चित्रमा शंखघर र फरक क्षमताकाको प्रतिभा



 

ललितपुर, (नेस)। सेरेब्रलप्लसी नामक मस्तिष्क पक्षघातले उनी बोल्न र सुन्न सक्दैनन्। तर चित्रकला नै उनको बोली बनेको छ। चित्रकलाले आफूलाई चिनाउँदै गएकोमा कलाकार सुन्दर श्रेष्ठ निकै दंग देखिन्छन्।

बौद्ध युवा कमिटी ललितपुरले आयोजना गरेको चित्रकला प्रदर्शनी पनि कलाकार श्रेष्ठलाई आफूलाई चिनाउने अर्को एक महत्वपूर्ण खुड्किलो बन्न पुग्यो। प्रदर्शनीमा उनले चित्रकलाका पारखीबाट थप प्रोत्साहन पाएर होला, दिनभर उनको मुहारमा खुशी छाएको थियो। नयाँ नेपाल संवत् ११३८ को अवसरमा पाटन संग्रहालयमा गत विहीबार सो प्रदर्शनीको आयोजना गरेको थियो। प्रदर्शनीमा शंखघर साख्वा सम्बन्धी चित्रहरु राखिएका थिए। नेपाल संवत्का प्रणेता एवं राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत् चलाउँदाको पृष्ठभूमीका विविध घटनालाई उनीसहित नौ जना कलाकारले चित्रमा उतारेका थिए। उनले ज्योतिषीले भनेको साईतअनुसार शंखघर साख्वा र उनका सहयोगीले सुन मिश्रित बालुवा थुपारिराखेको चित्र कोरेका थिए। प्रदर्शनीको शुभारम्भपछि ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल समेत कलाकार सुन्दरको चित्र हेरेर निकै प्रभावित भईन्। ‘शारीरिक रुपमा उठबस गर्न गार्हो भएपनि चित्रकला बेजोडको छु उपप्रमुख सत्यालले भनिन्। आफ्नो चित्रकला बारे उपप्रमुख सत्यालले संगै रहेका ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, संस्कृति अध्येता एवं कलाकार लोकरत्न शाक्यसंग कुराकानी गरिरहँदा श्रेष्ठ निकै हर्षित देखिन्थ्यो।

श्रेष्टसंगै फरक क्षमता भएका मनिष महर्जनको चित्र पनि प्रदर्शनीका लागि राखिएको थियो। महर्जनको हात खुट्टाको जोर्नी खुम्च्याउन मिल्दैन। चित्रकला क्षेत्रमा संगसंगै अघि बढेका मनिष र सुन्दरले काष्ठमण्डप आर्ट स्टुडियो बखुण्डोलमा लामो समय आर्ट कक्षा लिएका थिए।

कलाकारद्वयलाई आफ्नो प्रतिभा निखार्न र एक साथ अघि बढ्न विशेष पहल गर्ने राजेश बज्राचार्य पनि प्रदर्शनीमा अतिथीका रुपमा उपस्थिति थिए। प्रदर्शनीका लागि मनिषले शंखघर साख्वाले ऋणमोचन गरेर जनताले उत्सव मनाईरहेको चित्र कोरेका थिए। मनिषको भूमिका चित्र कोर्नु मात्र नभई प्रदर्शनीको आयोजनाको लागि समेत सक्रिय थियो।
कलाकार शाक्यले प्रदर्शनी आयोजना गर्ने विषयमा मनिषसंग कुराकानी गरे। शाक्यले उनैमार्फत आर्ट स्टुडियोका शिक्षक प्रमिला बज्राचार्यसंग भेटेका थिए। शंखघर साख्वा सम्बन्धी ऐतिहासिक चित्रकला प्रदर्शनी गर्ने प्रस्तावमा बज्राचार्य तयार भएपछि प्रदर्शनीले मूर्त रुप लिएको कलाकार शाक्यले बताए। ‘प्रदर्शनीले अपांगता भएकालाई दया वा सहानुभूर्ति होइन, उनीहरुको क्षमता विकास गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छु बौद्ध युवा कमिटी ललितपुरका अध्यक्ष सतिस शाक्यले भने। प्रदर्शनीमा सुन्दर, मनिष, प्रमिला बज्राचार्य, प्रतिका शाक्य, सबी बज्राचार्य, टपेन्दसारु मगर, सुमन शाक्य, अशिष शाक्य र अशिष चौधरी गरी ९ कलाकारले तयार पारेका १२ चित्र राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्