बराबरीमा रोकियो पिएसजी, नेयमारलाई रातो कार्ड, नायक बने काभानी



मार्से, फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले मार्से विरुद्ध संघर्षपूर्ण बराबरी खेलेको छ । खेलमा पिएसजीका स्टार खेलाडि नेयमारले एक गोल गरेका थिए भने दोस्रो हाफमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको १६ मिनेटमै लुइज गुस्ताभोको ३०–यार्ड टाढाको प्रहारद्वारा मार्सेले पिएसजी विरुद्ध अग्रता लिएको थियो । तर ३३ औँ मिनेटमा नेयमारको सुन्दर गोलमार्फत पिएसजीले स्कोर १–१ बनाउँदै खेलमा फर्किएको थियो ।

दोस्रो हाफमा घरेलु टोली मार्से पुनः अग्रता लिन सफल भयो । पूर्व वेस्ट ह्यामका खेलाडि डिमिट्रि पायेटको पासमा परिवर्तित खेलाडि फ्लोरियन थभिनले गोल गर्दै मार्सेलाई खेलमा अगाडि बढाएका थिए ।

खेलको ८७ औँ मिनेटमा भने नेयमारले रातो कार्ड पाएका थिए । आफुलाई फल गरेको भन्दै नेयमारले बिपक्षी खेलाडी लुकास ओकाम्पोसलाई आवेशमा आई धकेल्दा ओकाम्पोस रेफ्रीकै अगाडि लडेका थिए । उक्त खेलको संलग्नताका लागि दुवै खेलाडिले पहेंलो कार्ड पाए तर केहि मिनेट अघि पहिलो कार्ड पाइसकेको हुनाले नेयमारले भने दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छोड्नु परेको थियो ।

तर खेलको अन्तिममा पिएसजीका यस सिजनका सर्वाधिक गोलकर्ता एडिन्सन काभानीले फ्री किक मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल बनाए ।

यस नतिजा पश्चात पिएसजी तालिकाको अग्रस्थानमा यथावत् नै रहेको छ तर दोस्रोमा रहेको मोनाको माथिको उसको अग्रता ४ अंकमा झरेको छ । त्यस्तै मार्से भने पाँचौं स्थानमा पुगेको छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्