कलाक्षेत्रले गुमाएका कलाकर्मीहरू



रश्मी थापा

हालै मात्र बिदा लिएको वर्ष २०७३ ले केही विषयमा दुःखद पनि सावित भएको छ । नेपाली कला क्षेत्रमा भएका विभिन्न घटना र विवाद यो क्षेत्रका लागि वर्ष २०७३ दुःखद रहन पुग्यो । वर्ष ०७३ मा नेपाली कलाक्षेत्रले गुमाएका कलाकाहरूको सम्झनाः

– गत वर्षको शुरूआतमै क्याराभान नामक फिल्मबाट नेपाली हिरोको रूपमा विश्वमा चिनिएका थिल्ने डोन्लुप लामाको निधन भयो । गत वैशाख १४ गते डोल्पाको सदरमुकाम दुनैबाट आफ्नो पुख्र्यौली घर फर्किने क्रममा उनी सवार घोडालाई विपरीत दिशातर्फबाट आइरहेको खच्चरले धक्का दिएपछि घोडासँगै लडेका उनी कहिल्यै नउठ्ने गरी बिदा भए । उनी सन् १९९९ मा फिल्म क्याराभानमा खेलेसँगै नेपाली फिल्मको हिरोका रूपमा स्थापित भएका थिए । दुनै साल्वाङको नुन र खाद्यान्न ओसारपसार गर्ने चौंरीको संघर्षपूर्ण कथामा आधारित क्याराभान ७२औं संस्करणको ओस्कार एकेडेमी अवार्डमा बेस्ट फरेन फिल्मको उत्कृष्ट ५ को मनोनयनमा परेपछि थिन्लेको चर्चा ह्वात्तै बढेको थियो । आफ्नो ख्यातिलाई माथिल्लो डोल्पाको विकास र समृद्धिका लागि उपयोग गर्दै आएका थिन्ले कर्णाली क्षेत्रकै सामाजिक अभियान्तासमेत थिए । क्याराभानपछि इकु ब्याक अगेन र गायक अमृत गुरुङको म्युजिक भिडीयो सा.. कर्णालीमा अभिनय गरेका उनले दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए ।
– वर्ष २०७३ मै दुई वर्ष अघिदेखि ब्रेन ट्युमरका उपचार गराइरहेका पत्रकार तथा गीतकार सूर्यकुमार क्षत्रीको निधन भयो । उनको वैशाख १६ गते माइतीघरस्थित राति अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममै मृत्यु भएको थियो । शिक्षा पत्रकार सञ्जाल (इजोन) का कार्यसमिति सदस्य रहेका उनी प्रेस युनियनका सचिवसमेत थिए । उनी २०७१ साल मंसिरदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका थिए । २०५५ सालदेखि पत्रकारिता गरेका उनले उज्यालो नाइन्टी नेटवर्कको लागि काम गर्दै आएका थिए भने कामनाको सहप्रकाशन नेपाल समाचारपत्रको पाल्पा पूर्वसंवाददातासमेत रहेका थिए । २०६० को आसपासमा उनी शब्द रचनामा नेपालका अब्बल गीतकारका रूपमा रहेका थिए । औँठी चिनो छ, धोका दिनेलाई के भनौ र खै, धानको सिरौलाजस्ता लोक तथा तिम्ले माया सधैंसंधैंजस्ता चर्चित आधुनिक गीत उनले रचना गरेका थिए ।
– गत जेठ २५ गते ख्यातिप्राप्त गीतकार संगीतकार तथा गायक अम्बर गुरुङलाई राष्ट्रले गुमायो । ७९ वर्षको उमेरमा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा अन्तिम सास फेरेका उनी विभिन्न रोगले ग्रसित थिए । दार्जिलिङमा जन्मिएका उनी बाल्यकालदेखि नै गीतसंगीतमा लागेका थिए । उनको प्रतिभाको कदर गर्दै राजा महेन्द्रले उनलाई नेपाल बोलाएका थिए । गणतन्त्र बहालीपछि नयाँ राष्ट्रिय गीतका संगीतकार रहेका उनलाई अन्त्येष्टिका क्रममा नेपाली सेना र नेपाल प्रहरीको ब्यान्डको संयुक्त टोलीले सलामी चढाएर राष्ट्रिय सम्मानका साथ बिदाइ गरेको थियो ।
