सामाजिक सुरक्षा कोषमा थन्कियो १६ अर्ब ७९ करोड



 

हेटौंडा,(नेस)
सरकारी र निजी क्षेत्रका कर्मचारीले आफ्नो तलबको एक प्रतिशतले काटेको कर रकम सामाजिक सुरक्षा कोषमा १६ अर्ब ७९ करोड रुपियाँ संकलन भइसकेको छ। सामाजिक सुरक्षा कोष काठमाडौंको आयोजनामा मंगलबार हेटौंडामा भएको त्रिपक्षीय अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो।

आर्थिक वर्ष २०६६⁄६७ बाट शुरू कोषको रकम परिचालन गर्न बल्ल कानुन बनेकाले अब यसले सबै कर्मचारीको हकहितका निम्ति काम गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले बताउनुभयो। सबै तहका कर्मचारीसँगै निजी क्षेत्रका उद्योग र विद्यालयका शिक्षकसमेतबाट सामाजिक सुरक्षा कोषमा रकम संकलन हँुदै आएको छ। कोषको रकम कर्मचारीहरू दुर्घटनामा पर्दा, अन्य समस्या आए खर्च गर्ने गरी कानुन बन्न लागेको बताइएको छ।

कार्यक्रममा जानकारी गराइएअनुसार २०६७ चैत ७ गते सामाजिक सुरक्षा कोषको विधिवत् स्थापनापछि सरकारले सामाजिक सुरक्षा करवापत् लिएको १ प्रतिशत रकमको २०७३⁄७४ को असार मसान्तसम्म १६ अर्ब ७९ करोड जम्मा भइसकेको बताइएको छ। त्यसमध्ये अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०६९⁄७० मा स्किम कार्यान्वयनका लागि ४७ करोड कोषका नाममा निकासा भएको र हालसम्म बचत ६३ करोड ५० लाख पुगेको बताइएको छ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक श्रेष्ठले सामाजिक सुरक्षाकर वापत् रकमको विवरण प्राप्त भएसम्मको कम्प्युटर इन्ट्री गर्ने कार्य भइरहेको र हाल करिब ३ हजार प्रतिष्ठानको डाटा इन्ट्री गरिएको बताउँदै मकवानपुरबाट सरकारी, अर्धसरकारी र निजी गरी ११ वटा प्रतिष्ठानको मात्र सुरक्षाकरको पूर्ण विवरण प्राप्तभएको बताउनुभयो। उनले हेटौंडा औद्योगिक क्षेत्रका ८० भन्दा बढी उद्योगमध्ये २ वटाले मात्र सुरक्षा करको पूर्ण विवरण पठाएकाले सम्पूर्ण प्रतिष्ठानलाई सुरक्षाकरको पूर्ण विवरण पठाउन अनुरोध गनुभयो।

कोषले लक्षित वर्गका लागि परिचयपत्र निर्माण, योगदानको दर निर्धारणलगायत तथ्यांकीय आधार निर्माणको प्रगति हात पार्न सकेको छैन। हालसम्म कोषमा १० लाख श्रमिक तथा कर्मचारी आबद्ध भइसकेका छन्। कोषमा ८३ प्रतिशत सरकारी कर्मचारीको योगदान छ भने १६ प्रतिशत निजी क्षेत्रबाट संकलन हुने गरेको छ। कोषले हाल सामाजिक सुरक्षाका स्किम तयार गरिसकेको छ। ४ वटा समाजिक सुरक्षाका स्किमको कार्यविधि तयार भइसकेको छ। अर्थ मन्त्रालयले काम थाल्न पैसा दिएको पनि छ। तर, ऐन अभावमा काम शुरू हुन नसक्दा त्यो त्यत्तिकै थन्किएको छ। कार्यस्थलमा हुने दुर्घटना, सुत्केरी, औषधोपचार र बेरोजगारी क्षेत्रका लागि समाजिक सुरक्षासम्बन्धी स्किमहरू तयार भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्