खानेपानी योजनाका लागि गएको रकम फिर्ता, विद्यार्थी कर्णालीको पानी खान बाध्य



 

हिक्मत नेपाली, दैलेख
दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीमा रहेका जनज्योति माध्यामिक विद्यालयका विद्यार्थी कर्णाली नदीको पानी खान बाध्य भएका छन्। कूल ८ सय ५३ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका बालकालिका कर्णाली नदीको पानी खाने गरेका छन्। विद्यालयमा अहिले १ देखि १२ कक्षासम्म पढाइ हुने गरेको छ।

विद्यालयमा विगतका आर्थिक वर्षहरूमा खानेपानी योजना सञ्चालन गरिए पनि दीर्घकालीन हुन नसक्दा विद्यार्थीहरू कर्णालीको पानी खान बाध्य भएका हुन्। गत आर्थिक वर्षमा साविकको राकमकर्णाली गाविसले विद्यालयमा खानेपानी आयोजनाको लागि रकम विनियोजित गरेको थियो।
खानेपानी योजनाका लागि विनियोजित १ लाख ५० हजारले नजिकै रहेको मुहानबाट खानेपानी ल्याइएको भए पनि १ महिनामै बन्द भएको थियो। विद्यालयको खानेपानी व्यवस्थापनका लागि गत वैशाखमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमार्फत् खानेपानी योजनाका लागि गएको रकम विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीका कारण फिर्ता भएको थियो।

विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीहरूले कर्णालीको खानेपानी पिउँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने सम्भावना रहेको स्रोतव्यक्ति विष्णु पाठकले बताए। अघिल्ला आर्थीक वर्षहरूमा खानेपानी योजना निर्माण भए पनि मुहानमा बाह्रै महिना पानी नहुने भएकोले योजना दीर्घकालीन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण माझीले बताए। वर्षामा पानीको मुहान बढ्ने भएकाले विद्यालयमा पर्याप्त हुन्छ। उनले भने ‘सुख्खा याममा पानीको श्रोत घट्ने समस्या भएकाले विद्यालयक लागि पानीको अभाव भएको हो।’

विद्यालयका अन्य सबै संरचनाहरू निर्माण भएका छन्। विद्यार्थी संख्याको आधारमा कक्षा कोठा पर्याप्त छन्। छात्रछात्राको अलग–अलग शौचालयको व्यवस्था गरिएको माझीले बताए। दीर्घकालीन खानेपानीको समस्याले मात्रै बालबालिकाले कर्णालीको पानी खानुपरेको हो। विद्यालय व्यवस्थापन समितिले खानेपानी समस्याको समाधानका लागि पहल गरिरहेको उनको भनाइ थियो।

आठविस नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रणबहादुर माझीले खानेपानीको मुहान टाढा भएका कारण विद्यालयलाई पानीको असुविधा भएको बताए। राकमलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता गरिएको छ। उनले भने ‘बालमैत्री स्थानीय तह घोषणा गर्नका लागि विद्यालयमा आवश्यक पर्ने पूर्वाधारको व्यवस्थापन गर्न लागिपरेका छौं।’

बालमैत्री स्थानीय तह घोषणका लागि अन्य सबै सूचक पूरा गरिसकेको र खानेपानीको अभाव भएको हुदाँ खानेपानी समस्या समाधानका लागि स्थानीय तहमा सञ्चालित सामाजिक संघसंस्थासँग आग्रह गरेको माझीले बताए। बालमैत्री स्थानीय तह घोषणा गर्नु अगावै विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने वडाअध्यक्ष माझीले बताए।

प्रतिक्रिया दिनुहोस्