छ। आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले उक्त पार्टीलाई ७ स्थान दिन तयार भएको बताइएको छ।

मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपा अध्यक्ष थापा गृह जिल्ला मकवानपुरबाट चुनाव लड्ने भएका छन्। अध्यक्ष थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। गत संविधानसभा चुनावमा समानुपातिकतर्फबाट सांसद बनेका थापा पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरबाटै पराजित भएका थिए।

नेपाली कांग्रेससँग लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेका थापा मकवानपुर–१ बाट प्रत्यक्ष चुनाव लड्न लागेका हुन्। थापाले यसअघि २०५६ सालमा मकवानपुर–३ बाट प्रतिनिधिसभा चुनाव जितेका थिए। साविक मकवानपुर क्षेत्र नम्बर १ मा २०७० सालको संविधानसभा चुनावमा नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका थिए। निर्वाचन क्षेत्र निर्धारण गर्दा साविकको १ मा केही क्षेत्र थपिएका छन्।

२०६४ सालको संविधानसभा चुनावमा भने मकवानपुर–३ बाट चुनाव लडेका थापाको धरौटी जफत भएको थियो। माओवादीका प्रह्लाद लामिछाने १८ हजार ५ सय १४ मत पाएर विजयी हुँदा थापाले ३ हजार ८ सय ५३ मत प्राप्त गरेका थिए।

पटक–पटक सरकारमा सहभागी भएर जिल्लाको विकासका लागि बजेट छुट्टाएकाले चुनाव जित्नेमा थापा विश्वस्त छन्। राप्रपासँग चुनावी तालमेलको तयारी गरेको कांग्रेसले मकवानपुर–१ छाड्न राजी भएको बुझिएको छ।

२०४६ सालको राजनीतिक परिवर्तनबाट ‘प्रतिगामी’को आरोप लागेका थापाको राजनीतिक आरोह–अवरोह अस्थिर बन्दै गएको छ। २०४६ सालको आन्दोलनलाई दबाउन विशेष भूमिका खेलेका थापाले यसबीचमा पटक–पटक मन्त्री हुने अवसर पाएका छन्। मुलुकको तरल राजनीतिक अवस्थाको भरपुर फाइदा उठाउन सक्ने शिल्पकारी खेलाडीको पहिचान बनाएका उपप्रधान⁄ऊर्जा मन्त्री थापाले नेपाली कांग्रेसको सरकारमा सामेल भएर चुनावी तालमेल मिलाएका छन्। उपप्रधानमन्त्री थापाले आफ्नो व्यक्तिगत स्वार्थका लागि इमान्दार कार्यकर्तालाई पाखा लगाएर पार्टीलाई पारिवारीकरण गरेको भन्दै मकवानपुरमा उनको उपस्थिति त्यति बलशाली नहुने विश्लेषण गरिएको हो। यद्यपि, नेपाली कांग्रेससँगको सहकार्यमा निर्वाचनमा विजय हासिल गर्न सकिने कुरामा थापा ढुक्क देखिएका छन्।

यस्तो अवस्थामा मकवानपुरमा उपप्रधानमन्त्री थापाले चुनावी तालमेल मिलाइरहँदा नेकपा एमाले र माओवादी केन्द्रको उपस्थिति प्रभावशाली हुने अनुमान गरिएको छ। पार्टी तहमा एकीकरण गर्ने उद्घोषका साथ चुनावी तालमेल गरेका वामपन्थी शक्तिहरूले जनस्तरमा स्थापित व्यक्तित्वलाई उम्मेदवार चयन गरे थापालाई विजयी हुन गाह्रो हुने विश्लेषण गरिएको छ।

थापा पूर्वगृहमन्त्री र परराष्ट्रमन्त्री पनि हुन्। साथै उनी टेबलटेनिसका कुशल खेलाडी र नेपाली फुटबल टिमका पूर्वकप्तान हुन्। उनले अखिल नेपाल फुटबल संघको अध्यक्ष पद २६ वर्ष उमेरमा सम्हालेका थिए। थापा राजा ज्ञानेन्द्रको पालामा श्री ५ को सरकारकातर्फबाट गृहमन्त्री थिए। उनलाई कुशल राजनीतिक खेलाडी मानिन्छ। उनी हालसम्म पनि राजतन्त्रको वकालत गर्दछन्। उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। कमल थापा समकालीन पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीभन्दा पनि जुनियर हुँदै राप्रपामा स्थापित भएका नेता हुन्। पहिले एउटै राप्रपामा भएर पनि उनले पछि राप्रपा नेपाल पार्टी बनाए।

 

देशमा गणतन्त्रको उभार आइसक्दा पनि थापाले राजतन्त्रको कुरा छाडेनन्। देशमा ९४ प्रतिशत हिन्दु भएको दाबी गर्दै थापाले नेपाललाई सनातन हिन्दुराष्ट्र नेपाललाई अभियान बनाए। यही अभियानले थापाको पार्टीले दोस्रो संविधानसभामा पार्टीलाई चौथो शक्ति बनाए। पार्टीलाई जब चौथो शक्ति बनाए, तब उनको चर्चा चुलियो।

प्रतिक्रिया दिनुहोस्