सुन्दर भेटिकन शहरको सेन्ट पिटर स्क्वायर

पुष्करलाल श्रेष्ठ ।

इटलीको राजधानी रोम शहरबारे एउटा कथन छ, ‘रोम शहर एकदिनमा बनेको होइन।’ यो फ्रेन्च कहावत कहिले र कुन बेलादेखि भन्न थालिएको स्पष्ट नभए पनि साँच्चिकै रोम शहर बन्नचाहिँ झन्डै २ सय ७६ वर्ष लागेको थियो। ३ हजार वर्ष पुरानो रोम शहर घुमिसकेपछि ‘यति विशाल कला कौशल र सुन्दर वास्तुकलाले भरिपूर्ण यो शहर बन्न मात्र २ सय ७६ वर्षले पुग्यो होला त ?’ सबैको मनमा उठ्ने प्रश्न हो यो।

रोमुलस र रेमस नामका दुई जुम्ल्याहा दाजुभाइको सोचअनुसार बनाइएको मानिने रोम शहर बनाउने क्रममा दाजुभाइबीच नै विवाद भएपछि रोमुलसले भाइ रेमसलाई मारेर आफ्नै नामबाट रोम शहरको नामाकरण गरेको किम्बदन्ती छ। तर यी दाजुभाइको जन्म स्यालबाट भएको भनिएकाले यो कसैको परिकल्पना मात्र भएको अनुमान लगाउन सकिन्छ। जसको सोचले बनाइएको भए पनि जुन धैर्यताले रोम शहर बनाइएको देखिन्छ, त्यसलाई हेर्दा यो शहरलाई धेरै चोटि बनाउँदै–बिगार्दै गरेको अनुभूतिचाहिँ गर्न सकिन्छ।

नक्सा हेर्दा ठ्याक्कै जुत्ताको आकार देखिने इटलीले ३ लाख १ हजार ३ सय ३८ वर्गकिलोमिटर क्षेत्रफल ढाकेको छ। नेपाल र भारतको जस्तै इटलीको पनि फ्रान्स, स्वीजरल्यान्ड, अस्ट्रिया, स्लोभेनिया, सानमेरिनो र भ्याटिकन सिटीसँगको सिमाना खुल्ला छ। लामो इतिहास भएको रोमन साम्राज्यले बनाएको इटलीको जनसंख्या अहिले झन्डै ६ करोड १० लाख पुगिसकेको छ। तैपनि देशअनुसार जनसंख्या नपुगेको भनी इटलीमा एकजना भन्दा बढी बच्चा जन्माउनेलाई पुरस्कारको व्यवस्था गरिएको छ।
सन् १९१४ मा शुरु भएको पहिलो विश्वयुद्धमा जितेको उन्मादमा दोस्रो विश्वयुद्धमा हाम्फाल्दा इटलीले नराम्ररी पराजय भोग्नुपरेको थियो।

रोमन साम्राज्यमा बनेको ऐतिहासिक कालोसियम स्टेडियम अगाडि लेखक

पहिलो विश्वयुद्धमा इटली जिते पनि यसले झन्डै १२ लाख सेनाहरू गुमाउनुपरेको थियो। दोस्रो विश्वयुद्धमा भने हारे पनि इटलीले मात्र ६ लाख ७० हजार सेना गुमाएको थियो। पहिलो विश्वयुद्धमा अमेरिका, बेलायत र फ्रान्ससँग मिलेर इटलीले जर्मनी, अस्ट्रिया र हँगेरीविरुद्ध युद्धमा लडेको थियो। तर दोस्रो विश्वयुद्धमा यसको ठीक विपरीत जर्मनी र जापानसँग मिलेर अमेरिका, बेलायत, फ्रान्स र तत्कालीन सोभियत युनियनसँग दुश्मनी मोल्दा इटलीले नराम्रो पराजय भोग्नुपरेको थियो।

