कपिल काफ्ले

शीर्षकमा लेखिएको ‘बाबुराम’ शब्द डा. बाबुराम भट्टराईकै लागि हो। उनी नयाँ शक्ति पार्टीका आजका संयोजक र नेकपा माओवादी पार्टीका हिजोका नेता मात्र होइनन्, उनी एक प्रवृत्ति पनि हुन्। उनको बानी–व्यहोरा र शैली मनपराउने ठूलो नेपाली समुदाय छ। खासगरी नयाँ पुस्तालाई उनी बढी मन पर्छन्। वाममोर्चाको पहिलो ढोकाबाट भित्र प्रवेश गरिसकेका र सूर्य चिन्ह लिएर निर्वाचन लड्ने स्वीकृति जनाइसकेका बाबुरामलाई किनारमा राखेर अघि बढ्ने जुन प्रयास भयो, यो वाम एकताको अभियानमा पहिलो त्रुटि हुनपुग्यो।

पछिल्लो जानकारीअनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि बाबुराम गोरखा जिल्लामा नेपाली कांग्रेससँग तालमेल गर्दै साझा उम्मेदवारका रूपमा खडा भएका छन्। उनको प्रतिस्पर्धा माओवादी केन्द्रका प्रभावशाली नेता र वाममोर्चा निर्माणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति नारायणकाजी श्रेष्ठसँग हुने भएको छ। सिट बाँडफाँडमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएपश्चात् भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने निष्कर्षमा पुगे। पूर्व प्रधानमन्त्रीसमेत रहेका उनी कांग्रेससँगको गठबन्धनमा जानु वाम एकताका लागि ठूलो नोक्सानीको विषय बन्यो।

माओवादी विद्रोहले राजतन्त्र ढालेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सघाएपछि नेपालमा ‘कम्युनिस्ट पार्टी आवश्यक रहेन’ भन्दै माओवादी दल छोडेर लोकतान्त्रिक समाजवादतर्फ उन्मुख नयाँ शक्ति पार्टी खोल्न पुगेका बाबुरामलाई हिजोका कांग्रेस र कम्युनिस्ट दुवैले आफ्नो खेमामा ल्याउन खोज्नु स्वाभाविकै हो। वस्तुतः बाबुरामले भनेजस्तै कम्युनिजम नेपालमा मात्र होइन विश्वमा कतै पनि सम्भावनाको विषय रहेन। माओत्सेतुङको देश चीनमै कम्युनिजमको पूर्ण स्वरूप हराइसकेको र पुँजीवाद प्रस्ट देखिने गरी मौलाएको पश्चिमीहरू नै टिप्पणी गरिरहेका छन्। नेपालको संविधान, २०७२ को कार्यान्वयन गर्दा मुलुकमा एक प्रगतिशील र लोकतान्त्रिक व्यवस्था त स्थापित हुन्छ तर कम्युनिजम स्थापित हुन्न। एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाली कांग्रेस सबै यसैको कार्यान्वयनमा केन्द्रित छन् भने कसले कम्युनिजमका लागि काम गरेको मान्ने ? प्रस्ट छ, नेपालमा कम्युनिस्ट नामका केही दलहरू त छन्, तर कोही पनि कम्युनिस्ट छैनन्, र हुनु पनि आवश्यक छैन। माओको पालासम्म व्यक्तिलाई भौतिक समृद्धि ठूलो थियो होला आज लोकतान्त्रिक स्वतन्त्रता ठूलो छ। चीनको भौतिक समृद्धि जति बेजोडको मानिए पनि मानवअधिकार, स्वतन्त्र न्यायप्रणाली र लोकतन्त्रको अभ्यास नभएका कारण ऊ पछाडि परेको छ।

वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, संगठित हुन पाउने र संस्था खोल्ने अधिकार आदिलाई छोडेर केवल भौतिक समृद्धिको विकल्पमा नेपालीहरू जान सक्तैनन्। यसरी हेर्दा बाबुरामले ठीक समयमा कम्युनिजमको बिल्ला त्यागेर लोकतान्त्रिक समाजवादको मार्गमा पाइला राखेको देखिन्छ।
वास्तवमा लोकतान्त्रिक समाजवाद नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आदर्श थियो। यस अर्थमा नयाँ शक्ति पार्टीका संयोजक बाबुरामको पछिल्लो चुनावी तालमेल अस्वाभाविक पनि होइन। गोरखा २ मा कांग्रेसले नयाँ शक्तिलाई र क्षेत्र नं. १ मा नेकाका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई नयाँ शक्तिले सघाउनेछ। वाम गठवन्धनका माओवादी र एमालेले गोरखामा उम्मेदवारको टुंगो लगाएअनुसार क्षेत्र नं. २ मा नारायणकाजी श्रेष्ठ उठ्नेछन्। त्यस क्षेत्रको चुनावी भिडन्त निकै रोचक हुने भएको छ। दुई प्रभावशाली नेताहरू भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा हुनु कतिका लागि रोचक भए पनि धेरैका लागि भने चिन्ताको विषय पनि बनेको छ। किनभने दुवै नेता नेपालका भविष्य हुन्, आजसम्म उनीहरूले नेपाललाई दिएको योगदानको सराहना भएको छ। यदि मुलुकको आवश्यकता र जनताको चाहनालाई ख्याल गर्ने हो भने लोकप्रिय पात्रहरूलाई एक–आपसमा भिडाउनुहुन्न। तर, ठूला दलका शीर्ष नेतामा कायम रहेको दम्भका कारण मुलुकको आवश्यकता र जनचाहना बारम्बार धूमिल हुने गरेको छ।

एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचन क्षेत्र निर्धारणका विषयमा कुरा नमिलेकै कारण बाबुराम उछिट्टिएर अर्को धु्रुवमा उभिन पुगेकोमा कसैलाई आशंका छैन। तीन दिनभित्र सिट बाँडफाँड टुंग्याउने म्यान्डेटसहित तीन दलले कार्यदल बनाएका थिए। कार्यदलको पहिलो बैठकले २०७० सालको संविधानसभा चुनाव, हालै सम्पन्न स्थानीय चुनाव, ६० र ४० को भागवण्डा र जित्ने आधारमा सिट बाँडफाँड गर्ने तय गरेको थियो। तर, १५ प्रतिशत सिट माग्ने नयाँ शक्तिलाई ठूला दुई दलले
ध्यान दिएनन्।
बाबुराम एक नेता मात्र नभएर प्रवृत्ति हुन् भन्ने थप आधार छन्। उनी मुलुकको आवश्यकतालाई पार्टीभन्दा माथि राख्छन्। माओवादी पार्टीमा बसेर उनी केही पाउँदैनथे, त्यसैले बाहिर निस्के भन्नु ठीक टिप्पणी होइन। उनले त्यही पार्टीमा बसेर प्रधानमन्त्रीको कुर्सी पाइसकेका थिए। कार्यकारी पदका हिसाबले नेपालमा त्योभन्दा माथि कहाँ ठाउँ छ र ? फेरि अर्को पटक त्यो पद पाउन सक्थे। तर उनलाई लाग्यो, नेपालमा अब कम्युनिस्ट पार्टीको ट्याग झुन्ड्याएर बस्नु जनता ढाँट्नु मात्र हो। अर्को सत्य के भने, सिद्धान्तका हिसाबले कुनै राजनीतिक दल अब एक–आपसमा फरक छैन। सबैको गीता, कुरान वा बाइबल नेपालको संविधान, २०७२ नै हो भने सैद्धान्तिक फरक कहाँ छ ? फरक छ त केवल पार्टीका नाम र नेता तथा कार्यकर्तामा रहेको इमानदारी। उनले सबै पार्टीका इमानदार नेता–कार्यकर्ता भेला पारेर नयाँ शक्तिको जन्म दिने परिकल्पना गरे, त्यो निकै सुन्दर विचार हो। तर, यस्ता नेता र कार्यकर्ताको अभाव भएका कारण उनको पछि लाग्ने पात्र खोज्दै जाँदा उनी घाँसपातसमेत सोहोर्न थाले। अर्कातिर, इमानदार नेता–कार्यकर्तालाई आफ्नै दललाई सुधार गर्न सकिन्छ भन्ने विश्वासले पनि खाइपाइ आएको ठाउँ छोड्न मन लागेन, अर्कातिर बाबुरामको पार्टीप्रति पूर्ण विश्वास पनि जागृत हुन पाएन। किनभने, नयाँ खुलेको दललाई एकैपटक केवल बाबुरामको अनुहार हेरेर अंकमाल गरिहाल्न थोरै विश्वासले पुग्ने कुरो भएन।

नयाँ पुस्ताले बाबुरामलाई चाहनुको अर्को कारण हो उनको शैक्षिक मेधावीपन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पनि फेसबुकमा उनी परिचित छन्, आधुनिक परिवर्तनलाई स्वीकार गर्छन् भनेर मात्र पनि नयाँ पुस्ताले उनको अनुहार हेरेको होइन, राजधानीको सडक विस्तार होस् वा रक्सीका पसल व्यवस्थित गर्नेजस्ता कार्यमा किन नहोस्, बाबुरामले क्षमता र इच्छाशक्ति देखाएकै हुन्। नयाँ शक्तिका बाबुराम, एमालेका गोकर्ण विष्ट, नेकाका गगन थापा, प्रशासनिक क्षेत्रका कुलमान घिसिङजस्ता व्यक्तिको सानो मन्त्रिमण्डल बनेको हेर्ने चाहना नेपाली जनतामा छ। पार्टीभन्दा व्यक्ति हेर्नु लोकतन्त्रको हितमा नहुन सक्छ, तर के गर्ने, शेरबहादुर देउवाहरूले भ्रष्टाचारको सगरमाथा खडा गरे, राजनीतिक अपराधमा रेकर्ड बनाए ⁄ अनि जनताले गरुन् के ?

LEAVE A REPLY