उत्तर कोरियाविरुद्ध कडा हुने आबेको प्रतिबद्धता



टोक्यो, (एजेन्सी)
जापानको मध्यावधि चुनावको हालसम्मको नतिजाले स्पष्ट बहुमत हासिल हुने सम्भावना देखाएपछि प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाविरुद्ध कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
देशमा विद्यमान संकटबीच आफ्नो जनादेश बढाउनका लागि सिन्जो आबेले एक वर्षअगाडि नै चुनाव गराएका हुन्। जापानको ती संकटमा उत्तर कोरियाबाट लगातार बढिरहेको खतरा पनि समावेश छ।
चुनावको प्रारम्भिक नतिजाले उनलाई स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ। जापानको सञ्चार माध्यमले फेरि एक पटक आबेलाई दुई तिहाइ बहुमत हासिल हुने सम्भावना व्यक्त गरेका छन्।

यो जनादेश जापानको शान्तिवादी संविधान संशोधन गर्ने उनको महत्त्वाकांक्षी नीतिका लागि पनि महत्त्वपूर्ण छ। उक्त कानुन सन् १९४७ मा अमेरिकीहरूले बनाइदिएका हुन्। यसमा युद्धलाई पूर्णरूपमा त्याग गरेको उल्लेख छ। जापानले उक्त कानुनको वरपर रहेरै आफ्नो सैन्य गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। उसको सेना रक्षाका लागि मात्र तैनाथ छ। तर सिन्जो आबेले आफू उक्त कानुन परिवर्तन गर्न इच्छुक रहेको प्रस्ट पारिसकेका छन्।

उनले यस कामका लागि बढीभन्दा बढी जनताको समर्थन हासिल गर्न प्रयास गर्ने बताएका थिए। सरकारी ब्रोडकास्टर एनएचकेका अनुसार आबेको लिबरल डेमोक्रइटिक पार्टी (एलडीपी)को नेतृत्व रहेको गठबन्धनले ३ सय १२ सिट हासिल गर्ने सम्भावना व्यक्त गरेको छ।

आबेले भने– ‘मैले चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ, मेरो सबैभन्दा पहिलो काम भनेको उत्तर कोरियासँग कडा रूपमा प्रस्तुत हुने हो। यसका लागि बलियो कूटनीति आवश्यक छ।’

उत्तर कोरियाले हालैका महिनामा जापानको उत्तरी द्विप होक्काइदोमाथि क्षेप्यास्त्र प्रहार गरिसकेको छ। चुनावमा प्राप्त यो सफलताले एलडीपीका नेताका रूपमा सिन्जो आबे आगामी तीन वर्षका लागि पुनः चुनिने सम्भावना बढाएको छ। यसको चुनाव आगामी वर्ष सेप्टेम्बरमा हुनेछ।

ती चुनावमा जित हासिल गरेपछि आबे जापानमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्री बन्नेछन्। उनी सन् २०१२ मा प्रधानमन्त्रीमा चुनिएका थिए।

प्रतिक्रिया दिनुहोस्