प्रथम विश्वयुद्धपछि लामो समय कट्टर फासिस्टले शासन गरेको इटलीका तानाशाह बेनेटो मुसोलिनीलाई जर्मनीका अर्का तानाशाह रुडोल्फ हिटलरले समेत आदर्श मान्ने गर्थे। मुसोलिनी र हिटलरको दोस्रो विश्वयुद्धको अन्त्यसम्म निकै राम्रो मित्रता रहेको थियो। मुसोलिनीको साम्राज्य ८ सेप्टेम्बर १९४३ मा अन्त्य भएको थियो। अप्रिल १९४५ मा भागिरहेको अवस्थामा फासिस्ट विरोधीहरूले घेराबन्दीमा पारेर मुसोलिनीको हत्या गरेका थिए। दोस्रो विश्वयुद्धमा नराम्ररी हारेको पीडाले होला युरोपियन युनियन र नाटोको संस्थापक इटलीले दोस्रो विश्वयुद्धपछि आफ्नो वैदेशिक नीतिलाई निकै मैत्रीपूर्ण बनाएको छ।

यसरी इतिहास, भूगोल र संसारकै सातौं ठूलो अर्थतन्त्र रहेको युरोपकै एउटा शक्तिशाली देश इटलीको समयाभावले गर्दा इच्छा भएर पनि पहिलोपटक पुग्दा राम्रोसँग घुम्न पाएको थिइनँ। त्यसैले यसपटक लेख्ने मनसाय भएकोले लामो दिनको यात्रा नभए पनि इटलीलाई बुभ्mने किसिमले भ्रमण गरेको थिएँ। यो भ्रमणमा पनि हामीलाई अस्ट्रिया बस्ने भाइ प्रभुले साथ दिएका थिए। उनी पटक–पटक इटली आइसकेका कारण छोटो समयमा पनि धेरै कुरा बुभ्mन सहज भएको थियो। पहिलोपटक आउँदा एक्लै भएकाले हो कि जता गए पनि असहज महसुस हुन्थ्यो। एक–दुई ठाउँमा अलि ठग्ने प्रयास गरिएकाले पनि त्यस बेला खासै घुम्ने जाँगर नचलेको हो।

भेनिसमा श्रीमती राजेश्वरी श्रेष्ठसँगको रोमान्समा लेखक

५ जुन २०१७ का दिन इटलीको सारै सुन्दर ठाउँ भेनिसबाट इटलीको यात्रा प्रारम्भ गरेकाले हो कि यसपटकको इटली भ्रमण शुरुदेखि नै रोमाञ्चक बनेको थियो। युगल जोडीहरूका लागि स्वर्ग मानिने यस ठाउँमा पुग्दा ६० को उमेर छुन लागिसकेका हामीलाई समेत तन्नेरीको अनुभूति गराएको थियो। झट्ट हेर्दा समुद्रमाथि बनाइएको शहरजस्तो लाग्ने पानीको शहरको नामले विश्वप्रसिद्ध यो ठाउँमा सयभन्दा बढी टापुहरू रहेछन्। यहाँ पुगेपछि समुद्रबाट बगेर आउने सयौं नहरहरूको आनन्द लिन सकिन्छ।

भेनिसमा हिँडेर भन्दा पानीजहाज अथवा डुंगाबाट यात्रा गर्दा अझ धेरै रमाउन सकिँदो रहेछ। हिन्दी सिनेमाका चर्चित अभिनेता अमिताभ बच्चन र अभिनेत्री जिनत अमानले अभिनय गरेको सुपरहिट हिन्दी चलचित्र ‘दि गे्रट ग्याम्बलर’को गोन्डोलो डुंगामा ‘दो लब्जों कि…’ भन्ने गीतको सुटिङ गरेको भेनिसको चर्चित गोन्डोलो डुंगामा सयौं नवदम्पतीहरूले यात्रा गरिरहेको देख्दा जो–कोहीलाई पनि आफ्नो जवानीको याद दिलाउँछ। यो डुंगा चलाउने प्रायः सबै चालकहरू गीत गाउनमा पोख्त हुँदा रहेछन्। यिनीहरूले डुंगा खियाउँदै गाउने गीत सुनिरहँदा भाषा नबुझे पनि छुट्टै खालको आनन्दको अनुभूति दिलाउँछ।

