कुन समाचार पहिले पढ्नुहुन्छ ?



 

शीर्षक हेरेर हुन्छः
हरिवंश आचार्य (हास्यव्यंग्य अभिनेता)

म सबैभन्दा पहिला त पहिलो पेजदेखिकै सबै पेजको हेडिङ सर्रर्र हेर्छु । विषय जुनसुकै होस्, तर समाचारको शीर्षकले आकर्षित गर्यो भने पहिला त्यही समाचार पढ्छु । त्यसपछि मात्र अरू समाचारतिर ध्यान जान्छ । तर शीर्षकले तानेन भने त्यो समाचार पढिँदैन ।


पहिले फ्रन्ट पेजः
इन्दिरा जोशी (गायिका)
उम्म …., म त पहिले फ्रन्ट पेजमा केके समाचार आएको छ भनेर त्यही नै पहिले पढ्छु । सबै समाचारको टाइटलहरू सर्रर्र हेर्छु । टाइटलले छोयो, आकर्षित गर्यो भने त्यो समाचार पूरै पढ्छु । त्यसपछि चाहिँ इन्टरटेन्मेन्ट न्युज अलि ध्यान दिएर पढ्छु । इन्टरटेनमेन्ट मेरो फिल्ड भएकाले पनि यससम्बन्धी न्युजहरू अलि बढी ध्यान दिएर पढ्छु ।


गीतसंगीतको समाचार पढ्छुः
आनन्द कार्की (गायक)

म गायक भएको नाताले सबैभन्दा पहिले त गीतसंगीतसम्बन्धी समाचार नै पढ्छु । गीतसंगीत नै मेरो जीवन हो । त्यसैले पत्रपत्रिका पढ्दा पनि पहिलो ध्यानचाहिँ त्यससँग सम्बन्धित समाचार र लेखमा नै जान्छ । त्यसपछि भने राजनीतिक समाचार पढ्छु । देशमा भइरहेका राजनीतिक घटनाबारे चासो लाग्ने हुनाले राजनीतिक समाचार पढ्छु । देशमा के भइरहेको छ भन्ने सबैले जानी राख्नुपर्छ ।


म त राशिफल हेर्छुः
बेनिशा हमाल (अभिनेत्री)
म त सबैभन्दा पहिले राशिफल पढ्छु । राशिफलमा विश्वास नै भएर त होइन, तर पनि पहिलेदेखि नै राशिफल हेर्ने बानी छ । राशिफल कहिले मिल्छ पनि कहिले मिल्दैन पनि । त्यसपछि भने आफू इन्टरटेनमेन्ट फिल्डमा भएकाले इन्टरटेन्मेन्टसम्बन्धी न्युज पढ्छु । यसले आफ्नो क्षेत्रमा के भइरहेको छ भन्ने आफूलाई थाहा नभएका विषयहरूबारे पनि थाहा हुन्छ ।

विचार पढ्छुः
दीपेन्द्र के खनाल (निर्देशक)

म सबैभन्दा पहिले सेकेन्ड र थर्ड पेजमा आउने लेख तथा विचारहरू पढ्छु । लेख र विचार पढ्दा धेरै कुरा जानिन्छ । कुन कुन विषयमा कस्तो बहस चलिरहेको छ र तर्कसंगत छ या छैन भन्ने त्यसले जनाउँछ । त्यसपछि मात्र अन्य समाचार पढ्छु ।

अन्तिम पाना पहिले पढ्छुः
जितु नेपाल (हास्य अभिनेता)

म त सबैभन्दा पहिले कला र कलाकारसँग सम्बन्धित समाचार नै हेर्छु । मेरो पत्रिका पढ्ने शैली अर्कै छ । म पत्रिका पढ्ने बेला कहिल्यै पनि पहिलो पेजबाट पढ्दिनँ । अन्तिम पेजदेखि पढ्ने गर्छु । धेरैजसो पत्रिकामा कलासम्बन्धी समाचार पछिल्लो पेजमा हुने भएकाले पनि यसो गरेको हो । कलासम्बन्धी समाचार पढिसकेपछि बल्ल राजनीतिक समाचार र लेखहरू बढी हेर्छु । त्यसले हाम्रो हास्यव्यंग्यका लागि विषय दिन्छ ।

