पेट्रोलियम पाइपलाइन निर्माण कार्यले गति लिँदै



दीपेन्द्र थापा, काठमाडौं

नेपाल आयल निगमले वीरगन्जमा रहेको चिनी कारखानाको २ बिगाहा जग्गा भाडामा लिएको छ।

निगमले मासिक २ लाख ३० हजारमा भाडा तिर्ने गरीे सो जग्गा भाडामा लिएको हो। भारतीय आयल कर्पोरेसन (आईओसी) ले रक्सौलदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन बनाउन लागेको छ। त्यसका लागि निर्माण सामग्री राख्न सो जग्गा भाडामा लिइएको हो।
पाइलाइन निर्माणका लागि बोर्डदेखि अमलेखगन्जसम्म पिलर गाड्ने काम पूरा भएको छ। योसँगै आयोजनाको कार्य तीब्र गतिमा अघि बढ्ने विश्वास लिइएको छ।

हाल रेखाङ्कन गर्नका लागि फिल्डमा काम भइरहेको निगमले जनाएको छ। साथै परियोजनाले बोर्डबाट वीरगन्ज रजन्ती चोकसम्म केही घर र टहरा पर्ने भएकाले त्यसलाई हटाउन गृहमन्त्रालयलाई पत्रचार गरिएको निगमले जनाएको छ। वीरगन्ज वाइपासबाट अम्लेखगन्जसम्म केही पोल पनि हटाउनका लागि तयारी गरिएको छ। पूर्वआपूर्ति मन्त्री शिवकुमार मण्डलले सरोकारवाला निकायका प्रतिनिधिमण्डलसहितको टोलीले स्थलगत भ्रमण गर्दै पाइपलाइन विस्तारको सहजीकरणका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो।

अवरोध रहेको ठाउँमा सहजीकरणका लागि पहल गर्नका लागि भ्रमण गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोहितले बताउनुभयो। असोजभित्र काम शुरू गर्नुपर्ने सम्झौता रहेको छ। घर टहरा हटाएर पाइपलाई विछ्याउनुपर्ने बाध्यकारी प्रावधान रहेको निगमका रक्सौल अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना संयोजक इञ्जिनियर प्रदिप यादवले जानकारी दिनुभयो।

कागजी प्रक्रियाले गर्दा दुई महिना ढिला भएको भन्दै भारतीय आयल निगमलाई आग्रह गरेको थियो। अब नोभेम्बरभित्र काम अगाडि बढ्न नसके निर्माण कम्पनीले भारतीय आयल निगमसँग प्रतिदिन १ करोड रुपियाँ जरिवाना तिर्नुपर्ने हुन्छ। भारतीय आयल निगमले नेपाल आयल निगमसँग सो जरिवाना तिराउने सम्झौता रहेको यादवले बताउनुभयो। सडकको किनारै किनार पाइलाइन विस्तार गर्नुपर्ने भएकाले सडक विभागलाई ८ करोड रुपियाँ धरौटी बुझाएको छ।

भारतबाट पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्नका लागि रक्सौलदेखि अम्लेखगन्जसम्म ३६ दशमलव २ किलोमिटर लामो रहने सो पाइपलाइन भारतीय आयल कर्पाेरेसनले निर्माण गर्न लागेको हो। भारतबाट सामान ल्याउनका लागि अर्थ र आपूर्ति मन्त्रालयले भन्सार छुटको सहमति दिइसकेको छ।

निगमका रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना संयोजक प्रदिप यादवले भन्नुभयो– ‘निर्माण सामग्री भारतबाट ल्याउनका लागि भन्सार विभागमा समेत सामान ल्याउनका लागि पत्र पठाइसकेको छ।’ सडकमा रेखाङकन गर्नका लागि टर्निङ प्वाइटमा ८१ वटा र इन्टरमिडिएट रूपमा ६५ वटा मध्ये भागमा पिलर खडा गर्ने काम सकिएको रक्सौल–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजनाका मेकानिक इन्जिनियर सरोजप्रसाद पौडेलले जानकारी दिनुभयो।

भारतले समेत निर्माणका लागि टेन्डर आह्वान गरिसकेको जानकारीमा आएको पौडेलले बताउनुभयो। कूल २ अर्ब ७५ करोड भारतीय रुपियाँको परियोजनाअन्तर्गत निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। पौडेलका अनुसार उक्त रुटमा पर्ने बिजुलीका पोलहरू स्थानान्तरण गर्न विद्युत प्राधिकरणसँग आग्रह गरिएको छ।