कास्टिलो सान एन्जिलो

इटलीको यो भेनिस शहरमा मात्र वर्षको २ करोड पर्यटकहरू आउने गर्दछन्। यहाँ चल्ने कार्निभल जात्रा हेर्न मात्र पनि वर्षको ३० लाख पर्यटकहरू आउने गरेका छन्। भेनिसमा एक ठाउँबाट अर्को ठाउँमा जान पानीमा चल्ने ट्याक्सी र बसको प्रयोग गर्नुपर्दछ। गल्ली नै गल्लीले भरिएको भेनिसमा पैदल यात्रा गरेर हिँड्न चाहने धेरै यात्रुहरू बाटोमै अलमल भएर हराइरहेका पायौं। ग्रायन्ड क्यानल भेनिस पुगेपछि घुम्न छुटाउनै नहुने एउटा प्रमुख नहर हो। यो नहरको दायाँ–बायाँ ठडिएका १३ औंदेखि १८ औं शताब्दीमा बनेका पुराना भवनहरू हेर्नलायक छन्।

यसबाहेक भेनिसमा रियो दि पालाजो, सेन्ट मार्कस, बासिलिका अन्य छुटाउनै नहुने सुन्दर ठाउँहरू हुन्। सान मार्कोनजिक स्टिट मार्कस चर्चनजिक बनेको टावरमाथिबाट हेरेर पनि मनमोहक भेनिस शहर र समुद्रको छुट्टै आनन्द लिन सकिन्छ। बासिलिका घुमिरहँदा त्यहाँ पैसा माग्न आइरहने र सामान बेच्न आउने मानिसहरूलाई देख्दा भने काठमाडौंको वसन्तपरमा घुमिरहेका पर्यटकहरूले पाउने दुःखको याद आउँछ। प्रेमी–प्रेमिका, कलाकार र कविको भूमि भनेर चिनिने भेनिसमा २ लाख ७० हजार मानिस बसोबास गर्छन्। यस ठाउँका बारेमा पहिले नै बुझेर नजाने पर्यटकहरू असाध्यै महँगा होटलहरूको मारमा पर्न सक्ने भएकाले भेनिस घुम्नुअघि यहाँका होटल, खानेकुरा र यात्रा गर्न पायक पर्ने ठाउँको पहिल्यै योजना बनाएर घुम्नु बढी बुद्धिमानी हुने देख्दछु।

दुई दिनको भेनिस बसाइपछि चार घन्टाको ट्रेन यात्रा गर्दै हामी रोम शहर पुग्यौं। अपराह्नतिर रोम पुगेको हुनाले धेरै समय बर्बाद नगरीकन हामी होटल पुग्नेबित्तिकै खाना खाएर रोम शहर हेर्न निस्किहाल्यौं। होटलनजिकैका केही रमाइला ठाउँहरू हेर्दै रोमको मध्यभागमा बनाइएको विश्वप्रसिद्ध कोलोसियम स्टेडियम पुग्दा साँझ पर्न आँटिसकेको थियो। ढुंगैढुंगाले बनेको यो ऐतिहासिक ठाउँ ७०–७२ एडीका बादशाह भेस्पासियनले बनाएर रोमन जनतालाई उपहार दिएको इतिहासमा पढ्न पाइन्छ। पछि एडी ८० ताका बादशाह भेस्पासियनका छोरा टाइटसले यसलाई औपचारिकरूपमा सर्वसाधारणका लागि खोलेका थिए। यस रंगशालामा त्यस बेलाका लडाकूहरूलाई सय दिनसम्म खोरमा थुनेर राखेका खुंखार जंगली जनावरहरूसँग लड्न लगाइन्थ्यो।