पेज थ्री पहिलाः
विल्सनविक्रम राई (हास्य अभिनेता)

म पत्रिका पढ्दा आफ्नो जुन विषय हो, त्यही नै पहिले पढ्छु । अर्थात् म पेज थ्री पढ्छु । किनभने यसमा कलासम्बन्धी समाचारहरू हुन्छन् । कलाकारको विषय कला नै भएकाले पनि पहिले कला र कलाकारसँग सम्बन्धित समाचार र लेखले आकर्षित गर्छ । त्यसपछि स्पोर्टसमा पनि रुचि भएकाले यसका बारे जानकारी लिन स्र्पोर्टस समाचार हेर्छु ।

आफ्नै विषयको समाचार प्यारो लाग्छः
राजेशपायल राई (गायक)

सबैभन्दा पहिले म कला र गीतसंगीतको समाचार हेर्छु । किनभने म पनि यही क्षेत्रमा छु । आफ्नो क्षेत्रकै समाचार प्यारो लाग्छ । त्यसपछि अन्य समाचार पढ्छु । म प्रायः रेगुलर नै पत्रपत्रिकहरू पढ्ने गर्छु । कहिलेकाहीँ व्यस्तताले गर्दा पनि धेरै कुरा थाहा हुँदैनन् । त्यसैले आफू अपडेट रहनका लागि पनि संगीतसम्बन्धी समाचारहरू विशेष गरी महत्व दिएर पढ्ने गर्छु ।

पहिले संगीतको समाचारः मेलिना राई (गायिका)

मैले सबैभन्दा पहिले पढ्ने न्युज भनेको म्युजिकसम्बन्धी नै हो । आफू पनि यही क्षेत्रमा भएको कारणले गर्दा होला बानी नै गीतसंगीतका बारेमा लेखिएको समाचार बढी पढ्ने छ । गीतसंगीत क्षेत्रमा भएकाले होला योसम्बन्धी समाचार प्रकाशित भएको पाउँदा खुसी लाग्छ । संगीतसम्बन्धी समाचारहरू पढेपछि अरू कुनै इन्स्ट्रेस्टिङ न्युज रहेछ भने त्यो पढ्छु ।

अन्तिमबाट पढ्छुः
हेमन्त शर्मा (गायक)

पहिलो पेज त जसरी पनि देखी नै हालिन्छ । त्यसैले म सबैभन्दा पहिला पछाडिको पेजबाट समाचार पढ्ने गर्छु । पछिल्लो पेजमा खेल समाचार हुने र मलाई मन पर्ने विषय पनि खेलकुद भएकाले पछाडिबाट पढ्ने गरेको हो । त्यसपछि रंगमञ्च, संगीत र मनोरञ्जनसम्बन्धी समाचार पढ्छु । त्यसपछि लेख र विचार पढ्छु ।

पहिलो पेज नै पहिलेः

प्रल्हाद तिमल्सिना (गायक)

म सबैभन्दा पहिले त पहिलो पृष्ठकै समाचार पढ्छु । पहिलो पृष्ठमा देशमा भएका नयाँ नयाँ घटनासम्बन्धी समाचार हुने भएकाले पहिलो प्राथमिकता त्यो पेजमा गएको हो । राजनीतिक विषयको समाचार पढेपछि मात्र अरू विषयको समाचार पढ्छु ।

आफ्नै क्षेत्र पढिन्छः
भुवन केसी (अभिनेता तथा निर्देशक)

म त पहिले इन्टरटेन्मेन्टकै न्युज हेर्छु नि । मानिसले आफ्नो जुन क्षेत्र हो त्यही क्षेत्रको समाचार पहिले हेर्छ नि, हैन र ? जस्तै खेलाडी भए खेल समाचार पहिले हेर्ला, नेता भए राजनीतिसम्बन्धी समाचार हेर्ला, अनि कसैलाई जागिर चाहिएको भए वर्गीकृत विज्ञापन हेर्ला । म मात्र होइन, हिजोआज प्रायः मानिसहरूले मनोरञ्जन र खेलकुदको समाचार बढी पढ्छन् जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्