अझै सकिएन तिहार



 

अस्ति शनिबारबाट तिहार सकिए पनि धरहराले विश्वासै गर्न सकेन। यसो आफ्नो दूरविन लगाएर हेरेको त सबैका गलामा माला पो देख्यो। हैन किन अझै तिहार सकिएको छैन कि के हो ? भन्ने भान यसलाई परेको छ। अहिले नै मन्त्री भइहालें भन्ने जस्तो गरी मनोनयन दर्ता गराउन गएका नेतागण त तिहारै बिर्साउलाझैं गलाभरि माला लगाएर नाम दर्ता गर्न पो गएका रहेछन्।

यति मात्रै कहाँ हो र मंसिर लागेझैं सिंगारिएर बाजागाजासहित पुगेको दृश्य कम्ती रोचक थिएन। यसो यसलाई लाग्यो कात्तिकमा र चैतमा त बिहे हुँदैन, फेरि पञ्चेबाजा त बजेकै छन्। मानिसहरू ठाँटिएर नाचेका छन्। रङ्गीचङ्गी पोसाकमा सजिएर हुलका हुल जन्तीझैं लावालस्कर हिँडेको देख्दा आजै मंसिर लागेको भान भयो यो बबुरो धरहरालाई।

धरहराको विचारमा मगनी भएको छ। बिहेचाहिँ पक्कै मंसिरमा हुने नै हो। बरू कति जोडीको बिहे हुन्छ, क–कसको लगन जुरेको छ त्यो हेर्नचाहिँ बाँकी नै छ। ल है पाठकवृन्द आ–आफ्नो विचार सल्लाह तथा सुझाव पाऊँ, आगे यहाँकै मर्जी।

प्रतिक्रिया दिनुहोस्