अनियमितताको पराकाष्ठा, भ्वाङ परेको पुल हस्तान्तरण गरेको चार वर्षसम्म पनि सबै मौन



 

हिक्मत नेपाली, दैलेख
दैलेखको पादुका खोलामा निर्माण गरिएको पुल निर्माण सम्पन्न भएकै वर्षदेखि भ्वाङ परेको भए पनि यसबारेमा सम्बन्धित निकाय सबै मौन छन्। । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दैलेखको पादुका खोला पुलमा निर्माण सम्पन्न भएकै वर्षदेखि भ्वाङ परेको हो।

पुल २०७१ मा निर्माण सम्पन्न भएको हो। पुलमा परेको भ्वाङ मर्मत–सुधार नगरेरै ठेकेदारले आयोजनालाई पुल हस्तान्तरण गरेको थियो। महालक्ष्मी, जयदेवी र एसएस जेभीले ०६८ देखि निर्माण कार्य शुरू गरेको ३ वर्षपछि ०७१ भदौमा आयोजनालाई पुल हस्तान्तरण गरेको थियो। पुल निर्माण सम्पन्न भई हस्तान्तरण गर्ने क्रममा पुलको दायाँ–बायाँ भ्वाङ परेका कारण यातायात सञ्चालन हुन नसकेपछि त्यतिबेलै स्थानीयबासीले विरोध जनाएका थिए।
दैलेखका तत्कालीन प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको संयोजकत्वमा रहेको जिल्ला सुशासन, अनुगमन तथा सुपरीवेक्षण समितिसमक्ष स्थानीयले बारम्बार गुनासो गरेका थिए। स्थानीय समुदायको गुनासाको आधारमा व्यवस्थापिका संसद्को सुशासन समितिका सदस्य एवं दैलेख–१ का निवर्तमान सांसद अम्मरबहादुर थापासहितको टोलीले स्थलगत अनुगमन गरेको थियो। स्थलगत अनुगमन गरी पुल निर्माणका देखिएका त्रुटि सच्याउन निर्देशनसमेत दिएको थियो। समितिले दिएको निर्देशनसमेत आयोजना र निर्माण कम्पनीले पालना गरेका छैनन्।

‘भ्वाङ परेकै अवस्थामा पुल हस्तान्तरण गरियो’, –स्थानीय मदन विकले भने– ‘ठेकेदार स्थानीय भएकाले कसैले चर्को विरोध गर्न सकेनन्। मध्य पहाडी लोकमार्ग आयोजनाका इन्जिनियरहरूले पनि वास्तै गरेनन्।’ त्यस क्षेत्रका बासिन्दाले निर्माण कम्पनीका प्रतिनिधि दिक्पाल शाही र आयोजनाका प्राविधिककै मिलेमतोमा गुणस्तरहीन पुल निर्माण भएको आरोप लगाए। दैलेख बजार–वडालम्जी–पादुका हुँदै पश्चिम जम्बुकाँध जोड्ने यो पुल पादुका खोलामा पर्छ। तीन वर्षदेखि उक्त पुल दयनीय अवस्थामा छ। यसले यातायात सञ्चालन प्रभावित भएको छ।

पुलमा ठूला–ठूला भ्वाङका कारण यात्रुहरूलाई मोटरसाइकलसमेत ओहोर–दोहोर गर्न कठिनाइ भोग्नु परेको छ। गुणस्तरहीन निर्माण सामग्री प्रयोगका कारण भ्वाङ परेको, पर्खाल भत्केको स्थानीले आरोप लगाएका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले समेत मध्यपहाडी आयोजना र ठेकेदारलाई पुल सुधार गर्न दबाब दिन नसकेको आरोप छ। ठेकेदार स्थानीय भएकै कारण सबै डराएको अर्का स्थानीय महेन्द्र शाहीले बताए। दुल्लु नगरपालिका दैलेखका प्रमुख घनश्याम भण्डारीले मध्यपहाडी लोकमार्ग आयोजनाको स्थानीय स्तरमा अनुगमन संयन्त्र नहुँदा निर्माण गुणस्तरहीन भएको स्वीकार गरे। फिल्ड कार्यालय नहुँदा ठेकेदारहरूबाट लापरबाही हुने गरेको उनको भनाइ छ।

आयोजनाको पश्चिमखण्ड कार्यालय तुल्सीपुर दाङमा छ। ठेकेदार दिक्पाल शाहीले प्राविधिक इस्टिमेट नै गलत हुँदा पुलमा भ्वाङ परेको बताए। तत्कालीन इन्जिनियर शेखर योगीले त्रुटिपूर्ण डिजाइन गरेको बताइएको छ। उक्त खण्डमा हाल कार्यरत इन्जिनियर तुलाराम शर्माले नालाहरूको मर्मत नहुँदा पानीको भार थेग्न नसकेर पुलमा असर पर्न गएको बताए। उनले अघिल्ला प्राविधिकहरूबाट गल्ती भएको स्वीकार्दै आफूले सुधारका लागि आयोजनाको कार्यालयमा प्रक्रिया अघि बढाएको बताए। उक्त पुल कुल २ करोड १९ लाख ८६ हजार ६७ रुपियाँ लागतमा निर्माण भएको हो। पुल निर्माण भएकै वर्षदेखि पुलमा भ्वाङ पर्दा अहिले प्रयोगविहीन जस्तै बनेको छ। स्थानीयबासीले पटक–पटक विरोध गरेको भए पनि निर्माण कम्पनी र ठेकेदार मौन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्