न्युयोर्क सिटी बमकाण्डमा अफगान मूलका अमेरिकी दोषी



 

अमेरिका न्युयोर्क सिटी , ( एजेन्सी)
अमेरिकाको न्युजर्सी निवासी एक जना २९ वर्षीय पुरुषलाई गत वर्ष न्युयोर्क सिटीमा दुईवटा बम विस्फोट गराएको सम्पूर्ण अभियोग लगाइएको छ। गत वर्ष उक्त शहरको सडकमा विस्फोट हुँदा दर्जनौं व्यक्ति घाइते भएका थिए।

सन् २०१६ को १७ सेप्टेम्बरमा अफगानिस्तानमा जन्मेर अमेरिकी नागरिकता लिएका अहमद खान राहिमीले म्यानह्याटनमा दुईवटा बम राखेका थिए। चेलिसको वेस्ट २३ स्ट्रिटमा राखिएको पहिलो बम विस्फोट हुँदा ३० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए भने त्यसको चार ब्लक टाढा राखिएको अर्को बम सुरक्षाकर्मीले निष्क्रिय पारेको थियो।

राहिमी अमेरिकीहरू विरुद्धको जिहादका योद्धा भएको सरकारी वकिलहरूले भनेका छन्। न्युजर्सीको एलिजावेथ निवासी उनलाई आजीवन कारावास सँजाय हुने अनुमान गरिएको छ। म्यानह्याटनको एउटा संघीय अदालतमा दुई सातादेखि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढिरहेकोमा सोमबार उनलाई उक्त बमकाण्डमा दोषी ठहर गरिएको थियो।

निमित्त अमेरिकी महान्याधिवक्ता जुन किमले मानव समुदायप्रतिको घृणा प्रकट गर्ने क्रममा उनले थुपै्र निर्दोष व्यक्ति मार्न खोजेको बताएका छन्। राहामी विरुद्ध सार्वजनिक स्थानमा बम राखेको र आम विनाशकारी हतियार प्रयोग गरेकोलगायतका ८ वटा अभियोग लगाइएको छ।
सुनुवाइको क्रममा अदालतले घटानाको बिहान उनी नौवटा बम लिएर घरबाट निसकेको बताइएको थियो। उनले न्युजर्सीको सिसाइड हाइटस्थित मरिन कोप्र्स च्यारीटी रेसको मार्गमा पहिलो बम राखेको थिए।

तर अन्तिम समयमा दौडको रुट परिवर्तन गरिएको कारण उनले राखेको उक्त पाइप बम विस्फोट हुँदा कोही पनि घाइते हुन पाएको थिएन। सप्ताहान्तमा भएको उक्त आक्रमणको भोलिपल्ट उनले न्युजर्सीको एउटा ट्रेन स्टेसनमा अन्य बमसहितको एउटा ब्याकप्याक छोडेका थिए।

ती दुवै स्थानमा राखिएका बममा भेटिएको फिंगर प्रिन्ट र डीएनए परीक्षण परिणामको आधारमा उनलाई दोषी सावित गरिएको हो। अदालतमा न्यायाधीशहरूको इजलासले बम राखिएका म्यानह्यटनका सडकहरूमा उनी हिँडिरहेको सीसीटिभी फुटेजको पनि निरीक्षण गरेका थिए। सो बमकाण्डको दुई दिनपछि न्युर्जीमा प्रहरीसँग भएको गोली हानाहानमा उनलाई नियन्त्रणमा लिइएको थियो। उनी विरुद्ध अझै हत्या प्रयासको मुद्दा पनि चलाइने भएको छ। आगामी १८ जनवरीमा उनलाई सँजाय तोकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्