बैतडीमा दुई मन्त्री चुनावी मैदानमा



विनोदसिंह विष्ट, बैतडी
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा दुई राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै वामगठबन्धनबाट साझा उम्मेदवार रहेको नेकपा एमालेका नेता पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारी पनि प्रतिनिधिसभाका लागि बैतडीमा चुनावी मैदानमा उत्रिएका छन्। पूर्वअर्थराज्यमन्त्री भण्डारी केपी ओली प्रधानमन्त्री रहँदा अर्थराज्यमन्त्री भएका थिए। यसअघि विसं २०७० सालमा सम्पन्न भएको संविधानसभा निर्वाचनमा दुवैजना बैतडीबाट निर्वाचित भएका थिए। बैतडीमा ०७० सालको संविधानसभा निर्वाचनका बेला २ निर्वाचन क्षेत्र रहेका थिए। भण्डारी क्षेत्र नं १ बाट विजयी भएका हुन् भने चन्द क्षेत्र नं २ बाट विजयी भएका थिए।

सारा कम्युनिस्ट एक भएर आएकाले सारा लोकतान्त्रिक शक्ति एक भएर प्रतिनिधि र प्रदेशसभामा लड्नुपरेको वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धन (कांग्रेस) का प्रतिनिधिसभा उम्मेदवार नरबहादुर चन्दको भनाइ छ।

देशमा जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरूको उम्मेदवारी भएको वाम गठबन्धन (एमाले) का प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीको भनाइ छ।

बैतडीमा नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादीले वाम गठबन्धनसहित उम्मेदवारी दर्ता गरेका छन्। नयाँ संविधान जारी भएपछि पहिलो पटक हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस र राप्रपाको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री चन्दले उम्मेदवारी दर्ता गर्नुभएको हो।

यस्तै वाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ। यसै गरी प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसै गरी प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनका साथै अन्य दलले पनि उम्मेदवारी दर्ता गराएका छन्। बैतडी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी, वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराउनुभएको छ। यसै गरी बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्द, वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका लीलाधर भट्टले उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो।

क्षेत्र नम्बर २ मा भने वाम र लोकतान्त्रिक गठबन्धनबाहेक अरूले मनोनयन दर्ता गराएका छैनन्। बैतडीमा अरू पार्टीले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएको भए पनि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसले प्रदेश नं ७ मा पहिलो चरणअन्र्तगत निर्वाचन हुने जिल्लामध्ये बैतडीमा मात्रै राप्रपासँग तालमेल गरेको हो। नेकपा एमालेले भने पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ७ का ४ जिल्लामध्ये बैतडी, दार्चुला, बझाङमा तालमेल गरेको छ। भने बाजुरामा एमालले सबै आफ्नो उम्मेदवार उठाएको छ।

बैतडीमा ६ दलले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १ लाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ क्षेत्र निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्