शिक्षा ऐनको नवौं संशोधन प्रमाणिकरण



काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा ऐनको नवौं संशोधन प्रमाणिकरण गरेकी छन् । गत असोज २३ गते प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा दर्ता भएको शिक्षा (नवौं संशोधन) विधयेक, २०७४ सोमबार प्रमाणिकरण गरेकी हुन ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले दिएको जानकारी अनुसार सोमबार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन ।
यस अगाडि नवौं संशोधनको प्रमाणिकरण हुनुहुँदैन भन्दै चर्को विरोध भएको थियो । अस्थायी शिक्षकको माग पूरा गराउनका लागि शिक्षामन्त्री गोपालमान श्रेष्ठले संशोधन दर्ता गरेको भन्दै विभिन्न शिक्षाविद्हरुले विरोध गर्दै आएका थिए ।
शिक्षा ऐनको आठौं संशोधन पूर्ण रुपमा कार्यान्वयन नहुँदै नवौं संशोधन गरिनु राम्रो नहुने भन्दै विभिन्न दलका नेताहरुले विरोध गरेका थिए ।
संशोधन प्रमाणिकरण भएसँगै अस्थायी शिक्षकका लागि आह्वान गरिएको शिक्षक परीक्षाका लागि बाटो खुलेको छ । यस अगाडि अस्थायी शिक्षकका आन्दोलन तथा विभिन्न कारणले शिक्षक सेवा आयोगले शिक्षक परीक्षा पटक पटक सार्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्