नगरपालिकाको कर वृद्धिविरुद्ध सांकेतिक विरोध, जनप्रतिनिधिलाई भत्ता दिन ५ रुपियाँ मुठीदान माग्दै स्थानीयले खेले देउसीभैलो



 

नेपाल समाचारपत्र
जाजरकोट
जाजरकोटमा एक नगरपालिकाले कर बढाएको विरोधमा स्थानीयद्वारा देउसीभैलो निकालिएको छ। जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिकाले अस्वभाविक रूपमा कर बढाएको भन्दै रुष्ट स्थानीयवासीले नगरपालिकाका जनप्रतिनिधिलाई भत्ता दिन ५ रुपियाँ मुठीदान माग्दै देउसीभैलो निकालेका छन्।

नगरप्रमुख चन्द्रप्रकाश घर्ती, उपप्रमुख भावना भण्डारी , नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्मा, १३ वटा वडाका वडा अध्यक्ष र सदस्यहरू तथा नगरकार्यपालिकाका सदस्यहरू गरी ७१ जनालाई ५ रुपियाँका दरले एकमुष्ट ३ सय ५५ रुपियाँ र १ मुठी चामल भत्तास्वरूप तिहार खर्च दिनका लागि सांकेतिक विरोधस्वरूप देउसीभैली निकालिएको नागरिक जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। देउसी भैलीबाट संकलन भएको रकम तिहारलगत्तै हस्तान्तरण गरिने अध्यक्ष खत्रीले बताए। नगरसभाले आफ्नो भत्ता कायम गर्न भन्दै चर्को कर निर्धारण गरेपछि विरोध गर्नुपरेको खत्रीको भनाइ छ।

जिल्ला सदरमुकाम खलंगामा बुधबार निकालिएको भैली कार्यक्रममा स्थानीय बासिन्दा स्वःस्फूर्त रूपमा सहभागी भएका थिए। नगरपालिकाले राजश्वका दरहरू अस्वभाविक रूपमा बढाएकोमा स्थानीय बासिन्दाले चर्को असन्तुष्टि व्यक्त गर्दै आएका छन्। विभिन्न सिफारिस गर्दा लाग्ने दस्तुर र सम्पति कर अस्वभाविक रूपमा वृद्धि भएको हो।

केही समयअघि सम्पन्न नगर परिषद्को बैठकले कार्यपालिका सदस्य गोपाल बटालाको अध्यक्षतामा एकीकृत कर निर्धारण समिति गठन गरेको थियो। सोही समितिले पेश गरेको एकीकृत कर नगर कार्यपालिकाले पारित गरेपछि नगरबासी चर्को मूल्यको कर तिर्न बाध्य भएका हुन्।

यसअघि ५० रुपियाँ लाग्ने विभिन्न सिफारिस दस्तुर वृद्धि गरेर एक हजार रुपियाँसम्म बनाइएको छ। भेरी नगरपालिका ४ का शुनील शाहीले नगरपालिकाको करले आफूहरू मर्कामा परेको बताए। अचल सम्पतिका आधारमा आयस्रोत नभएका नागरिकलाई कर लगाएर जनप्रतिनिधीले राम्रो काम नगरेको उनको गुनासो छ। जनताको ढाड सेक्ने गरी लगाइएको एकीकृत सम्पति कर तत्काल खारेज हुनुपर्ने शाहीले बताए। निर्वाचित जनप्रतिनिधिले नगरबासीको अवस्था नहेरेर कर्मचारीको सल्लाहमा हचुवाको भरमा कर लगाएको गुनासो गरे। कर एकदमै अवैज्ञानिक र अव्यवहारिक रहेकाले तसर्थ निर्णय तत्काल सच्याउनुपर्ने स्थानीयहरूको माग छ।

वडा नं ४ का वडा सदस्य विष्णु भडेलले पनि नगरपालिकाले निर्धारण गरेको भनिएको करप्रति आफूहरूको असन्तुष्टि रहेको बताए। उनले भने ‘करजस्तो महत्त्वपूर्ण विषयमा नगर परिषद्बाट पारित नगरेर नगर कार्य समिति पारित गर्नु सरासर गलत हो।’ गलत निर्णय तत्काल सच्याउनुपर्ने उनको माग छ।

चर्को कर वृद्धि गरेकोमा विरोध गदै स्थानीय सरोकारवालाले सघर्ष समिति नै गठन गरेर आन्दोलनको तयारी गरिरहेका छन्। अवैज्ञानिक र अव्यवहारिक रूपमा जनताको ढाड सेक्ने गरी निर्धारण गरिएको करको पुनःविचार गर्न ज्ञापनपत्र दिएको छ। अधिकांश नागरिक कर वृद्धिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सम्पतिका आधारमा कर निर्धारण गरिएको छ। प्रत्येक परिवारको सबै सम्पतिलाई एकीकृत गरी सोहीअनुसार कर निर्धारण गरिएको छ। समितिले नगरभित्रका विभिन्न स्थानको जग्गाको मूल्य निर्धारणसमेत गरेको एकीकृत सम्पति कर निर्धारण समितिका संयोजक बटालाले बताए। उनले नगरपालिको आयस्रोत बढाउने पहिलेको भन्दा केही राजश्व तथा करमा वृद्धि भएको बताए। नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले पहिलेको तुलनामा केही कर बढेकाले अस्वभाविक लागे पनि नगरकै विकास र आयस्रोतका लागि वृद्धि गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्