अर्जेन्टिनामा मध्यावधि चुनाव सत्तारूढको पक्षमा



 

ब्युनसआयर्स, (एजेन्सी)
अर्जेन्टिनाको सत्तारूढ मध्यमार्गी दक्षिणपन्थी गठबन्धनले कंग्रेसको मध्यावधि चुनावमा अत्यधिक बहुमतसहित विजय हासिल गरेको छ। आफ्नो बजारमुखी सुधार कार्यक्रम पूरा गर्ने योजनामा रहेका राष्ट्रपति माउरिसियो माक्रीको स्थितिलाई यस चुनावी परिमाणले सुदृढ बनाएको छ।

उनले आफ्ना समर्थकहरूलाई यसले अर्जेन्टिनाको इतिहास परिवर्तन गर्न सम्भव भएको देखाएको बताएका छन्। यसैगरी पूर्वराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि किर्चनरले सिनेटमा आफ्नो सिट सुरक्षित गर्न सफल भएकी छिन्।

फलस्वरूप उनले भ्रष्टाचारको अभियोगबाट प्रत्याभूति पाएकी छिन्। माक्रीका लागि यो चुनाव जनमत संग्रह नै सावित भएको छ। उनले राष्ट्रको अर्थतन्त्रको पुनस्र्थापनाका लागि आर्थिक सुधार कार्यक्रम कार्यान्वयन गर्न लागेका हुन्।

उनको क्याम्बिएमोस (परिवर्तन गरौं) अभियानले अर्जेन्टिनाको ५ वटा सबैभन्दा बढी जनसंख्या भएका क्षेत्रलगायत २३ मध्ये १३ वटा प्रान्तमा विजय हासिल गरेको छ।

तर उनले कंग्रेसमा एकछत्र सफलता भने पाउन सकेका छैनन्। सन् २०१९ मा हुने राष्ट्रपतीय चुनावमा उठ्ने सम्भावना बोकेका माक्रीले भनेका छन्– ‘हामीले धेरै कुरा परिवर्तन हुन सक्ने महसुस गरेका छौं। परिवर्तनका कारण हामी प्रोत्साहित पनि भएका छौं।’

३ करोड ३० लाखभन्दा बढी अर्जेन्टिनी मतदानका लागि वैधानिक रहेका छन्। सन् २००७ देखि २०१५ सम्म सत्तामा रहेकी फर्नान्डेज राष्ट्रको सबैभन्दा बढी जनसंख्या भएको ब्युनसआयर्स प्रान्तमा दोस्रो स्थानमा आएकी छिन्। तर पहिलो स्थान ओगट्न नसके पनि उनले सिनेटमा प्रवेश गर्न आवश्यक मत हासिल गरेकी छिन्। उनले मतदाताहरूलाई धन्यवाद दिँदै आफ्नो पार्टी सिटिजन्स युनिटीले माक्रीको आर्थिक एजेन्डाको दह्रो विरोध गर्ने जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्