पर्यटकहरूबाट निदकै ३ हजार युरो फाल्ने रोमको आकर्षक त्रेभी झरना

चार शताब्दीसम्म चलेको यो जंगली खेलमा निश्चितरूपमा कि लडाकू, कि जनावरको मृत्यु हुन्थ्यो। आठ वर्ष लगाएर बनाइएको यस रंगशालामा यो घृणित खेलसँगै रथहरू घुमाउने, मृत्युदण्ड पाएका मान्छेहरूलाई मार्ने, सर्कस आदि पनि देखाइने गथ्र्यो। रंगशालामा यी सबै प्रदर्शन हुन छोडेपछि बेवारिसे बन्दै गएका यहाँका कैयौं आकर्षक ढुंगाहरू जनता आपैंmले लुटेर लगेको बताइन्छ। पछि भूकम्पले पनि यसलाई ठूलो नोक्सान पार्यो। अहिले बचेखुचेका भग्नावशेष हेर्दा पनि त्यो जमानामा बनेको रोमन वास्तुकलाको आकर्षणबारे अनुमान लगाउन सकिन्छ। यो भग्नावशेष हेर्न मात्र पनि अहिले विश्वभरबाट वार्षिक ४० लाख पर्यटक ओइरिने गरेका छन्।

इटली नेपालजस्तै युरोपकै सबैभन्दा बढी भूकम्प जाने देश हो। एट्ना, स्ट्रोम्बोली र भेसुभियस नामका तीन जिउँदा ज्वालामुखीका कारण यहाँ प्रायः भूकम्प गइरहने रहेछ। सन् १६९३ मा गएको भूकम्पले यहाँ १ लाख मानिसको ज्यान लिएको थियो। त्यसै गरी सन् १९८० मा नेपल्समा गएको भूकम्पमा परी ३ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो। संसारमै पाँचौं सबैभन्दा बढी पर्यटक आउने देशमा गनिएको इटलीमा भूकम्पको जोखिमबाट बच्ने धेरै उपायहरू अपनाइएको पाइन्छ।

युनेस्कोको तथ्यांकमा ५२ वटा हेरिटेज साइड भएको इटलीमा सन् २०१५ मा मात्र झन्डै ६ करोड पर्यटक भित्रिएको अनुमान गरिएको छ। देशको ६० प्रतिशत आम्दानी इटलीले पर्यटन उद्योगबाट गरिरहेको छ। तसर्थ यस उद्योगमा तल–माथि नहोस् भनी इटली सरकारले यहाँ झन्डै ११ लाख मानिसलाई रोजगारी दिएको छ। मानिस आपैंmले २ सय ७६ वर्ष लगाएर बनाएको इटलीमा वर्षमा ६ करोड पर्यटक आउँछन्। प्रकृतिले हलिउड स्टूडियो जस्तो सुन्दर बनाइदिएको नेपालमा राजनीतिक अस्थिरताका कारण वर्षको १० लाख पनि पर्यटक नआउने कुरा सुनेपछि त्यतिकै मन रुन्छ।

इटलीको अर्को शहर मिलान भने युरोपको छैटौं सबैभन्दा बढी पर्यटक आउने शहरमा सूचीकृत छ। कोलोसियम, पम्पे, लेककोमो, रोयल प्यालेस अफ कासेर्टा, पिटली दरबार, ओस्टिया म्युजियम इटली पुगेपछि घुम्न छुटाउन नहुने ठाउँहरू हुन्। ५० भन्दा बढी सुन्दर झरनाहरू भएको इटलीको राजधानी रोमको आकर्षक त्रेभी झरनाको सुन्दरताबाट मख्ख पर्दै दैनिक हजारौं पर्यटकले पानीमा फाल्ने सिक्काबाट मात्र दिनको ३ हजार युरो जम्मा हुने रहेछ। यहाँ जम्मा हुने सबै पैसा एकमुष्टरूपमा पछि रेडक्रसजस्ता च्यारिटी संस्थाहरूमा पठाइने गरेको छ।

