कोहलीले पोन्टिङलाई पछि पारे



 

नयाँदिल्ली, (एजेन्सी)
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (वानडे) अन्तर्गत शतक बनाउने मामिलामा रिकी पोन्टिङलाई पछि पारेका छन्।

कोहलीले आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको न्युजिल्यान्डविरुद्धको पहिलो वानडेमा ३१औं शतक प्रहार गरेका हुन्। उनले अस्ट्रेलियन पूर्व कप्तान पोन्टिङलाई यो सतकसँगै तेस्रो स्थानमा धकेलेका हुन्। पोन्टिङले ३ सय ७५ खेलमा ३०औं शतक प्रहार गरेका थिए। जबकी कोहलीले आफनो २ सयौं वानडे खेलमै ३१ शतक प्रहार गरेका छन्।

वानडेमा सबैभन्दा बढी शतक भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरले बनाएका छन्। उनले ४९ शतक प्रहार गरेका छन्। त्यस्तै चौथो स्थानमा श्रीलंकाका भेटेरान सनथ जयसुर्या सूचित भएका छन्। उनले वानडेमा २८ सतक प्रहार गर्दा दक्षिण अफ्रिकाका हसिम अमला २६ शतकसँगैं पाँचौं स्थानमा रहेका छन्।

कोहलीले १ सय ११ बलको सामना गरेर शतक पूरा गरेका थिए। उनी १ सय २५ बल खेल्दै व्यक्तिगत १ सय २१ रनमा पवेलियन फर्केका थिए। उनले ९ चौका र २ छक्कासमेत प्रहार गरेका थिए। उनकै शतकको सहयोगमा भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रनको योगफल तयार गरेको थियो।

कोहलीको उपलब्धि छायाँमा
न्युजिल्यान्डले भारतलाई उनकै भूमिमा पहिलो वानडे खेलमा ७ विकेटले हराएपछि कोहलीको उपलब्धि छायाँमा परेको छ। भारतले दिएको २ सय ८१ रनको लक्ष्य पाहुना टोली न्युजिल्यान्डले ४ विकेटको क्षतिमा प्राप्त गरेको हो। योसँगै न्युजिल्यान्डले ३ खेलको वानडे सिरिजमा १–० को अग्रता लिएको छ।

टोलीको जितमा टम लाथम र रोस टेलरले सानदार ब्याटिङ गरेका थिए। लाथमले १ सय ३ रन बनाएर एसियामा पहिलो शतकसमेत प्रहार गरेका थिए। टेलर ९८ रनमा आउट भएका थिए। यी दुवैले तेस्रो विकेटको लागि २ सय रनको साझेदारी गरे।

प्रतिक्रिया दिनुहोस्