फलामखानीमा सवा दुई करोडको खानेपानी योजना शुरू, सिंगो गाउँपालिकामा ‘एक घर एक धारा’ अभियान



 

नेपाल समाचारपत्र
पर्वत
र्वतको सबैभन्दा सानो गाउँपालिका महाशिला गाउँपालिकामा एक घर एक धारा विस्तार अभियान शुरू भएको छ।

स्थानीयबासीलाई खानेपानीको सहज पहँुच पुर्याउने उद्देश्यले एक घरमा एक धारा पुर्याउने कार्यक्रम शुरू भएको हो। महाशिला गाउँपालिकाका ६ वटै वडामा पर्ने होस्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुंखु् र फलामखानीमा एक घर एक धारा दुई वर्षभित्रमै पूरा गर्ने गरी काम शुरू भएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार सर्वप्रथम खानेपानीको अभावले काकाकूलको नियति भोग्दै आएका महाशिला वडा नं. ६ फलामखानीमा योजना शुरू भएको छ। महाशिला गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई आयोजनाको संयुक्त लगानीमा खानेपानी आयोजना शुरू भएको हो।

झन्डै २ करोड २२ लाखको लागतमा उक्त योजना शुरू भएको हो। लिफ्ट खानेपानी आयोजनाबाट फलामखानीका १ सय २० घरधुरी लाभान्वित हुने भएका छन्।अहिलेसम्म आकाशको पानी र आहालको पानी पिउन बाध्य भएका उक्त गाउँका दलित घरपरिवार यो वर्षभित्रमै स्वच्छ खानेपानी खान पाउने गरी योजना शुरू गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए। उनका अनुसार बस्तीभन्दा झन्डै ४ सय ४० मिटर तल रहेको सिस्नेरी खोलाबाट पानी तान्ने प्रयास भइरहेको छ। प्राविधिकको नापजाँचका आधारमा भर्टिकल रूपमा ४ सय ४० मिटर भए पनि दुरीको हिसाबले बस्तीभन्दा उक्त खोला झन्डै दुई किलोमिटर टाढा रहेको छ।

अहिले उक्त दलित बस्तीका बासिन्दाले सोही खोलामा पुगेर घन्टौं समय लगाएर पानी पिउन बाध्य भएका छन्।

त्यस्तै गाउँपालिकाअन्तर्गत वडा नं. १ होस्राङदीमा समेत लिफ्ट खानेपानी योजना सञ्चालनमा रहेको छ। त्यस्तै पाखापानीको सिम्ले, बालाकोटलगायत जहाँ पानीको स्रोत छैन त्यहाँलाई पहिलो प्राथमिकता दिने र स्रोत भएका स्थानमा पनि उचित व्यवस्थापनका लागि विस्तारै योजना लागू गरिने अध्यक्ष पौडेलले जानकारी दिए। उनका अनुसार फलामखानीमा सञ्चालित उक्त योजनाका लागि गाउँपालिकाले रु २८ लाख रुपियाँ विनियोजन गरेको थियो भने पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई आयोजनाले बाँकी खर्च व्यहोर्ने सम्झौता भएको हो।

गाउँपालिकाले योजना बनाउँदा दीर्घकालीन योजनालाई महत्त्व दिएको र यसले सबै वडाका बासिन्दा उत्तिकै मात्रामा लाभान्वित हुने पनि पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्