फ्रान्सको सिमानामा रहेको १५ हजार ७ सय ७१ फिट अग्लो माउन्ट ब्लायन्क नामको सेतो हिमाल पनि इटलीको एउटा पर्यटकीय आकर्षणको केन्द्र हो। वर्षको चौध बिलियन कप एक्स्प्रेसो कफी खपत हुने इटलीको विश्वप्रसिद्ध कफीको स्वाद लिन पनि यहाँ प्रशस्तै पर्यटक आउने गरेका छन्। स्पेनजस्तै खानामा नाम चलेका पिजा, पास्ता आदि खान पनि त्यत्तिकै पर्यटक ओइरिएका देखिन्छन्। इटलीमा सन् १८६० देखि नै पिजा बनाएर खान थालिएको अनुमान गरिन्छ। इटलीमा दिनहुँ ५ सय प्रकारका पास्ताका परिकार तयार हुने गरेको छ।

इटली युरोपको चौथो धेरै जनसंख्या भएको देश भए पनि मृत्युदर कम हुन थालेपछि यहाँ युवायुवतीभन्दा वृद्धवृद्धाहरूको संख्या बढिरहेको छ। जापान र जर्मनीपछि संसारमै सबैभन्दा बढी वृद्धहरू भएको देश हो इटली। युरोपका अन्य देशहरूमा जस्तै इटलीमा पनि शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाइएको छ। इटलीमा कम्तीमा ६ देखि १६ वर्षको उमेरसम्म अनिवार्य पढ्नुपर्दछ। यहाँ अंग्रेजी, हिसाब, इतिहास, इटालियन भाषा, समाजशास्त्र, मानवशास्त्र अनिवार्यरूपमा पढ्नुपर्ने विषयहरू हुन्। शिक्षामा धेरै महत्व दिए पनि इटलीका विश्वविद्यालयहरू भने विश्वमा उत्कृष्ट सयभित्र पनि पर्न सकेका छैनन्।

संसारको आठौं गुणस्तरीय जीवन बिताउने भाग्यमानी इटली संसारको सातौं ठूलो अर्थतन्त्र भएको देश पनि हो। मिश्रित अर्थतन्त्र प्रणाली भएको इटली विश्वको आठौं ठूलो औद्योगिक देश हो। आठ लाखभन्दा बढी मानिसलाई रोजगार दिने यहाँका अटोमोबाइल कम्पनीहरूले उत्पादन गर्ने फियट, अल्फा रोमियो, माजाराती, आबार्ट, लम्बोगिनी, पगानी, फरारी गाडीहरू विश्वमै गुणस्तरीय र प्रसिद्ध मानिन्छन्। विश्वका ठूला कवि, कलाकार मात्र नभई इटलीले नाम चलेका वैज्ञानिकहरू पनि जन्माएका छन्। इटलीका वैज्ञानिक सान्टोरियोले सन् १६१२ मै थर्मामिटरको आविष्कार गरिसकेका थिए। यसै गरी सन् १८०० मा संसारमा पहिलोचोटि ब्याट्रीको आविष्कार पनि इटलीमै भएको थियो।

दोस्रो विश्वयुद्धमा नराम्रोसँग हारेको कारणले हो कि इटलीले सेनाको लागि वार्षिक झन्डै ३६ बिलियन अर्थात् ३६ अर्ब नेपाली रुपियाँ खर्च गर्दछ। इटली अहिले संसारकै दशौं ठूलो सेना भएको देश हो। सन् १९५५ मा संयुक्त राष्ट्र संघमा प्रवेश गरेको इटलीका सेना सोमालिया, अल्बानिया, बोस्निया, इराक, लेबनानलगायत थुप्रै द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ खटिएका छन्।

