केनेडी हत्या सम्बन्धी फाइल सार्वजनिक गर्ने ट्रम्पको घोषणा



 

वासिंटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित गोप्य फाइल सार्वजनिक गर्न अनुमति दिने घोषणा गरेको छ। सन् १९६३ मा केनेडीको हत्या भएको थियो। अमेरिकी इतिहासमा उक्त हत्या सबैभन्दा रहस्यमय घटनामध्येको एक हो।

केनेडीको हत्यालाई लिएर भएका अनुसन्धान तथा छानबिनका प्रतिवेदनहरू फाइलमा बन्द छन्। हालैका दिनहरूमा राष्ट्रपति ट्रम्प विरुद्ध नकारात्मक समाचारले व्यापकता लिइरहेको छ। राष्ट्रपतिले ती समाचारहरूबाट जनताको ध्यान मोड्न उक्त कुरा उठाएको दावी गरिएको छ। देशको गुप्तचर निकाय राष्टिय सुरक्षा परिषदले पनि उनको योजनाको विरोध गर्दै त्यस्तो नगर्न सल्लाह दिएको छ।

ट्रम्पले ट्विटरमा घोषणा गर्दै लेखेका छन्– ‘राष्ट्रपतिका रूपमा म लामो समयदेखि बन्द तथा गोपनीय रहेको जेएफके फाइलहरू सार्वजनिक गर्न अनुमति दिनेछु।’

केनेडीको हत्यालाई लिएर कयौं अवधारणा बनेका छन्। केहीले घटनास्थलमा अर्को आक्रमणकारी पनि रहेको मान्यता राख्दै आइरहेका छन्। यद्यपि आधिकारिक रूपमा बन्दुकधारी ली हर्बी ओस्वाल्डले उनको हत्या गरेको भनिएको छ। तर उक्त हत्याको उद्देश्य र उनको पछाडि क–कसको संलग्नता रहेको छ भन्ने कुरा गर्भमै रहेको छ। यसबीच ट्रम्प आफ्ना विवादित ट्विट र रुससँगको सम्बन्धलाई लिएर जाँचको घेरामा फस्दै गइरहेका छन्। अमेरिकामा उनको यो ब्यवहारलाई लिएर सकारात्मकभन्दा नकारात्मकताले व्यापकता पाइरहेको छ। अमेरिकी जनतामाझ उनको लोकप्रियता लगातार गिर्दो अवस्थामा रहेको छ।

समाजशास्त्री डा. डेसन स्टोक्सले ट्रम्पको उक्त घोषणालाई लिएर भने– ‘ट्रम्पको झुठ हाल भइरहेको जाँच र अक्षमताबाट ध्यान हटाउनका लागि यो फैसला पर्याप्त छ। साँच्चिकै ट्रम्पले यसको अनुमति दिनेछन्। त्यसै गरी आरकान्ससका पूर्वगभर्नर माइक हकबीले भन–े ‘यसले सबै हल्लाहरूमाथि अंकुश लाग्नेछ।’

राजनीतिकशास्त्री ल्यारी सबाटोले ट्रम्पको फैसला सही भएको बताउँदै धन्यवाद दिएका छन्। उनले जेएफके फाइलहरू लामो समयदेखि लुकाइएको बताएका छन्। कनेडी हत्यालाई लिएर किताब लेखेका प्रोफेसर सबाटो ती फाइलहरू सार्वजनिक हुनुपर्छ भन्ने अभियानमा लागिरहेका हुन्।

केनेडी हत्यासँग सम्बन्धित ३ हजार फाइल सार्वजनिक भएरमा गोली प्रहारअगाडि कथित हत्यारा हर्बी ओस्वाल्डले गरेको मेक्सिको भ्रमणसँग जोडिएका रहस्यहरू खुल्नसक्ने आशा गरिएको छ। यसबीच अधिकारीहरूले ती फाइलहरूमार्पmत् ९० को दशकमा समावेश गरिएका गोप्य कारवाहीका सुचनाहरू पनि बाहिर आउने डर रहेको बताएका छन्। ती फाइलहरू अक्टोबर २६ मा सार्वजनिक गर्नुपर्ने हो तर ट्रम्पले यसलाई जनतासमक्ष सार्वजनिक नगर्ने अनुमानहरू पनि आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्