२५ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने भएपछि वातावरण मन्त्रालयले समेत वातावरण प्रभाव मूल्यांकन (ईआईए) अध्ययन गर्न भनेको आपूर्ति मन्त्रालयका सह–सचिव मुकुन्दप्रसाद पौडेलले बताउनुभयो। निगमले वातावरण प्रभाव मूल्यांकन (ईआईए) का लागि विज्ञ नियुक्त गरेर काम थालिसकेको निगमले ईआईएका लागि प्लान एट प्रालिलाई परामर्शदातामा नियुक्त गरेर वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार गरिरहेको छ।

आयोजना नेपालमा ३६ किलोमिटर र भारतको करिब १ किमी भूभागमा पर्नेछ। निर्माण सामग्री, कामदारको सुरक्षाको प्रबन्ध निगमले नै मिलाउनुपर्नेछ। नेपाल आयल निगमका उपकार्यकारी र्निदेशक तथा रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख सुशील भट्टराईले भन्नुभयो– ‘हामीले पाइपलाइन निर्माणका लागि वातावरण तयार गर्नेछौं। त्यसपछि आइओसीले निर्माण कार्य थाल्ने छ।’ सो विज्ञको समितिले दिएको प्रतिवेदनको आधारमा रुख कटान गर्न मिल्ने नमिल्ने सिफारिस दिने बताइएको छ ।

पाइपलाइनबाट प्रतिघण्टा १ सय ९१ किलोलिटर पेट्रोलियम रक्सौलबाट अमलेखगन्जसम्म आउने छ। पाइपलाइन दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिइएको छ। त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिछ्याइने १० दशमलव ५ इन्च मोटाइको पाइप लाइन भारतको मोतिहारीबाट निगमको अमलेखगन्ज डिपोमा पुर्याएपछि जोडिनेछ। आयल निगमले त्रिभुवन राजपथस्थित पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा निर्माणाधीन ६ लेन सडकसँगै पाइपलाइन बिस्तारको काम पनि अघि बढाएको हो। सरकारले करिडोर क्षेत्रमा ६ लेन सडक निर्माण गर्दै आएको छ।

पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक ३६ करोड रुपियाँ बचत हुने बताइएको छ। अहिले रक्सौल–अमलेखगन्ज रुटमा सञ्चालित २ सय ट्यांकरको वार्षिक ढुवानी खर्च करिब ६० करोड रुपियाँभन्दा बढी छ।

पाइपलाइन वीरगन्ज वाइपास रोड हुँदै अम्लेखगन्जसम्म जमिनमुनि पाइपलाइन बिच्छ्याइने छ। यस क्षेत्रभित्र पर्सा राष्ट्रिय निकुन्जको समेत केही भाग पर्नेछ। आयोजना सिर्सिया नजिकै पूर्व रजतजयन्ती चोकसम्म र पूर्व बाइपास रोड, पश्चिम पूर्व गण्डक रोड हुँदै त्रिभुवनराज पथ हुँदै अम्लेखगन्जसम्म आइपुग्नेछ। पहिलेको रुटलाई परिर्माजन गरी यो रुटबाट ल्याउन लागिएको हो। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। अम्लेखगन्जमा भण्डारण क्षमता बढाउने, अग्नी नियन्त्रक, टं्याकर लोड अनलोड गृह, रिसाइल्किङ प्रयोगशाला, सुविधा सम्पन्न कार्यालय निर्माण हुने निगमले जनाएको छ। यसका लागि निगमले सरकारसँग थप ३३ दशमलब ६ हेक्टर जग्गा माग गरिरहेको निगमले जनाएको छ।

भारत भ्रमणमा समेत आपूर्ति मन्त्रालयले रक्सौलदेखि अम्लेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन पूर्वाधार निर्माणले रक्सोलदेखि चित्तवनको भण्डारा (जहाँ निगमले भर्खरै जग्गा किनेको छ त्यहाँ निर्माण गर्न) सम्मको ६१ किलोमिटर पाइपलाइन निर्माणका लागि थप प्रस्ताव गर्ने प्रधानमन्त्रीको भारत भ्रमणमा प्रमुख एजेन्डा राखेको थियो र भारत उक्त प्रस्तावमा सकारात्मक रहेको थियो।

प्रतिक्रिया दिनुहोस्