कार्यालय प्रमुखहरूले बिदा बस्न नपाउने



 

विनोदसिंह विष्ट, बैतडी
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ।

सरकारी कार्यालयहरूले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्नका लागि पहल शुरू गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा आज बसेको कार्यालय प्रमुखहरूको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखहरूले बिदा बस्न नपाइने निर्णय गरेको छ।

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो। यस्तै सरकारी कार्यालयमा रहेका सवारी साधनहरू दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारीसाधन सञ्चालन गर्नुपरेमा र जिल्लाबाहिर सरकारी सवारीसाधन लग्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णयसमेत भएको छ।

कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारउपर सोमबारसम्म दाबी विरोध उजुरी दिने कार्यतालिका रहेको भए पनि बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेपछि आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावाली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो।

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस र राप्रपाको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेदवारी दर्ता गर्नुभएको छ भने वाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ।

यसै गरी प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जन समाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराउनुभएको छ। यसै गरी प्रदेशसभाका लागि बैतडी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी, वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, जन समाजवादी पार्टी नेपालका तर्फबाट भगिरथसिंह कँुवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराउनुभएको छ।
यसै गरी बैतडी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा गणेश चन्द, वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका लीलाधर भट्टले उम्मेदवारी दर्ता गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्