वाह राजेन्द्र महतो ! घरका नोकर बाहेक नागरिकता लिएका सबै साखा सन्तानलाई साँसदको टिकट ?



काठमाडौं । मधेशी जनताको मुक्तिका लागि लडेको दाबी गर्दैआएका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले घरका नोकर बाहेक नागरिकता लिएका सबै सदस्यलाई पार्टीमा ब्यवस्थापन गरेका छन् । महतोले श्रीमती, दाजु, छोरीज्वाईं, भतिजाहरु सबैलाई ब्यवस्थापन गरेका छन् । केहीलाई स्थानीय तहको निर्वाचनमै ब्यवस्थापन गरिसकेका छन् ।

महतोका परिवारमा सबैले अवसर पाएपछि राजपाका मध्यमस्तरका नेताहरु ‘मधेशको मुक्तिका लागि परिवार नै मैदानमा उतार्ने नेता’ भन्दै ब्यंग्य गर्न थालेका छन् । राजपाका एक केन्द्रीय सदस्यले भने–‘मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने ११७ जनाको प्रतिनिधित्व महतोको परिवारले गर्नेभएको छ । स्थानीय तहको निर्वाचनदेखि आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनमा महतोको परिवारले पाएको जिम्मेवारीले यही कुरालाई पुष्टी गरेको छ ।

महतोको परिवारका नागरिकता लिएका सबै मधेशको अधिकारका लागि राजपाबाट मैदानमा उत्रिएका छन्’ उनले भने–‘महतो आफैं राजपाका अध्यक्ष मण्डलमा भइहाले । उनी धनुषा क्षेत्र नम्बर ३ वा सर्लाही १ मा रोजेर संघीय संसदमा उम्मेदवार हुने योजनामा छन् । श्रीमती शैलकुमारी महतोलाई संघीय संसदको समानुपातिकतर्फ राख्ने कुरामा विरोध भएपछि त्यसको साटो उनले स्याङ्जाकी नरमाया ढकाल ९शारदा०लाई राखेका छन् ।

नरमायालाई तत्कालीन सद्भावना हाल राजपाका कसैले पनि चिन्दैन । तर महतोले शारदाबाट चुनावको नाममा कुस्त लिएर उनको नाम समानुपातिकमा राखे ।’

भतिजा उपेन्द्र महतोलाई सर्लाही क्षेत्र नम्बर १ को क बाट प्रदेशसभामा उम्मेदवार बनाएका छन् । उपेन्द्र महतो महतो हरेकपटक मन्त्री हुँदाका पीए हुन् । उनले नै नियुक्ति र सरुवा बढुवाको डिलिङ गर्थे । बाँकी रहेका ज्वाई अनिल महासेठलाई सिराहाको मिर्चैया ४ को ख बाट प्रदेशसभामा उम्मेदवार बनाउने निर्णय पार्टीबाट गराइसकेका छन् । महतोले दाजु महेन्द्र महतोलाई गएको असोज ३ मा भएको स्थानीय निर्वाचनमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाको प्रमुख बनाइसकेका छन् ।

छोरी अन्जुकुमारी महतो बाँकी रहन पुगिन् । मधेशको अधिकारका लागि छोरीको समेत आवश्यकता देखेकाले महतोले उनलाई २ नम्बर प्रदेशको प्रदेशसभाका लागि समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् । अन्जुकुमारीको नाम २ नम्बरमा छ । आफ्नी छोरी हो भन्ने थाहा नपाउन् भनेर महतोले समानुपातिकको सूचीमा अन्जुकुमारी मात्र लेखेका छन् । नागरिकता नम्बर र ठेगाना पर्सा लेखाएका छन् ।

छोरीलाई राखेकोमा हुनसक्ने संभावित विरोधलाई ध्यानमा राखी पर्सा ठेगाना राखेर थर समेत नराखी नाम पठाए पनि पछि निर्वाचन आयोगले नाम सच्याउने समयमा संशोधन गर्नेगरी चलाखी गरेको राजपाका एक नेता बताउँछन् । पर्सामा अन्जुुकुमारी नामको कोही राजपा नेता कार्यकर्ता छैनन्, ती राजेन्द्र महतोकी छोरी हुन्, उनले भने, आयोगबाट नाम सच्याउने दिन महतोको यो सबै चलाखी खुल्नेछ । अहिले राजपाका कार्यकर्ता पर्साकी अन्जुकुमारी भनेर अलमल भए पनि उनी महतोकी छोरी हुन् ।

२०७० को संविधानसभा निर्वाचनमा महन्थ ठाकुरले सम्धिनी इन्द्रा झाको नाम पनि सुरुमा निर्वाचन आयोगमा पठाउँदा इन्द्र झा लेखेर पठाएका थिए । तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरु सम्धिनीलाई सभाषद नबनाएकोमा खुसी पनि भए । तर त्यो खुसी धेरै दिन टिकेन, निर्वाचन आयोगमा पछि नाम सच्याउने समयमा नागरिकता पेश गर्दा इन्द्रा झाकै पेश भयो । र, पछि आयोगबाट फाइनल लिष्टमा इन्द्रा झाकै नाम आयो । त्यस्तै अन्जुकुमारी महतोको हकमा पनि आयोगबाट पछि सच्याइनेछ’ राजपाका एक नेताले भने ।

महतोका परिवारका सबैले अवसर पाइसकेका छन् । उनका एक पुत्र थाइल्याण्डमा ब्यापार ब्यवसाय गर्दछन् । २०६३ देखि २०६८ सम्म आपूर्ति र स्वास्थ्य मन्त्री हुँदा आर्जित र अहिले नरमायाहरुलाई सांसद बनाउने क्रममा प्राप्त सहयोगको सदुपयोग गर्न उनले पुत्रलाई ब्यापारमा लगाएको राजपाका नेताको भनाइ छ ।

महतोको परिवार नै मधेशको लागि होम्ने निर्णय विरुद्ध राजपाका नेता कार्यकर्ताहरु विरोधमा पनि उत्रिए तर उनीहरुको विरोधले पनि केही अर्थ राखेन । महतोले त्यो विरोधलाई त्यसै निस्तेज पारिदिए ।

प्रतिक्रिया दिनुहोस्