जनयुद्ध सक्नेबित्तिकै आएको गणतन्त्रपछि इटलीमा पनि नेपालमा जस्तै राजालाई हटाइएको थियो। देशको प्रमुख पदमा राष्ट्रपति रहे पनि कार्यकारी अधिकारचाहिँ प्रधानमन्त्रीकै हातमा हुन्छ। इटलीमा राष्ट्रपति एकपटकका लागि मात्र सात वर्षका निम्ति चुनिन्छन्। राष्ट्रपति र प्रधानमन्त्री दुईवटै संसद्बाट चुनिने इटलीलाई फुटबलको देश भनेर पनि चिनिन्छ। यहाँका मानिसको रगत–रगतमा फुटबल दौडिरहेको हुन्छ भनिन्छ। हुन पनि इटलीले सन् १९३४, १९३८, १९८२ र सन् २००६ मा गरी चारपटक विश्वकप फुटबल जितिसकेको छ। यसबाट पनि थाहा पाउन सकिन्छ कि इटालियनहरू फुटबलमा कति पागल छन् भन्ने कुरा। यसबाहेक इटली गाडी र मोटरसाइकल रेस ग्रायन्ड प्रिक्समा पनि संसारमै सबैभन्दा अगाडि रहेको पाइन्छ। संसारमा सबैभन्दा पुरानो र नाम चलेको फर्मुला वन रेसको टिम इभेन्टमा इटलीले २ सय २८ पटक जितेर नयाँ रेकर्ड कायम गरिसकेको छ।

भिक्टोरिया इमोनियल दरबार

इटली सम्पन्न भएर पनि युरोपका अरु मुलुकजस्तो व्यवस्थित भने रहेनछ्। यहाँ होटलभित्र खाना खाइरहे पनि सामान बेच्नेहरूको कचकचले शान्तसँग खानसमेत दिँदैनन्। हेर्दा बंगाली र भारतीय मूलका देखिने यी खुद्रे व्यापारीहरूलाई जति भने पनि नटेर्ने। आश्चर्यको कुरो त आफ्नो रेस्टुरेन्टभित्र बसेर शान्तसँग खाइरहेका ग्राहकहरूलाई अनाहक दुःख दिइरहेको देख्दा पनि रेस्टरेन्ट मालिकले उनीहरूलाई धपाएर नपठाउने। शायद कमिसनको चक्करले पनि होला।

हामीले आफ्नो भ्रमण इटलीबाट सीधै जर्मनीका लागि राखेका थियौं। युरोपको सबै ठाउँमा ठीक समयमा ट्रेन जाने भएकोले हामी निर्धारित समयभन्दा एक घन्टाअघि नै ट्रेन स्टेसन पुगिसकेका थियौं। रोमको ट्रेन स्टेसन असाध्यै भीड हुने र यस स्तम्भकारको घुँडामा आइरहेको स्वास्थ्य समस्याले गर्दा पनि कुनै जोखिम नमोल्ने हिसाबले हामी एक घन्टाअघि नै ट्रेन स्टेसन पुगिसकेका थियौं। साधारणतया युरोपको ट्रेन स्टेसनमा ट्रेन हिँड्ने समयको कम्तीमा पनि आधा घन्टाअगाडि नै डिजिटल बोर्डमा प्लेटफर्म नम्बर दिइसकेको हुन्थ्यो। तर, त्यति भीडभाड हुने रोमको ट्रेन स्टेसनमा पाँच मिनेटअगाडिसम्म पनि हाम्रो प्लेटफर्म नम्बर नदेखाउँदा हामी तीनैजना पसिनाले चिट्चिट् भइसकेका थियौं।

तीन मिनेटअगाडि प्लेटफर्म नम्बर आउँदा हामीलाई निकै कुदाकुद गर्नुपरेको थियो। हस्याङफस्याङ गर्दै हाम्रो डिब्बामा पुगेर बस्न नभ्याउँदै ट्रेन हिँड्यो। एक सेकेन्ड ढिलो भएको भए पनि हाम्रो बिजोग हुने रहेछ।

