पुनर्निर्माण प्रधिकरणमा नयाँ सीईओ नियुक्त



 

काठमाडौं, (नेस)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्वसचिव युवराज भुसाल नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्राधिकरणका सीईओ प्राडा गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गर्दै भुसाललाई नयाँ सीईओमा नियुक्त गरेको हो।

तीन दशकभन्दा बढी निजामती सेवामा रहनु भएका भुसाल अर्थसचिवबाट अवकाश पाउनु भएको थियो।

भुसाललाई विशेष गरी वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रिकरण, लैंगिक मामला, विकास योजना र गरिबी निवारणको क्षेत्रमा विशेष दख्खल भएका व्यक्ति मानिनुहुन्छ। भुसालसँग अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरिसक्नुभएको अनुभव छ।

पुनर्निर्माण प्राधिकरणमा कार्यकारी नियुक्ति योसहित चौंथोपटक भएको हो। प्राधिकरणको सीईओमा यसअघि सुशील ज्ञवालीले एक तथा गोविन्द पोखरेलले दुई कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। प पोखरेलले प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस भएलगत्तै राजीनामा दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस्