करातेलाई सम्झना लेबोरेटरीको साथ



 

काठमाडौं, (नेस)
काठमाडौंमा आयोजना हुने ५०औं राष्ट्रिय कराते प्रतियोगितामा ललितपुरको मंगलबजारस्थित सम्झना लेबोरेटरीले मुख्य प्रायोजन गर्ने भएको छ। मुख्य प्रायोजन सम्बन्धी सम्झौतापत्रमा कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेबोरेटरीका अध्यक्ष उर्दिप जोशीले सोमबार हस्ताक्षर गरेका हुन्। यो सम्झौतासँगै राष्ट्रिय कराते प्रतियोगिताको नाम ‘सम्झना ल्याब ५०औं राष्ट्रिय कराते प्रतियोगिता’ रहनेछ।

दरबारमार्गस्थित रोयल सिंगी होटलमा भएको सम्झौताअनुसार करातेलाई सम्झना लेबोरेटरीले करिब १५ लाख बराबर आर्थिक तथा भौतिक सहयोग गर्ने जनाइयो। जसमा ८ लाख ५० हजार नगद (करबाहेक), खेल सामग्री र अन्य सहयोग रहेका छन्।

सम्झौतापत्रका अनुसार ल्याबले प्रतियोगिताका दौरान उपचार टोली र आकस्मिक सेवाका लागि एम्बुलेन्स व्यवस्था गर्ने, राष्ट्रिय प्रतियोगिताबाट छनोट भएका २३ खेलाडीलाई १८औं एसियाली खेलकुदसम्म निःशुल्क ल्याब टेस्टको सुविधा प्रधान गर्ने र एसियाड खेलसम्म ती खेलाडीलाई दुई सेट खेल सामग्री उपलब्ध गराउने र त्यसबापत सम्झना लेबोरेटरीको सक्दो प्रचार प्रसार गर्ने रहेको छ।

आगामी वर्ष इन्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद तथा नेपालमा नै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै आयोजना गर्न लागिएको राष्ट्रिय प्रतियोगितामा महिलाका ७ तौल र पुरुषका ८ तौल समूह तथा दुवैतर्फ एकल र टिम कातामा प्रतिस्पर्धा गराइनेछ। यसअघि जानकारी गाराइएभन्दा बढी महिलातर्फ ४० र पुरुषतर्फ ४५ केजीलाई समावेश गरिएको समेत प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी गराए। जसमा ५ विकास क्षेत्र र ३ विभागीय टोलीका १ सय ८४ खेलाडीहरूले २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। २९ लाखको अनुमानित लागत रहेको प्रतियोगिताको डिस होम प्रालिले प्रत्यक्ष प्रसारण गर्ने हस्ताक्षर कार्यक्रममा संयोजक श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्