पतिको रिसले जेठाजुको घर खरानी



हेटौंडा,(नेस) ।

पतिपत्नीबीच झगडा पर्दा मकवानपुरको थाहानगर–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी छिन् । घटनामा नगद, गरगहना र किराना पसलका सामानसहित करिब ५८ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरी अनुमान छ ।

मंगलबार आग्रा आइपुगेकी हीरादेवी शाहीले आफू आएको केहीबेरमै यस्तो घटना घटाएकी हुन् । घरमा आउनेवित्तिकै पतिसँग झगडा परेकाले बिहान साढे एघार बजेतिर रिसमा आफैं मर्न भनेर ग्यासको पाइप चक्कुले काटेर सलाई कोरेकी उनले त्यही आगोले घर ध्वस्त बनाएकी थिइन् ।

आगलागीबाट करिब २० लाख नगद, ५ तोला सुन, किराना सामान, टिभी, मोबाइल, फर्निचर, भाँडाकुँडा र अन्नलगायत सबै सामग्री जलेर नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । थाहानगर वडा नंं. ७ को वडा कार्यालयसँगै किराना पसल सञ्चालन गर्दै आएका मिलन तितुङको पसलसहित घर जलेर नष्ट भएको हो ।

आगो लगाउने क्रममा ४२ वर्षीया हीरादेवीको हात पोलेको छ । घाइते भए पनि उनी फरार रहेको मकवानपुर प्रहरीका डीएसपी दिलीप झाले बताए । उनीविरुद्ध प्रहरीले मुद्धा चलाएको छ ।

अग्निपीडित मिलनका भाइ प्रदीप दुई दशकदेखि भारत बस्दै आएका छन् । त्यहाँ रहँदा प्रदीप र हीरादेवीको १० वर्षअघि विवाह भएको थियो । विवाह भएपछि हीरादेवी एक÷दुई पटकमात्र घरगाउँ आएकी थिइन् ।

यसपटक पनि भारतबाट दशैं मान्न हिँडेका यी दुईमध्ये हीरादेवीका करिब ३२ वर्षीय पति प्रदीप दशैंको टीकाको अघिल्लो दिन घर आइपुगेका थिए भने हीरादेवी बुटवल गएकी थिइन् ।

बुटवल माइती भएकी हीरादेवीले पहिलेको पतिलाई छाडेर प्रदीपसँग विवाह गरेकी प्रहरीले जनाएको छ । प्रदीप भने कान्छी पत्नी लिएर दाइको घरमा बस्दै आएका थिए । भारतको हिमाञ्चलमा उनीहरुको फास्टफुड पसल रहेको बताइएको छ ।

घटनापछि थाहानगर–७ का अध्यक्ष सोनामसिं मोक्तान, वडा सचिव चन्द्रबहादुर थिङलगायत सदस्य घटनास्थल पुगेका थिए । पसलमा एक्कासी आगलागी भएको देखेपछि पुगेका छरछिमेकीको आगो नियन्त्रण गर्ने प्रयास सफल हुन सकेन । पत्नीसहित एक छोरा र दुई छोरी रहेका मिलनको परिवार घरविहीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्