सतर्कता अपनाउन राष्ट्र बैंकको निर्देशन



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वाणिज्य बैंकहरूमा सूचना प्रविधि सुरक्षा सर्तकता अपनाउन निर्देशन दिनुभएको छ। वाणिज्य बैंकमा ह्याकरहरूको बिगबिगी बढेपछि सर्तकता अपनाउन गभर्नर नेपालले सोमबार नेपाल बैंकर्स संघ र वाणिज्य बैंकका आईटी प्रमुखहरूलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो। गभर्नर नेपालले बैंकहरूले आईटीको न्यूनतम मापदण्ड पूरा नगरेकाले विभिन्न घटनाहरू निम्तिएको भन्दै सूचना प्रविधिलाई कसरी बलियो बनाउने भन्नेमा आपसी छलफल गर्न निर्देशन दिनुभएको स्रोतले जानकारी दिएको छ।

नेपालका धेरैजसो वाणिज्य बैंकहरूले सूचना प्रविधिको मापदण्ड पूरा गर्न नसक्दा जोखिम उत्पन्न भएको भन्दै सूचना प्रविधिमा देखिएका त्यस्ता जोखिम न्यूनीकरण गर्न गर्भनरबाट यस्तो निर्देशन आएको स्रोतको भनाइ थियो। एउटा बैंकमा जोखिम देखिने बित्तिकै सबै बैंकलाई समस्याको समाधान गर्ने गरी अघि बढ्न गर्न उहाँले निर्देशन दिनुभएको थियो।

गभर्नर नेपालले नेपाल बैंकर्स संघलाई ‘आईटी सेक्युरिटी इन्फरमेसन डेस्क’ राख्न समेत निर्देशन दिनुभएको छ। गभर्नरको निर्देशनअनुसार गठित आईटी सेक्युरिटी इन्फरमेसन डेस्कमा राष्ट्र बैंकको आईटी विभागका अधिकारीको पनि सहभागिता रहने भएको छ। यसैबीच स्विफ्ट ह्याकबाट पुगेको क्षति र अन्य परीक्षणका लागि राष्ट्र बैंकले भारतबाट फरेन्सिक विज्ञलाई डाकेर निरीक्षणमा खटाएको छ। भारतबाट आउने केपीएमजीको टालीले अध्ययन प्रतिवेदन दिएपछि वास्तविक अवस्था बाहिर आउने बताइएको छ।

केपीएमजी एक प्रोफेसनल सेवा कम्पनी हो। केपीएमजी डेलोइट, अर्नस्ट एन्ड योङ (ईवाई) तथा प्राइस वाटर हाउस कुपर्स (पीडब्लूसी) सँगै संसारकै चार ठूला लेखापरीक्षकमध्ये एक हो। नेदरल्यान्डको एल्स्टेलभिनको केपीएमजीले वित्तीय लेखा परीक्षा, कर, तथा वित्तीय सुरक्षा सम्बन्धी सल्लाह दिने गर्दछ। केपीएमजीको पूर्ण रूप् ‘क्लिबेल्ड पिट मार्विक गोर्डलर’ हो।

प्रतिक्रिया दिनुहोस्