सँगै प्रभु भाइ नभएको भए हाम्रो बलबुताले मात्र नभ्याउने रहेछ भन्दै हामी बूढाबूढीले लामो सास फेर्यौं। यति मात्रको दुःखले कहाँ पुग्थ्यो ? झन्डै १६ घन्टाको ट्रेन यात्रामा फेरि एकाबिहानै अस्ट्रियाको साल्जबर्गमा पुगेर अनावश्यकरूपमा चार घन्टा ट्रेन रोकेर राखिदियो। हामी बिहान ८ बजे जर्मनी पुग्नुपर्ने ठाउँमा दिउँसो १२ बजे मात्र जर्मनी पुग्न सक्यौं। धन्न अस्ट्रियामा टिकट किनेको हुनाले इटलीले गल्ती गर्दा पनि अस्ट्रियाको ट्रेनले हाम्रो ट्रेनको टिकट भाडा फिर्ता दियो। इटली र अस्ट्रियाबीचको व्यवस्थापन र जिम्मेवारीमा यति धेरै फरक पायौं। यो घटनाले पनि अस्ट्रिया त्यत्तिकै संसारको नम्बर एक राम्रो देश बनेको रहेनछ भनी अनुभूति गरायो।

अर्को कुरो, युरोपमा सबैभन्दा बढी माफियाहरूको चलखेल हुने भएकोले युरोपका अरु मुलुकमा जस्तो इटलीमा बेलुकी एक्लै घुम्न जान पनि डर भइरहने। आँट गरेर निक्लिहाले पनि निकै सिँगारपटार गरेर सडकमा ढुकिरहेकी महिलाहरूबाट हैरान भइरहनुपर्ने अर्को समस्या इटलीमा देख्यौं। आपूmभन्दा डब्बल अग्ला चुरोट च्यापेर बसिरहेका महिलाहरूको डरले नै हामीले बेलुकी शहर घुम्ने योजना त्याग्नुपरेको थियो।

जेसुकै भए पनि संसारकै सबैभन्दा सानो भ्याटिकन देश रोमसँगै जोडिएकाले रोममा पुग्दा थप एउटा अर्को सुन्दर देशमा पुगेको अनुभूतिचाहिँ गराउँदो रहेछ। क्रिश्चियन धर्मका सबैभन्दा ठूलो गुरु पोप जोन पालले शासन गर्ने संसारकै सबैभन्दा सानो यो देशलाई मात्र एउटै ढोकाले बन्द गर्न सकिन्छ। यस देशको आफ्नै छुट्टै टेलिफोन कम्पनी, रेडियो, टिभी र हुलाक टिकट चल्छ। यहाँ घुम्न निस्कँदा दायाँ–बायाँ विभिन्न राष्ट्रहरूका राजदूतावास पनि देख्न सकिन्छ।

मात्र शून्य दशमलव ४ वर्गकिलोमिटरको यो देशको रक्षार्थ स्वीजरल्यान्डले तालिमप्राप्त सैनिक गार्डहरू उपलब्ध गराएको छ।

विश्वकै सबैभन्दा अद्भूत मानिएको भ्याटिकन चर्चको रक्षार्थ स्वीजरल्यान्डले उपलब्ध गराएका छुट्टै पहिरनमा उभिएका गार्डहरूलाई हामी यहाँ देख्न सक्छौं। यो चर्चभित्र जान घन्टौं लाइनमा बस्नुपरे पनि अनुशासित पर्यटकहरूका कारण लाइन बस्दा नियास्रो भने पटक्कै लाग्दैन। सुन्दर चर्चलाई क्यामरामा कैद गर्दागर्दै कुन बेला चर्चभित्र छिर्ने ढोका आयो पत्तै पाइँदैन।

LEAVE A REPLY