उम्मेदवार सघाउन गएका कांग्रेस सदस्य सम्पर्कविहीन



 

दयाराम पण्डित, बाजुरा
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य एवं पूर्व सचिव जयबहादुर थापा दुई सातादेखि सम्पर्कविहीन भएका छन्। थापा गत असोज २२ गते चितवनको १४ किलो भन्ने ठाउँबाट सम्पर्कविहीन भएका हुन्।धनगढीबाट काठमाडौंतिर गएको ६४०४ नं को बसमा सवार थापा चितवनको १४ किलोनजिक सडक जामपरेका बेला पिसाब गर्न बसबाट झरेको यात्रामा सँगै रहेका नरबहादुर रावलले बताए। जाम खुलेपछि थापाको खोजी गरेको तर उनी नभेटिएपछि टेलिफोन सम्पर्क भएको बताइएको छ।

फोन सम्पर्क गर्दा– ‘तिमीहरू जानु म अर्को गाडीमा आउँछु भनेका थिए। तर, थानकोटबाट फेरि फोन गर्दा– ‘म बाटोमा छु तिमीहरू जाँदै गर’ भनेपछि आफू काठमाडौं आएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितले बताए। ‘सार्वजनिक बस भएकोले घन्टौंसम्म बस रोक्न सक्ने अवस्था पनि थिएन’ –पण्डितले भने।

‘सोही दिन दिउँसो ३ बजेतिर कहाँ हुनुहुन्छ? भनी फोन गरें म जहाँ थिएँ त्यहीँ छु,भन्ने जवाफ दिएर फोन काट्नुभयो’, –थापाकी धर्मपत्नी कल्पना थापाले भनिन्। ‘त्यही अन्तिम टेलिफोन सम्पर्क हो त्यसपछि कहाँ जानुभयो केही पत्तो छैन’, –उनले भनिन्। ‘नेता, प्रहरी सबैलाई गुहार्दा पनि यत्तिका दिनसम्म राज्य सरकारबाट खासै पहल भएन’ –उनले गुनासो गरिन्। साथै श्रीमान्को खोजीमा सहयोग गरिदन मिडियालगायत सम्बद्ध सबैसँग अनुरोध पनि गरेकी छन्।
‘काठमाडौं पुग्दासम्म थापा सम्पर्कमा नआएपछि काठमाडौंबाट नरबहादुर रावललाई खोजी कार्यमा पठाएको थिएँ। ‘मुग्लिनदेखि चितवन नारायणगढसम्म दुई हप्तादेखि निरन्तर खोजीमा छौं, तर भेटिएका छैनन्’ –रावलले भने।

उनको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार पछिल्लो समयमा थापाको मानसिक अवस्था त्यति राम्रो नभएको बताएका छन्।मुग्लिनबाट पोखरातिर गएको हुन सक्ने अनुमान छ, यद्यपि हालसम्म थापाको अवस्थाबारे कुनै जानकारी आएको छैन। थापाको खोजी कार्य तीव्र पार्न राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गर्न नेपाली कांग्रेस बाजुराले एक विज्ञप्तिमार्फत् अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्