साहित्यकार सुवेदीको निधन



 

काठमाडौं, (नेस)
साहित्यकार तथा समाजसेवी सूर्यप्रसाद सुवेदीको आइतबार राति निधन भएको छ। चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइएका सुवेदीको निधन भएको उनकी धर्मपत्नी प्रतिभा सुवेदीले जानकारी दिइन्। ७२ वर्षीय सुवेदी फोक्सोको क्यान्सरबाट पीडित थिए।

दुई महिनाअघि फोक्सोको क्यान्सर पत्ता लागेपछि उनलाई उपचारार्थ ओम अस्पतालमा भर्ना गरिएको थियो। सुवेदीले विक्रम सम्वत् २०३० देखि २०७० सम्म नेपालका प्रख्यात साहित्यकार र श्रष्टाका ‘सिर्जना र दृष्टिकोण’ नामक अन्तरवार्ता संगालो प्रकाशित गरेका थिए।

यसै गरी उनको उपन्यास ‘दिशाहीन यात्रा’ र ‘सूर्य सुवेदीका कथाहरू’ नामक कथा संगालो प्रकाशित छन्। फुटकर, निबन्ध र पत्रपत्रिकामा नियमित स्तम्भकारका रूपमा परिचित सुवेदी समाज सेवामा पनि साब्ला ग्रामीण केन्द्रबाट सक्रिय थिए।

विक्रम सम्वत् २००२ सालमा तेह्रथुमको साब्ला गाविसमा जन्मिएका सुवेदीको सक्रियतामा तेह्रथुममा ५० भन्दा बढी झोलुङ्गे पुल निर्माण भएको छ। २०३० सालदेखि रेडियो नेपालबाट पत्रकारिता शुरु गरेका सुवेदी २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्