कनिष्ठलाई मुख्य सचिव, सबैका प्रिय पात्रका रूपमा परिचित छन् रेग्मी



सुनील महर्जन, काठमाडौं ।
सरकारले वरीयता क्रममा तेस्रो नम्बरमा रहनुभएका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयता क्रममा रहनुभएका शङ्करप्रसाद अधिकारीलाई पन्छाएर गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो।

मुख्य सचिव निजामती सेवाको सबैभन्दा उच्च पद हो। मुख्यसचिव नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी हुन्। मुख्य सचिवले प्रधानमन्त्रीको सुपरिवेक्षण तथा निर्देशनको अधीनमा रही प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक प्रमुखका रूपमा कार्यसम्पादन गराउने गर्छन्।

सरकारका सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतको सुपरिवेक्षकका हैसियतले उनीहरूले सम्पादन गरेका कार्यको सुपरिवेक्षण गर्ने तथा सचिवले सम्पादन गर्नुपर्ने कार्यमा आवश्यक निर्देशन दिने काम मुख्य सचिवले गर्छन्।

मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले ५८ वर्षे सेवा अवधिको उमेर हदका कारण आज मंगलबार अवकाश पाउने भएका छन्। एक वर्ष कार्यकाल बाँकी रहँदै तत्कालीन मुख्य सचिव सोमलाल सुवेदी मुख्य सचिव पद त्यागेर साउन १ देखि एडीबीमा जागिर खान गएपछि क्षत्री छोटो समयका लागि मुख्य सचिव हुनुभएको थियो। क्षत्रीपछि मुख्य सचिव बन्न रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय प्रतिस्पर्धामा रहनुभएको थियो।

सरकारले विगतमा झैं ज्येष्ठतालाई पन्छाएर रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो। त्यसो त मुख्य सचिवको प्रतिस्पर्धामा तीन जना सचिवबाहेक अर्थ सचिव शान्तराज सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ पनि हुनुहुन्थ्यो। तर, मुख्य सचिव क्षत्री सेवा निवृत्त हुनुभन्दा पाँच दिनअघि नै ती दुवै सचिव सेवा निवृत्त हुनुभएकाले उहाँहरू मुख्य सचिवको प्रतिस्पर्धाबाट बाहिरिनुभएको थियो। सुवेदी र श्रेष्ठले पाँचवर्षे सचिवको पदावधि सकेर गत शुक्रबार अवकाश पाउनुभएको थियो।

मुख्य सचिव हुनुभएका रेग्मी वरीयता क्रममा तेस्रो नम्बरमा हुनुहुन्छ। वरीयता क्रममा तेस्रो भए पनि उहाँ प्रतिस्पर्धामा सबैभन्दा अघि रहनुभएको थियो। विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरूको प्रिय सचिवका रूपमा चिनिनुभएको थियो। रेग्मीको प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवासँग विशेष सम्बन्ध भएकाले उहाँ प्रतिस्पर्धाको दौडमा अघि रहनुभएको कर्मचारी वृत्तमा चर्चा छ।

रेग्मीको कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँगको सम्बन्ध राम्रो भएको कर्मचारीहरू बताउँछन्। एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थ सचिव बनाउनुभएको थियो। कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याउनुभएको थियो। अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृह सचिव रेग्मी नै हुनुहुन्थ्यो।

मन्त्रीहरूको हरेक निर्णयलाई सहजरूपमा स्वीकार गर्ने उहाँको स्वभावले पनि सबैको प्रिय पात्र बन्नुभएको मानिन्छ।

निजामती सेवा ऐन ज्येष्ठता र कार्यकुशलताका आधारमा मुख्य सचिव नियुक्त गर्ने भनेर उल्लेख गरिएको छ। तर, व्यवहारमा ज्येष्ठतालाई पन्छाएर कार्यकुशलताका आधारमा आफू र आफ्नो दल नजिकका सचिवलाई मुख्य सचिवमा नियुक्ति गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्