रेखा र आर्यनको मिलन



 

खै कति वर्षमा खोला पनि फर्केर आउँछ भन्ने भनाइमा तपाईं कत्तिको सहमत हुनुहुन्छ कुन्नि, यो हुइयाँ भने पूर्णतया सहमत छ । कम्तीमा नायिका रेखा थापा र नायक आर्यन सिग्देलबीच विकसित पछिल्लो सम्बन्धलाई हेरेर पनि हुइयाँ माथिको भनाइमा पूर्ण सहमत भएको हो । उनीहरूको बिग्रिएको सम्बन्ध सप्रिन १२ वर्ष पनि लागेन ।

सबैलाई थाहा भएकै कुरा हो, आर्यन टेलिफिल्मबाट फिल्मको हिरो भएपछि रेखा र उनी कति नजिक थिए । फिल्ममा देखिने उनीहरूको केमेस्ट्री देखेर आकाशबाट मुना र मदन त ईष्र्या गर्थे भने जाबो यो हुइयाँ के हो र ? नायिका रेखा थापा निर्माता छवि ओझासँग लिभिङ टुगेदरको रिलेसनमा हुँदा छविले नै आर्यनलाई आफ्नो फिल्म किस्मतबाट हिरो बनाएका थिए भने घरभित्रैबाट रेखालाई उनको जोडी बनाएका थिए । यी दुई जोडी बनेर पर्दामा आउँदा हुइयाँ त्यति नै धेरै खुसी थियो, जति उनीहरूबीचको सम्बन्ध बिग्रेर कहिल्यै फेरि सँगै फिल्ममा नदेखिने भएका थिए । सँगै जोडी बनेर किस्मतमा देखिएपछि रेखा र आर्यन दुवैको किस्मत चम्कियो । तर उनीहरूबीच साथसाथको फिल्मी यात्रा सँगै अगाडि बढ्न सक्यो ।

कुन पापीको आँखा लाग्यो कुन्नि दुईबीच एकाएक पानी बाराबारको सम्बन्ध हुन पुग्दा हुइयाँ सार्है दुःखी भएको थियो । अहिले रेखा रुद्रप्रिया बनाइरहेकी छिन् । वर्षौंपछि आएर हुइयाँको यी प्यारी हिरोइन रेखाले यो फिल्ममा आर्यनलाई आफ्नो हिरो बनाएकी छिन् । दुवै जना मिलेर काम गरिरहेका छन् । चाहे हुइयाँजस्तै अदृश्य निर्माताकै दबाबमा होस् या बनिरहेको करियर बचाउने उद्देश्यले नै किन नहोस्, यी दुईको फिल्मी मिलनका कारण हुइयाँको निद्रा फेरि फर्केको छ ।

प्रतिक्रिया दिनुहोस्