प्रतिनिधि सभामा पाँच जनाको उम्मेदवारी



नेपाल समाचारपत्र
लमजुङ
आउँदो मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लमजुङमा क्रमशः छ जना र नौ जनाले मनोनयन दर्ता गराएका छन्।
प्रतिनिधि सभामा पाँच दल र एकजनाले स्वतन्त्रबाट उम्मदवारी दिएका छन्। त्यसैगरी, प्रदेशसभाको निर्वाचन क्षेत्र नं १ बाट चार दलले र प्रदेश सभाको निर्वाचन क्षेत्र नं २ का चार दलका प्रतिनिधि र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्ने राजनीतिक दलमा नेपाली कांग्रेस, बाम गठबन्धनका नेकपा एमाले र माओवादी, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी र विवेकशील पार्टी रहेका छन्।

प्रतिनिधि सभामा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, माओवादी केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य खेमजंग गुरुङ, नयाँ शक्तिका केन्द्रीय सदस्य देवेन्द्र पराजुली र विवेकशील पार्टीबाट निर्देश चिलुवाल हुनुहुन्छ। यसै गरी, प्रतिनिधिसभाका लागि स्वतन्त्रबाट उम्मेदवारी दिनेमा द्वारिका मिश्र हुनुहुन्छ। मिश्र यसअघि सुन्दरबजार नगरपालिकाका कांग्रेसका नगर सभापति रहेकै अवस्थामा सोही नगरपालिकाको प्रमुख पदमा पनि स्वतन्त्र उम्मेवार हुनुभएको थियो।

यसैगरी, प्रदेश सभाका लागि निर्वाचन क्षेत्रनं १ बाट नेपाली कांग्रेसका महासमिति सदस्य गर्जबहादुर गुरुङ, एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी, नयाँ शक्तिका जिल्ला संयोजक राजु थापा र संघीय समाजवादी फोरमका शेषबहादुर गुरूङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै, प्रदेश सभाको निर्वाचन क्षेत्रनं २ का लागि नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णप्रसाद कोइराला, एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ, संघीय समाजवादी फोरमका सुरेश गुरूङ, नयाँ शक्तिका जिल्ला सदस्य सरोज दनाई र स्वतन्त्रबाट उत्तम गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ।

प्रतिनिधिसभामा माओवादी केन्द्रलाई नेकपा एमालेले र प्रदेशसभामा नेकपा एमालेलाई माओवादी केन्द्रले समर्थन गर्ने भएको ती दलले जनाएका छन्। यसै गरी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा(प्रजातान्त्रिक)ले नेपाली कांग्रेसलाई समर्थन गरी उम्मेदवारी दर्ता गराएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेसको जुलुसमा सहभागी भएर उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्