– गत ०७३ जेठ २१ गते चित्र कलाकार चिरन खड्काको उपचारका क्रममा चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भयो । निमोनियाको संक्रमणपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । गंजरा–४ अछाममा जन्मिएका उनले सन् १९८० मा मुम्बईको जेजे स्कुल अफ आर्टबाट चित्रकलामा स्नातक गरेका थिए ।
– गत साउन २५ गते निजी क्षेत्रको पहिलो फिल्म माइतीघर निर्देशन गरी थापाथलीस्थित हालको माइतीघरको नामकरण गराउने ख्यातिप्राप्त निर्देशक बीएस थापाको ९३ वर्षको उमेरमा निधन भयो । उनको भारतको बर्सोपा रोड अधेरीस्थित निवासमा निधन भएको थियो । पत्नीको निधनपछि एक्लै बस्दै आएका उनी आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए। २०३३ सालमा माइतीघर फिल्म निर्देशन गरेका उनको पहिलो फिल्म नै हिट भएको थियो । उनले निर्देशन गरेका कान्छी र मायाप्रीति पनि हिट भएका थिए । उनी यसभन्दा अघि पनि बलिउडमा स्थापित थिए । उनी बलिउड हस्ति सुनील दत्तको अजन्ता आर्ट्समा रहेर निर्देशन क्षेत्रमा सक्रिय थिए । त्यस जमानाको सुपरहिट बलिउड फिल्म रेश्मा और शेरामा सुनील दत्तसँग एसोसियट निर्देशक भएर काम गरेका थिए ।
– भदौ ६ गते निर्माता, फोटोग्राफर तथा फोटो कन्सर्नका अध्यक्ष डीबी (डम्बरबहादुर) थापाको निधन भयो । मायाप्रीति, सिनेमास्कोप फिल्म माइली तथा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकाको संयुक्त लगानी रहेको जीवनज्योति जस्ता फिल्मको निर्माता थापाको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
– सदाबहार लोक शैलीको गीत वारि जमुना पारि जमुनाका लोकप्रिय गायक खेमराज गुरुङको पनि अल्पायुमै भदौ ९ गते निधन भयो । जन्डिस बिग्रिएपछि अस्पताल भर्ना भएका उनको थप उपचारका लागि परिवारले दिल्ली लैजाने तयारी गरिरहेका बेला चावहिलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । उनी लिभर सिरोसिसबाट ग्रसित थिए । २०५४ सालमा जीवन नामक एल्बम ल्याएका उनले पछि जीवन २ नामक एल्बम पनि ल्याएका थिए । गीतसंगीतमा अगाडि बढ्ने क्रममा धरान पोखरा, सोल्टी, मेरो ढंगै पुगेन, आलु तामा, ढाक्रे, घुमफिर नामक एल्बमका गीतबाट उनले लोकप्रियता हासिल गरेका थिए ।
– भदौ २२ गते ख्यातिप्राप्त तबलावादक पण्डित होमनाथ उपाध्यायको निधन भयो । कलेजोको क्यान्सरबाट पीडित उनको चावहिलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।
– लोकप्रिय गायक सुनील वर्देवाले पनि गत वर्ष अल्पायुमै संसार छोडे । जन्डिसको समस्याबाट ग्रसित उनको उपचारका क्रममा महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । २०२८ सालमा महाराजगन्जमा जन्मिएका उनी गोरेटो अनि उस्तै छ गल्ली बोलको गीतबाट चर्चामा आएका थिए । उनी कुशल गायक, गीतकार एरेन्जर र गितारिस्ट पनि थिए ।
– कात्तिक १७ गते हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला बोलको कालजयी गीतका गायक तथा संगीतकार डीबी महेश पाल्पाली (दौलतविक्रम शाह) को ८३ वर्षको उमेरमा निधन भयो। २० र ३० को दशकमा लोकप्रिय रहेका पाल्पालीको बुटवलस्थित निवासमा निधन भएको हो । उनको जल्यो जल्यो तन जल्यो, आउँदिन म जाँदै छु, माया फिर्ता लिँदै छुजस्ता गीतहरू चर्चित छन् ।
– गत मंसिर १० गते गायक रुवि जोशीको उपचारका क्रममा निधन भयो । पुल्चोकस्थित निदान अस्पतालमा मृगौला उपचारका लागि डाइलोसिस गर्दै गरेका अवस्थामा उनले संसार छोडेका थिए । उनको कान्छी मट्याङ ट्याङ, शितलुमाथि नै शितलु छायो नि, तिम्रो पनि माया लाग्छजस्ता गीत चर्चित छन् ।
– लोकप्रिय हास्य टेलिसिरियल तीतो सत्यमा लाजालामको भूमिकाबाट चर्चा कमाएका गायक तथा हास्य कलाकार आरपी भट्टराईको पनि गत मंसिर २३ मा असामयिक निधन भयो । विराटनगरस्थित घर गएका उनी फुपूको घरमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए। उनी उच्च रक्तचाप, मधुमेहजस्ता रोगबाट गुज्रिरहेका थिए ।
– पुस ७ गते दृष्टिविहीन लोक गायक तथा संगीतकार मधुबाबु थापाको काठमाडौंको अनामनगरस्थित निवासको बाथरुममा लडेर बेहोस भएपछि उपचारका क्रममा निधन भयो । रेडियो नेपालका जागिरे उनले दर्जनौं लोकगीत, भजन तथा आधुनिक गीतहरूमा स्वर तथा संगीत दिएका छन् । २०१० सालमा दाङमा जन्मिएका उनले चन्द्रकला शाहसँग गाएको मोहनी लगायौ कि जन्तर गरेर कपाल कोरेर बोलको गीत लोकप्रिय थियो । जुन थारु भाषाबाट नेपालीमा उल्था गरेर नेपालीमा गाइएको थियो। थारु भाषाका गीतलाई नेपालीमा उल्था गरेर गाएका गीतमध्ये घोराही बजारमा बोलको गीत लोकप्रिय थियो ।
– १९९४ साल भदौमा भक्तपुरमा जन्मिएका रंगकर्मी विष्णुभक्त फुयाँलको गत जेठ १९ गते निधन भयो । जीवनको अन्तिम अवस्थासम्म पनि उनी रंगमञ्चमा थिए । नाचघरमा मञ्चित नाटक महर्षि याज्ञवल्क्यमा अभिनय गर्दागर्दै उनको निधन भएको थियो ।
– फिल्म छक्कापञ्जा पाइरेसीका आरोपितमध्येका एक कृष्ण सुवेदीले आत्महत्या गरे । २५ वर्षीय उनले आफ्नो डेराको फ्यानमा गलबन्दीले पासो लगाएर आत्महत्या गरेका थिए ।
– माघ १ गते ३० वर्षीय र्यापर यम बुद्ध अनिलले बेलायतको लन्डनमा आत्महत्या गरे । मोरङ अस्थायी घर भएका उनी आफैंले लगाएको बेल्टले घाँटीमा कसेर बाथरुममा झुन्डिएका थिए। उनको साथी म आउँदै छु, मेरो जुत्तामा, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरूआत, नाचन, आमालगायत दर्जनौं गीत चर्चित छन् ।
– माघ १२ गते ८६ वर्षको उमेरमा गायक तथा संगीतकार पन्नाकाजी शाक्यले पनि संसारबाट बिदा लिए । तिरिरी मुरली बज्यो वनैमा, पुरानो मेलोडीको किन किन तिम्रो तस्वीर मलाई प्यारो लाग्छ, लोलाएका ती तिम्रा नयनजस्ता सदाबहार कालजयी गीतका मूर्धन्य गायक तथा संगीतकार उनी अभिनयमा पनि त्यत्तिकै दख्खल राख्थे ।
– ख्यातिप्राप्त कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको उपचारका क्रममा माघ १६ गतेको दिन निधन भयो । क्यान्सरबाट ग्रस्त उनको भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो । नेपाल भाषाको मौलिक विधा ख्यालका प्रणेता मानिने उनले गाईजात्राममा देखाइने ख्याललाई डबलीदेखि प्रज्ञा भवनको हलसम्म पुर्याएका थिए । उनले नेपाल भाषाको १२ बजेलगायतका विभिन्न टेलिफिल्मको लेखन तथा निर्देशन गरेका थिए । उनलाई नेपाल भाषाका जीवन्त अभिनेताका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्