नेयमारलाई रातो कार्ड



 

पेरिस, (एजेन्सी)
फ्रेन्च लिग वानको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) का चर्चित ब्राजिलियन खेलाडी नेयमारले रातो कार्ड आत्मसात गरेका छन्।

आइतबार मार्सेविरुद्ध भएको खेलमा रातो कार्ड पाएर ८७औं मिनेटमा नेयमारले मैदान छाड्नुपर्यो। लुकास ओकाम्पोसलाई धकेल्दा रेफ्रीकै अगाडि ओकाम्पोस लडेका थिए। त्यसपछि रेफ्रीले दुवै खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए। त्यसको केही समयअगाडि पहिलो पहेंलो कार्ड पाइसकेकाले नेयमार दोस्रो पहेंलो कार्डको सिकार बन्दै मैदानबाट बाहिरिनुपरेको थियो।

नेयमारले एक गोल गरेको उक्त संघर्षपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो। खेलको १६औं मिनेटमा लुइज गुस्ताभोले ३० यार्डको दूरीबाट गोल गर्दै मार्सेलाई शुरुआती अग्रता दिलाएका थिए। तर ३३औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए। दोस्रो हाफमा घरेलु टोली मार्से पुनः अग्रता लिन सफल भयो।

डिमिट्री पायेटको पासमा परिवर्तित खेलाडी फ्लोरियन थभिनले गोल गर्दै मार्सेलाई खेलमा अगाडि पुर्याएका थिए। तर खेलको अन्तिममा भने पीएसजीका लागि यस सिजनका सर्वाधिक गोलकर्ता एडिन्सन काभानी नायक बने। डि–एरियाको नजिकै पाएको फ्रि–किकलाई काभानीले सुन्दर गोल गर्दै खेललाई बराबरीमा टुंग्याए।

प्रतिक्रिया दिनुहोस्